जनकपुर । हिन्दु धर्मावलम्वीका लागि विशेष तिर्थस्थलका रुपमा परिचित जनकपुरधामा श्रीराम सीता विवाह पञ्चमीको रौनक शुरु हुँदैछ । यसपटक विवाह पञ्चमीमा भारतको अयोध्याबाट ५ सय भन्दा बढि जन्ती जनकपुरधाम आउँदैछन् ।
यसले पनि विवाह पञ्चमीमा जनकपुरधामको रौनक थप बढेर जाने देखिएको छ । आईतवार विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक राखी विवाहपञ्चमी महोत्सवबारे जानकारी दिइएको हो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मनाउन लागिएको र जनकपुरमा मंसिर १७ गते अयोध्याबाट जन्ती आउने र २२ गतेसम्म जनकपुरमा बस्ने जानकारी दिए । जन्तीको स्वागतमा जनकपुरवासीले कुनै कमी नराख्ने पनि उनल बताए ।
विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा यतिबेला तयारी तीव्र बनाइएको छ । विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए ।
अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव चम्पत रायले गर्ने बताइएको छ । जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा. रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५०० बढीको सहभागिता रहने बताइएको छ ।
हिन्दु धर्ममा राम र सीतालाई एकदमै श्रद्धापूर्वक लिइन्छ । हिन्दु धर्मावलम्वीका लागि राम र सीताको जोडी बेजोड मानिन्छ । त्यसैले हिन्दु धर्मावलम्बीहरुका लागि सीता जन्मभूमि जनकपुरधाम पवित्र तिर्थस्थल हो ।
भारतमा रहेका करोडौँ हिन्दु धर्मावलम्बीका लागि जनकपुरधाम एक प्रमुख धार्मिक तिर्थस्थल हो । विश्वभर रहेका हिन्दु धर्मावलम्वीका विवाह पर्यटनमार्फत् जनकपुरधाम ल्याउन सक्ने ठूलो सम्भावना छ । यसलाई पछिल्लो समय सरकारले पनि प्राथमिकतामा राख्दै आएको छ ।
चालु आर्थिक वर्षको बजेटमा समेत जनकपुरलाई पर्यटकीय विवाह गन्तव्य बनाइने उल्लेख छ । बजेटमा जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा उल्लेख गर्दै सरकारले ५ अर्ब ४६ करोड रुपैयाँ बजेत समेत विनियोजन गर्नुले पनि पछिल्लो समय सरकारले जनकपुरधामलाई महत्व दिएको बुझ्न सकिन्छ ।
मिथिलाञ्चलमा पर्ने जनकपुरधामामा विवाह पञ्चमीबाहेक रामनवमी, छठ, मिथिला परिक्रमा, होली तथा मिथिला लोकगीत र नृत्यको आयोजना गरी सांस्कृतिक पर्यटक पनि भित्राउन सकिन्छ ।
त्यसैगरी मिथिला संस्कृतिको महत्वपूर्ण पक्ष लोकगीत, लोकनृत्य, कला, मठमन्दिर, कुण्ड आदिको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ ।