News 24 Television
बजारकै हिसाबकिताबमा गडबडी, दूधमा खडेरीको जोखिम !

रुपन्देही । दूधको बजारीकरणको समस्या बढ्दो क्रममा रहेकाले दुग्ध किसान विस्थापित हुने अवस्थामा पुगेका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष दूध र दुग्धजन्य पदार्थको बजारीकरणमा झनै समस्या देखिँदा पनि राज्यले प्रभावकारी कदम नचाल्दा अहिले संघसंस्थाहरु जुटेर बजारको व्यवस्थापनमा सक्रियता जनाइरहेका छन् ।

रुपन्देहीका किसानका लागि सहकारी संस्था स्वयंम सक्रिय बनेको हो । किसानले उत्पादन गरेको दूधले बजार पाउन मुस्किल परेपछि रुपन्देहीमा रहेको सहकारी संस्था किसानको सारथी बनी रहेको छ । 

दूधको विक्रीमा समस्या बढ्दै गएका बेला रुपन्देहीको सैनामैना नगरपालिका १०, सालझण्डीमा रहेको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था बजारीकरणका लागि विभिन्न उपाय अपनाउन तल्लिन छ । 

शुद्ध दुध, दहि, घ््यु, नौनी, क्रिम, पनिर, कुराउनी, आईसक्रिमहरु लगायतका वस्तुहरु आफैले उत्पादन गर्ने, प्याकेजिङ्ग गर्ने र  विक्रि वितरण गर्ने कार्यमा सहकारीले सक्रियता जनाएको हो । सहकारीमा आवद्ध ६ सय ५५ दुग्ध उत्पादक किसानहरुले जम्मा गर्ने दैनिक ४ हजार भन्दा बढि दुधको बजारिकरणको समस्या देखा पर्न थालेपछि सहकारीले दुग्धजन्य बस्तु बनाएर बजारिकरण गर्ने उपाय थालेको हो । 

यसरी उत्पादित दुग्ध उत्पादनहरु स्थानीय बजार तथा बुटवल, भैरहवादेखी  पोखरासम्मका बजारमा पु¥याउने गरिएको छ ।

सहकारीले आफ्ना उत्पादनलाई थोक ,फुटकर तथा घुम्ति सेवा मार्फत विक्रि वितरण गर्दै आएको छ । सहकारीले उत्पादन बराबरको भुक्तानी किसानलाई दिने गरेको भएपनि सहकारी आफैले भने बजारमा पठाएको आफ्नो उत्पादनको भुक्तानी पाउनै मुस्किल परिरहेको छ ।

बुटवल लगायतका बजारहरुमा विक्री वितरण हुने तथा ठुला व्यवासीहरुबाटै भुक्तानीमा समस्या भइरहेको छ । भुक्तानीकै समस्या बेहोर्नु पर्दाको हैरानीले सालझण्डी सहकारीमै आवद्ध ११ वटा ठुला किसानहरु कृषि पेशानै छाडी नेपालबाटै पलायन भइसकेको अवस्था छ ।

दुधको बजारीकरणमा चुनौति थपिएपनि रुपन्देहीमा नमूना मानिएको सालझण्डी दुग्ध सहकारीले किसानलाई प्रोत्साहन स्वरुप प्रति लिटरमा ५ रुपैयाँ थप मूल्य दिँदै आएको  थियो । तर, पछिल्लो समय भुक्तानीकै असरले गर्दा प्रति लिटरमा २ रुपैया मात्रै थप रकम दिइरहेको छ । 

विगत वर्षहरुमा प्रदेश सरकारबाट प्रत्साहन स्वरुप प्रतिलिटर २ रुपैयाँ अनुदान र स्थानीय सरकारबाट ९० पैसा दिने गरेको भएपनि पछिल्लो समय दोहोरो अनुदान दिइएको भन्दै प्रदेश सरकारले प्रोत्साहन स्वरुप दिने २ रुपैयाँ समेत कटौती गरेको छ ।

एकातिर, बजार अनि भुक्तानीको समस्या अर्कातिर किसानलाई प्रत्सान गर्ने गरि प्रभावकारी कदमतर्फ ध्यानै नदिने सरकारको कदमले किसान मारमा परेका मात्रै होइन पलायन नै हुने अवस्थामा पुगेका छन् । 

मुलुकको आन्तरिक उत्पादन बढाउनु पर्नेमा निरुत्साहित बनाउने राज्यको शैलीले मुलुकलाई दीर्घकालीन प्रभाव पर्ने निश्चित छ । यसतर्फ सरकारले ध्यान दिने कि ?

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update