News 24 Television
प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई योजनामा हस्ताक्षर हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि सोमवारदेखि नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको जम्बो टोली चीन भ्रमणमा जाँदैछ । दोस्रो ग्लोबल साउथ चीन थिंक ट्यांक फोरमको सम्मेलनमा भाग लिन पोखरेल नेतृत्वको टोली चीन जान लागेको हो । तर प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि पोखरेल नेतृत्वको एमाले टोलीको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १५ सदस्यीय टोली सोमबार चीन भ्रमणमा जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा एमाले टोलीले नोभेम्बर १२ देखि २१ गते १० दिने चीन भ्रमणमा जान लागेको हो ।

पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग आईडीसीपिसीले आयोजना गरेको दोस्रो ग्लोबल साउथ चीन थिंक ट्यांक फोरमको सम्मेलनमा सहभागी हुने एमालेले जनाएको छ । 

भ्रमण टोलीमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटि सदस्य गोरख बोगटी, केन्द्रीय सदस्यहरु शान्ति ढकाल, सरिता भुषाल, सम्झना देवकोटा लगायत सहभागी हुनेछन् । तर प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि हुन लागेको एमाले टोलीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

पहिलो पटक भारत भ्रमणमा जाने प्रयास असफल भएपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणका लागि तारतम्य मिलाएका हुन् । चीन भ्रमण तय भइसक्दा पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरु अनभिज्ञ रहेका थिए । 

ओलीले को को भेट्दैछन् र के छ भ्रमणको एजेण्डा ?

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने कार्यक्रम छ । साथै उनले चिनियाँ समकक्षी ली चियाङ र सीपीसीका वरिष्ठ नेताहरूसँग भेट गर्नेछन् । 

ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको चीन भ्रमणको थप एजेण्डाहरुबारे पनि छलफल गर्नेछन् ।  

प्रधानमन्त्री ओलीको ओलीको चीन भ्रमणका क्रममा बीआरआईबारे पनि ठोस सहमति हुनेछ । सम्भवतः बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनामा हस्ताक्षर हुनेछ । 

नेपालमा चिनियाँ लगानीमा सञ्चालित विभिन्न परियोजनाहरुलाई चीनले बीआरआई परियोजनाका रुपमा रहेको बताइरहेको छ । साथै, काठमाडौंलाई चिनियाँ सहयोग र आर्थिक सहयोगको अवस्था र सहयोगका सम्भावित क्षेत्रका विषयमा छलफल हुने गरी तयारी भइरहेको छ । 

यो बाहेक गत भदौ २३ गते काठमाडौंमा चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका उपाध्यक्ष याङ वेइकुन र अर्थमन्त्री बिष्णु पौडेलबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि चीनको एक्जिम बैंकबाट लिएको ऋण मिनाहा गर्न गरिएको औपचारिक अनुरोध अनुसार नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्ने, बीआरआई ढाँचाअन्तर्गतका केही नयाँ आयोजना कार्यान्वयन गर्ने लगायतका कुराहरु प्रधानमन्त्री ओलीको भ्रमणको एजेण्डामा राखिएको छ । यसलाई परराष्ट्रविद्हरुले पनि सकरात्मक मानेका छन् । 

प्रधानमन्त्री बने लगत्तै भारत भमणलाई पहिलो प्राथमिकता राखेका प्रधानमन्त्री ओली भारतबाट भ्रमणको निम्तो नआएपछि चीन भ्रमण गर्न लागेका हुन् । 

ओलीले यस पटकको भ्रमणलाई सफल बनाउन पार्टीदेखि सरकारका सबै संयन्त्रको परिचालन गरी तयारी गरिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update