काठमाडौँ । मुलुकमा लामो समयदेखिको राजनीतिक अस्थिरता, सत्तालिप्सा र खिचातानीका कारण नेपाली जनता आजित भइसकेका छन् । पछिल्लो समय दुई ठूला दल मिलेर सरकार चलाउँदा राजनीतिक स्थिरताको नारा दिए पनि जनता भने आश्वस्त हुन सकेका छैनन् । स्थिरता र आर्थिक विकासको अपेक्षा गरिरहेका जनता पुनः राजनीतिक अराजकताको सिकार भइरहेछन् । दुई तिहाइ बहुमतको काँग्रेस–एमाले गठबन्धन सरकारले जनताका समस्या, महँगी, बेरोजगारी, कालोबजारी, आर्थिक संकट लगायत विषयमा ध्यान दिनुको सट्टा राजनीतिक प्रतिशोध साँध्ने र आफ्नालाई जोगाएर विपक्षीलाई निशाना बनाउने गतिविधिमा तल्लीन भएपछि जनतामा आक्रोश थपिएको छ ।
पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गरी लामो समय हिरासतमा राख्दा रास्वपा आन्दोलित छ । रविको पुनः म्याद थप्दै जाने प्रपञ्चविरुद्ध सडक प्रदर्शनमार्फत सत्तासँग लडिरहेको रास्वपाले आम जनताको समेत साथ मागेको छ । जनतालाई पनि सडकमा उतार्ने उसको अबको ध्येय देखिन्छ । उता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले समेत सडकमार्फत सरकारका गतिविधिको विरोध गरिरहेको छ । यसैबीच सत्तारुढ एमालेले समेत जागरण सभाको नाउँमा सडकमा प्रदर्शनको योजना बनाएको छ । मंसिर ७ गते गर्ने भनिएको जागरण सभा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजनमा हुँदैछ । तर उक्त सभा किन र के का लागि भन्नेबारे प्रश्न उठेको छ । विपक्षीहरु सडकमा आउनु स्वाभाविक भए पनि सत्तापक्ष नै काउन्टरको शैलीमा सडकमा आउनुलाई राजनीतिक अराजकताको पराकाष्ठा मान्नुपर्छ ।
यसैबीच विपक्षी दल नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता झन् बढ्दै जाने बताएका छन् । दुई तिहाइको सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिस्टहरुको गतिविधि बढ्दै जाने उनको जिकिर छ । महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको भन्दै अहिलेका सत्तारुढ दलबाट जनताले रोजगारी नपाउने र मुलुक आत्मनिर्भर पनि नबन्ने बताए । मुलुकलाई सही ढंगले अघि बढाउनका लागि क्रान्तिकारी एजेण्डासहितको समूह सडकमा आउनुपर्ने उनको भनाइ छ ।
छोटो समयमै उदाएर जनताको नजरमा परेको रास्वपालाई सत्तापक्ष र अन्य दलहरुले अराजक र पपुलिस्टको सज्ञा दिँदै आएका छन् । तर रास्वपाले सत्तामा हुँदा छोटो समयमै केही सुधारात्मक काम गर्दा र ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न खोज्दा पुराना दल काँग्रेस–एमालेमा जुन छटपटी बढ्यो, त्यसले रास्वपा र रविलाई सिध्याउने दिशामा उनीहरु एकताबद्ध भएर लागेका छन् । यसैकारण रास्वपा सडकमा आएर जनतासँग गुहार माग्ने अवस्थामा पुगेको छ । शनिवार बसेको रास्वपा केन्द्रिय समितिको बैठकले सरकारविरुद्ध घोषित दोस्रो चरणको आन्दोलनलाई सशक्त बनाउनका लागि साथ दिन नेपाली जनतालाई आह्वान गरेको हो । राज्य सत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध र साझा राष्ट्रिय मुद्दाहरुमा केन्द्रित रही सञ्चालन गर्न लागिएको दोस्रो चरणको सशक्त आन्दोलनमा साथ दिन उसले जनता गुहारेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको मुद्दामा अनाहक आफ्ना सभापतिलाई हिरासत राखेर दुःख दिइरहेको रास्वपाको आरोप छ ।
कार्तिक २ गते पक्राउ परेका रविलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । चौथोपटक म्याद थपका लागि उनलाई आइतबार पुनः अदालतमा उपस्थित गराइएको छ भने रुपन्देही प्रहरीले पनि रविमाथि अनुसन्धान अघि बढाएको छ । सरकारले प्रतिशोधका आधारमा रविलाई थुनामा राखिराखेको भन्दै रास्वपाले आन्दोलनलाई उग्र बनाउँदै लगेको छ । यसरी आन्दोलन बढ्दै जाँदा र जनताभित्र गुम्सिरहेको पुराना दलप्रतिको राजनीतिक वितृष्णा विस्फोट हुँदा मुलुकमा नसोचेको मोड आउन सक्छ । तेस्रो जनआन्दोलनको आकलन र आवश्यताबारे विमर्शहरु भइरहँदा सरकार सञ्चालक दलहरु ज्यादा सचेत हुनु जरुरी देखिएको छ ।