सुर्खेत । कालिकोटको पलाता गाउँपालिकामा यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
आइतबार दिउँसो करिब ३ बजेको समयमा पलाता गाउँपालिका–३ राडुकाप्रे खोलामा बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा पलाता गाउँपालिका–६ बस्ने दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश बस्नेत, वडा नम्बर ५ बस्ने छायाँ शाही र वडा नम्बर ३ का दमन रोकाया छन् ।
यस्तै गाडी चालक धनिराम रोकायलाई अस्पताल पुर्याए लगातै चिकित्सकले मृत घोषणा गरेका छन् । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । गम्भीर घाइतेको उद्दार गरेर उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट १३ जना जनालाई उद्वार गरि सुर्खेत पुर्याईएको हो। कर्णाली राजमार्गको कर्णाली नदी पारी कच्ची सडकमा बोलेरो जीप चल्ने गरेका छन् ।
दुर्घटनामा परेको जीप कच्ची सडकबाट करिव पाँच सय मिटर तल खसेको र घटनाबारे अनुसन्धान भइरहेको कालिकोट प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्दार लगतै सुर्खेत विमानस्थलमै पुगेका मुख्यमन्त्री यामलाल कंडेलले प्रदेश अस्पतालमा पुगेर घाइतेहरूको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन ।
घाइतेहरू मध्ये १ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डा. पदम गिरीले जाानकारी दिएका छन् ।