काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौती भएसँगै भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । यसअघि यात्रु नपाउने लगायतका समस्या देखाएर भैरहवाबाट उडान नगरेका वायु सेवा कम्पनीहरूले नियमित तालिका बनाएर उडान गर्न थालेका छन् । थाई एअर एशिया, नेपाल वायु सेवा निगम, जजिरा एअरवेज र फ्लाई दुबईले नियमित उडान शुरू गरिसकेका छन् । मंगलबारबाट कतार एरवेजले पनि उडान शुरू गर्नेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रका लागि सुखद् भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेसँगै उद्योगी व्यवसायीहरु उत्साहित छन् ।
विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौैंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरुलाई थोरै भएपनि राहत हुने देखिएको छ । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले सुझाएको छ । भैरहवाबाट दीर्घकालिन अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् ।
भैरहवा अन्तर्राष्ट्रिय उडानले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुनेछ । बुटवल, पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा पनि गरिएको छ । कृषि उत्पादन विक्री लगायत धेरै क्षेत्रमा राम्रो हुने भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने निजी क्षेत्रको माग पूरा भएको ढकालले बताए । सरकारले सहुलियत, सुविधा र पूर्वाधारहरु तयार बनाउन सके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन प्रवद्र्धन ठूलो योगदान गर्ने उल्लेख गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्नेमा उनको जोड छ ।
थाई एयर एशियाले उडान शुरु गरेको भन्दै गौतमबुद्धको जन्म भूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा व्यवसायीहरूको छ । थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको उनीहरुले औल्याएका छन् । बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बीनी पर्यटकको हब बन्न सक्छ ।
अन्तर्राष्ट्रिय उडान नियमति हुँदा लुम्बिनीसँगै कर्णाली, सुदूरपश्च्मि र गण्डकी प्रदेशका नागरिकलाई पनि सहज हुनेछ । आन्तरिक तथा बाह्य पर्यटक बढ्ने मात्र नभई वैदेशिक रोजगारीका लागि काठमाडौं जानुपर्ने बाध्यता पनि केही हदसम्म कम हुनेछ । जसका लागि यो विमानस्थल प्रयोग गरेर विदेश जानेहरूका लागि आवश्यक श्रम स्वीकृति, स्वास्थ्य परीक्षण लगायतका काम पनि भैरहवाबाटै हुनु जरुरी छ ।