हामी नेपाली, हाम्रो देश नेपाल नाम मात्रैको । किनकि संसारको सबैभन्दा पुरानो देशमध्ये पनि पुरानो देश नेपाल । ईतिहासमा पराधिन नभएको । झट्ट सुन्दा नराम्रो लाग्ला तर अहिले स्वधिन नभएको । पिता-पुर्खाले दु:खले जोगाइदिएको । "म नेपाली हुँ" भन्न पाउँदा मात्रै पनि गर्वले छाती चौडा हुन्छ । सगरमाथा भएको देश, गौतम बुद्ध, पृथ्वीनारायण, भृकुटी, अरनिको, लक्ष्मी प्रसाद जन्मे हुर्केको देश । विभिन्न कला-संस्कृति र प्राकृतिक छटाले भरिपुर्ण देश छ । तर सवै खाली छ अनि शून्य पनि ।
नाक ठूलो बनाउछौँ- राणा शासन फ्याँक्यौँ, राजाको जरा उखेल्यौँ भनेर । संविधानसभाबाट संविधान जारी गर्यौं भनी । तर नेपालको कानुन कस्तो छ भनेर दुईवटा घटना प्रस्तुत गर्छु -
(१) गाउँमा मेरा मामाले नयाँ घर बनाउन आफ्नै बारीको तीन ओटा सालको रूख काटेर काठ जम्मा गरिराख्नु भएको थियो । केही दिनपछि आठ-दस जना गाउँ पुगे । मामालाई कानुनको बारे नानाथरी सुनाए अनि भएको काठ सबै जलाएर खरानी बनाए ।
(२) बिरामी आमालाई धादिङबाट लिएर आउँछ । वीर अस्पतालको ईमर्जेन्सी कक्षामा भर्ना गरी चेकजाँच गर्न थाल्छन् । तल-माथि, यता-उता गर्दागर्दै एक घण्टा बित्छ । बिरामीलाई केही सहज भएपछि हतार-हतार बाहिर निस्कन्छ । यता-उता खोज्छ । कतै नदेख्दा मुटुको चाल बढ्न थाल्छ । छट्पटी बढ्छ तर भेटिँदैन । किनकि महानगर पालिकाको गाडीमा राखेर उसकाे मोटरसाइकल लगिसकेको हुन्छ । बिहान हतारमा बिरामी लिएर निस्कदा ब्लु बुक र लाइसेन्स घरमा छुटेको छ । मोटरसाइकल कता पुर्यायो ? बिरामी आमालाई कस्को साथमा छोडौँ ? कता जाउँ ? के गरौँ ? बिजुलीको पोलमुनि बसेर टाउकोमा हात राखी धुरू-धुरू रून थाल्छ ।
यी यस्ता घटना हामी भुइँ मान्छेको दैनिकी हो । ठुला ठुला आवाजमा, पत्र-पत्रिकामा, रेडियो-टेलिभिजनमा हामीले नयाँ देश बनायौँ । गाउँ -गाउँमा सिंहदरबार, घर-घरमा रोजगारी पुर्यायौँ भनी चिच्याउनेहरू खै कुन दुलो पसे ? दु:ख बढ्दो छ । समस्या उस्तै छन्। उधारोमा सपना बाँड्नेले सपनाको जस्तै जिन्दगी कटाउदै छन् । हामीलाई हात्ती आयो ... हात्ती आयो... फुस्सा !
हैन यो नेपाल भन्ने देशमा के हुँदैछ ? कसैलाई थाहा छैन । नेताका भाषण सुने सुखै-सुख छ । जनताको कुरा बुझे समस्या मात्रै छ । भौगोलिक र जनसंख्या रूपमा तुलना गर्ने हो भने छिमेकी राष्ट्र भारतको एउटा प्रान्तभन्दा पनि सानो देश नेपालमा यतिधेरै संरचना किन ? सात ओटा प्रदेश, केन्द्रिय सहित आठ ओटा सरकार, १२५ भन्दा धेरै राजनीतिक दल, ८ सय ८४ सांसद, १५० भन्दा धेरै मन्त्री, जङ्गली च्याउ भन्दा धेरै भातृ संगठन । ओ नेपाल आमाका सन्तती हो ! यी सबै किन र कसका लागि बनाइरहेछन ? यो कुरा कहिले बुझ्ने ? यदि देश र जनताका लागि बनेको हो भने एक पछि अर्को गर्दै देश छोड्नेको लर्को किन बढ्दै छ ?
जुन देशले आफ्ना युवालाई सुरक्षा गर्न सक्दैन त्यो देश मृत समान हुन्छ । नेपाली जाने भनेको ७० प्रतिशत युवा मलेसिया, दुबइ, कतारमा हुन् । यी खाडी जानेले आफ्नो घरका लागि सामान र देशका लागि रेमिट्यान्स पठाउछन् अनि केही वर्षपछि फर्किन्छन् पनि । यी खाडी जानेहरूबाट परिवार र देशका लागि केही हदसम्म राम्रै हुन्छ । बाँकी ३० प्रतिशत युवा विकसित भनिने देश अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा जाने हुन् । यी मुलुकमा जानेले जसरी हुन्छ उतै सेटल हुने र नेपालमा भएका सम्पत्ति पनि उतै लाने पहल गर्छन् । यी विकसित देशमा जानेहरूबाट नेपाल भन्ने देश खतरामा छ ।
अहिलेको अवस्थालाई मुल्यांकन गर्ने हो भने राज्य संयन्त्र नै टुप्पी कसेर घुडा धसेर लागि परेका छन्- युवा पलायन गराउन । जस्तो कि एउटीले नर्स काेर्स उत्तीण गर्दा सम्म १५ देखि २० लाख र ४ वर्ष समय लगानी गरेको हुन्छ । जागिर खान गयो, १८ हजार तलब हुन्छ । यति तलबले अहिले काठमाडौँमा कोठाभाँडा तिर्न पुग्दैन । बाँकी खर्च केले पुर्याउने ? ऋण कसरी तिर्ने ? अनि नचाहँदा-नचाहँदै देश छोड्नुको विकल्प नै छैन । अझ सरकारले नै विदेश जानेलाइ बिनाधिताे ऋण दिने भनेर यस्तै अन्य सहुलियत दिएर युवा पलायन प्राेत्साहन गरिरहेकाे छ ।
यसैगरी सक्षम युवा पलायन गर्दै जाने हो भने दुर्गा प्रसाईंको भाषा सापटी लिएर भन्नुपर्दा अबको १० वर्षपछि यो देशमा- (१) विद्यार्थी भेटिँदैन (२) शिक्षिका भेटिँदैन (३) डाक्टर-नर्स भेटिँदैन (४) बलिया र सीप भएका भेटिँदैनन् । हो साँच्चै भेटिँदैन पनि (१) म्यनपावरले विदेश पठाउने (२) कन्स्लटेन्सिले विदेश पठाउने (३) स्कुल कलेजले विदेश पठाउने (४) कोही देशमा बसेर केही गर्न नचाहने/बसेकालाई नानाभातिका अङ्कुस लगाएर केही गर्नै नदिने । भनेपछि अहिलेका राज्य सन्चालकको उद्देश्य के हो ? हामी सर्वसाधारणले बुझ्ने र सोच्ने बेला निकै ढिलो भैसकेको छ ।
देशको बारेमा अलिकति सोच्ने जो-कोहीलाई पनि रिस उठ्छ । जम्माजम्मी ३ करोड जनसंख्या भएको देशमा आधीभन्दा धेरै बिरानो मुलुकमा पसिना बगाउँदै छन् । बाँकी एक करोड ५० लाख भन्दा कम जनता छन्, त्यसमाथि पनि- (१) जनताभन्दा कार्यकर्ता धेरै (२) कर्याकर्ताभन्दा नेता धेरै (३) नेताभन्दा राजनीतिक दल धेरै छन् । यिनीहरूको काम एकले अर्कोलाई गाली गर्नु र भागबन्डा मिलाउनु मात्रै हो ।
समयअनुसार देशको आवश्यकता र युवाको चाहना बुझ्न कोही-कसैलाई फुर्सद छैन । यसको ज्वलन्त उदाहरण प्रस्तुत गर्छु :- (१) एउटा गरिबले देश छोडे नौलो कुरो होइन । (२) एउटा बेरोजगारीले देश छोडे अचम्म बात होइन । (३) साह्रै उदेकलाग्दो त यो हो कि काठमाडौँमा १० ओटा घर हुनेका छोराछोरीले नेपालमा बस्न परे आत्महीनता बाेध गर्छ र मौका पाउनासाथ देश छोडेर उडिहाल्छ ।
के साँच्चै नेपाल अब बस्नलायक छैन ? नेपालमा समस्या मात्रै छ, समाधान छैन त ? यो नभुलौँ संसारका अधिकांश देशमध्ये नेपाल मात्रै यस्तो देश हो, जहाँ प्राकृतिक रूपी देवीले नै बाँच्नका लागि भरपुर स्राेत-साधन दिएकी छन् । हामीले चिनेनौँ । जानेनौँ । बुझेनौँ । यो बेग्लै कुरो हो । साँच्चै नेपाल बनाउने हो भने यति गरे पुग्छ :-
(१) दुई ओटा राजनीतिक दल (२) दश जना मन्त्री (३) एक सय जना सांसद (४) स्थानीय कच्चापदार्थमा आधारित कलकारखाना (५) जघन्य अपराध गर्नेलाई फाँसी (६) जसको हलो उसैको खेत (७) स्वदेशी उत्पादन प्रयोगमा जोड (८) भु-पु वरिष्ठका नाममा दिँदै आएको रासनपानीमा रोक (९) एक व्यक्ति दुई कार्यकाल मात्रै निर्वाचित हुन पाउने (१०) कि सांसद पद छोड कि आफ्ना छोराछोरी देशमा राख । (११) प्रदेश संरचना खारेज र स्थानीय शासन बलियाे । हो मात्रै यत्ति गरे पुग्छ । नत्र सधैँ यस्तै हो- कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।
जोगिमारा- ७ धादिङ
९८४१-०८२८६५