रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आउँदो मंसिर २० गतेदेखि भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ हुने भएको छ ।
‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ पुस १ गतेसम्म सञ्चालन गरिने महोत्सवमा विभिन्न सेवा तथा वस्तुका ३ सयवटा स्टल राख्ने तयारी छ ।
बजार चलायमान बनाउदै अर्थतन्त्रमा गति दिन सहयोग पु¥याउने उद्देश्य सहित भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ आयोजना गरिँदैछ ।
यस अघि आयोजना गरिएका महोत्सवले लुम्बिनी क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण सहयोग गरेकाले यस वर्षपनि महोत्सवलाई निरन्तरता दिन लागिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको भनाई छ ।
लुम्बिनी क्षेत्रको आर्थिक अवस्था दयनीय भएकाले मेला–महोत्सवको आयोजनाले अवस्था सुधारमा टेवा पुग्ने अपेक्षा रहेको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठ बताउँछन् ।
यति मात्रै होइन यस महत्सवले स्थानीय उत्पादन एवम् व्यवसाय प्रबद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाइ सीमावर्ती बजारहरुमा पाइने सामानहरु बीचको तुलनात्मक मूल्यका वारेमा जानकारी दिने र स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीको बजार प्रबद्र्धन सघाउ पु¥याउने समेत देखिन्छ ।
महोत्सवमा उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्यक्ष भेटघाट हुने भएकाले यस भेगमा उत्पादित कृषिजन्य बस्तुहरु माछा, कुटिर तथा घरेलु र राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण गरिनेछ । यसबाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायिककरण पनि हुने आयोजकको अपेक्षा छ ।
मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन राखि छ भने कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरिनेछ । यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहनेछ ।
महोत्सवमा सिमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रबद्र्धन तथा आर्थिक गतिबिधि चलायमान हुने विश्वास लिइएको छ ।
यस अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा बिशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था समेत गराइदैछ ।
मंसिर २० गतेदेखि शुरुहुने महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ । २०६१ सालदेखि भैरहवामा मेला महोत्सव आयोजनाको निरन्तर हुँदै आएका छन् ।