News 24 Television
नक्कली सहकारीपीडित भन्दै इजलासमै रविको रोष !

कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्दिकरणको मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान जारी रहेको छ । 

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखराको प्रहरी हिरासतमा राखिएका लामिछानेले इजलासमै नक्कली सहकारी पीडितको आरोप लगाएपछि पीडितहरु झनै आक्रोशित भएका छन् । 

आइतबार विहान १० बजे नै कास्की प्रहरीले रवि लामिछाने, छवीलाल जोशी, लिला पछाइँ  र रामबहादुर खनाललाई थप अनुसन्धानको लागि म्याद थप गर्न कास्की अदालत लगेको थियो । 

बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म न्यायाधिस नवराज दाहालको इजलासमा सरकारी वकिल, पीडितका पक्षका अधिवक्ता र रवि लामिछानेका पक्षका अधिवक्ताहरुले बहस गरेका थिए । 

कास्की जिल्ला अदालतमा रविलाई म्याद थप्नु पर्ने र नपर्नेबारे ५ घण्टा बहस चल्यो । बहसका क्रममा रवि लामिछानेले इजलास भित्रै रहेका सहकारी पीडितलाई नक्कली पीडित भनेर आफूहरुलाई अपहेलना गरेको सहकारीपीडित कृष्णप्रसाद जैशी बताउँछन् ।

सरकारी वकिल तथा पीडितको पक्षका अधिवक्ताहरुले, ठगि, संगठित अपराध र सम्पत्ति शुद्धिकरण जस्तो गम्भिर अपराधको आरोप भयकाले रवि लामिछाने सहितका सबैलाई थुनामै राखेर अनुसन्धान गर्न बहस गरेका थिए ।  

रास्वपा कार्यकर्ताहरुले रविलाई रिहाइ गर्न सडकबाट दबाब सिर्जना गरे पनि अनुसन्धान लम्बिएको छ । रविलाई दुई पटक म्याद थप गरिसकेको अदालतले अनुसन्धानका लागि आइतबार पुनः १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

लामिछानेसहित छवी जोशी, लिला पछाँई र रामबहादुर खनाललाई पनि थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले प्रहरीलाई अनुमति दिएको हो । 

रवि पक्राउ परेदेखि नै आन्दोलन गर्दै आएका रास्वपा कार्यकर्ताहरुले पोखरामा प्रदर्शन जारी नै राखेका छन् । आइतबार रास्वपाका कार्यकर्ताले पोखराको जिरो किलोमिटर देखि प्रदर्शन  गर्दै महेन्द्रपुलमा पुगि कोण सभा आयोजना गरेका थिए । 

रास्वपाले पार्टी सभापति लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरेको दाबी गर्दै आएका छन् । लामिछाने पक्षधर अधिवक्ताहरुले पनि लामिछानेलाई हिरासतमा राख्न जरुरी नभएको बताइरहेका छन् । 

सहकारी ठगिकै मुद्दामा थुनामा रहेका बाग्लुङको ढोरपाटन नगरपालीकाका प्रमुख देवकुमार नेपालीलाई पनि सुर्यदर्शन सहकारी ठगि प्रकरणमा बयानका लागि कास्की ल्याइएको छ । 

सुर्यदर्शन सहकारीका पुर्व उपाध्यक्षसमेत रहेका नेपाली लामो समयको बेपत्तापछि भारतबाट पक्राउ परेका थिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update