काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेस सम्मेलित दुई तिहाइको शक्तिशाली सरकारमाथि पटक पटक नैतिक प्रश्न उठ्दै आएको छ । सरकार गठनको उदेश्य, प्रकृया र सरकारको नियतमाथि प्रतिपक्षी दलहरुले सुरुका दिन देखि नै प्रश्न गर्दै आइरहेका छन् ।
आलोचना र प्रश्नकाबीच सरकारले आफ्नो सुरुवाती सय दिन पनि पार गरिसकेको छ ।यस अवसरमा कार्यविवरण सार्वजनिक गरेको सरकारले उत्कृष्ट कार्यहरु गरिरहेको दावी गरेको थियो । यस्तोमा सत्तारुढ दलका नेताहरुले पनि सरकारको पक्षपोषण गर्दै लेप लगाउने कार्य गरिरहेका छन् ।
तर स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच स्वार्थगत लडाईँको सृजना हुनसक्ने आशंका पनि बढेको देखिन्छ । जसको सन्तुलनका लागि काँग्रेस एमालेले राजनीतिक संयन्त्र बनाइसकेका छन् ।
आउँदो स्थानीय तहको निर्वाचन र सरकार संचालनमा दुई दलीय सन्तुलन कायम गर्न यो संयन्त्रको उपयोग गर्ने काँग्रेस एमालेबीच सहमति भएको छ । यद्यपि सत्ता सहकार्यमै रहेका काँग्रेस एमालेले एक्लाएक्लै निर्वाचनमा होमिने रणनीति पनि बनाएका छन् ।
उनीहरु उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन लागीसमेत पर्न थालिसकेका छन् । यसका अलाबा नेकपा एमालेले पार्टीगत निर्णय नै गरेर आगामी महिना काठमाडौंमा जागरण सभा गर्ने निर्णय पनि गरेको छ । आउँदो ७ मंसिरमा काठमाडौंमा हुने जागरण सभाका लागि पार्टीको सबै संयन्त्रहरुलाई प्रयोग गर्ने पनि एमालेले निर्णय गरेको छ ।
यसरी सरकारकै नेतृत्व गरिरहेको दल एमाले आँफैले जागरण अभियान संचालन गर्नु उचित नहुने भन्दै कतिपयले प्रश्नसमेत उठाउन थालिसकेका छन् ।
योसँगै एमालेमाथि जागरण सभा किन र के का लागि ? सरकार सञ्चालन गरिरहेकै नेतृत्वले कस्तो जागरण गर्ने ? त्यो जागरण सरकारको कामबाटै गर्न सकिन्न ? भन्नेजस्ता प्रश्न उठिरहेको हो । तर यी र यस्ता प्रश्नहरुप्रति एमालेले खास ध्यान दिन सकिरहेको छैन ।
सत्ताकै नेतृत्व गरिरहेको दलले दलीय कोणबाटै जागरण अभियानसभा गर्दा सरकारप्रति जनताले कसरी भरोसा गर्ने ? यो प्रश्न पनि गम्भीर रुपमा खडा भएको छ ।
अहिले संसदकै दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमालेको शक्तिशाली सरकार भएपनि जनताले सुशासनको उचित आभाष गर्न पाइरहेका छैनन् । यो अवस्थामा दलहरुको नीति र सिद्धान्त फरक फरक भएपनि सत्ताका लागि एक भएका काँग्रेस–एमालेले जनसेवा र राष्ट्रहितका लागि आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।
नत्र एमाले र काँग्रेसको सत्ता प्राप्ति राष्ट्र हित र जनसेवाका लागि नभइ स्वार्थका लागिमात्रै ठहरिने पक्का छ ।