काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि शुक्रबारदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गर्दैछ । विमानस्थल बन्द गरिँदा अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान कटौती गरिँदै छ । उडान संख्या कटौती भएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडामा कालोबजारी सुरु गरिसकेका छन् । आन्तरिक तथा बाह्य दुवैखाले उडान गन्तव्यहरुको यसअघि निर्धारित हवाई भाडाभन्दा महँगो र दोब्बर–तेब्बरसम्म भाडा बढाइएको सेवाग्राहीको गुनासो छ । विमानस्थल बन्द गरिँदा उडान कटौतीको विषय देखाएर विदेशी तथा स्वदेशी सबै एयरलाइन्सले हवाई भाडा बढाएका हुन् । आन्तरिक उडानको तुलनामा अन्तर्राष्ट्रिय उडानको भाडादर अत्यधिक बढाइएको अनलाइन प्लेटफर्महरुमा देखिएको छ । तर सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।
विमानस्थलमा ट्याक्सी–वे निर्माण कार्यका लागि कार्तिक २३ गतेदेखि करिब ५ महिनासम्म विमानस्थल दैनिक १० घण्टा बन्द गर्ने सूचना प्राधिकरणले यसअघि नै दिइसकेको थियो । हाल दैनिक ३ घण्टा (राति १ बजेदेखि बिहान ४ बजेसम्म) बन्द रहँदै आएको त्रिभुवन विमानस्थल अब राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द हुनेछ । उक्त समयमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण निषेध गरिएको छ । अहिले पनि आन्तरिक उडानतर्फ बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म उडान–अवतरण हुँदै आएकोमा अब २ घण्टा मात्रै आन्तरिक उडान समय कटौती हुने देखिन्छ । तर यसै विषयलाई देखाएर आन्तरिकतर्फको हवाई टिकट समेत महँगो गरिएको छ ।
प्राधिकरणले विमानस्थलको गुणस्तर तथा कार्यक्षमता बढाउन भन्दै दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’ निर्माण गर्दैछ । यस्तै विमानस्थलको उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायतको क्षमता विस्तार गर्ने र ‘रन–वे मर्मत’ समेत गर्ने तयारी छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले विमानस्थल स्तरोन्नतिका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । विमानस्थलको स्तरोन्नतिपछि धावनमार्गको क्षमता २५ प्रतिशत वृद्धि हुने र विमानस्थलको एयर ट्राफिक व्यवस्थापनमा सुधार हुने उनको भनाइ छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरिएको छ । महानिर्देशक अधिकारीले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई भाडा पनि नियन्त्रणमा आउने दाबी गरेका छन् ।
नेपालको प्रचलित कानूनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरित वायुसेवा कम्पनीहरुले मनलाग्दी भाडा बढाउन नपाउने उनको भनाइ छ । तर यथार्थमा भने अन्तर्राष्ट्रिय उडानतर्फ नियमित हवाई भाडाभन्दा दोब्बरदेखि तेब्बरसम्म बढाएको पाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरु यसको मारमा परेका छन् । हवाई भाडामा कालोबजारी र ब्रह्मलुट सुरु भएसँगै मेनपावर व्यवसायीहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराए पनि गैरजिम्मेवार जवाफ पाएको बताएको छ । यसबारे नियमन गर्न आग्रह गर्दा मन्त्री भण्डारीले आफू नियामक निकाय नभएको जवाफ दिँदै पन्छिएको व्यवसायीहरुको गुनासो छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिरहेको जनाएको छ । भैरहवाबाट थाई एयर एशिया, फ्लाई दुबई र जजिरा एयरलाइन्सले उडान अनुमति लिइसकेका छन् । कतार एयरवयजे पनि उडानको तयारी थालेको छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहित गर्न सरकारले भाडादर घटाए पनि सस्तो भाडामा उडान भर्न वायुसेवा कम्पनीहरु इच्छुक देखिएका छैनन् ।
यात्रुहरु मर्कामा पर्नेगरी विमानस्थल बन्द गरिँदा प्राधिकरणको आलोचना समेत भएको छ । ट्याक्सी–वे निर्माण गर्दैमा विमानस्थल बन्द गर्नुपर्ने अवस्था नरहे पनि यसको प्राविधिक पाटो विचार गर्दा बन्द गर्नुपरेको महानिर्देशक अधिकारी बताउँछन् । विमानस्थलको रनवेबाट दायाँबायाँ दुवै साइटमा ७५ मिटरसम्म भूभाग खाली हुनुपर्छ, जसमा खाल्डाखुल्डी र अन्य कुनै वस्तुहरु हुनुहुँदैन । रनवेमा लगेर ट्याक्सीवे जोड्ने काम हुने भएकाले त्यसका लागि खन्नुपर्ने, अलकत्रा सेट गर्नुपर्ने भएकाले विमानस्थल बन्द गरिएको उनको भनाइ छ ।
सरकारले अन्तर्राष्ट्रिय उडानका लागि भैरहवालाई उत्तम विकल्पका रुपमा सञ्चालन सके काठमाडौँको चाप घट्ने निश्चित छ । यससँगै भैरहवा विमानस्थलले पनि महत्व पाउँदै जाने र आन्तरिक उडानका लागि काठमाडौँमा उडान कटौती गर्न नपर्ने अवस्था समेत आउने थियो । जथाभावी भाडा बढाउने कार्य नियमन गर्दै सरकार र प्राधिकरण दुवैले अन्तर्राष्ट्रिय उडानमा भैरहवा र पोखरा विमानस्थल प्रयोगमा ल्याउन भरपुर पहल गर्नुपर्ने देखिन्छ । आन्तरिक उडानतर्फको भाडामा पनि नियमन गरेर भाडा बढाउने एयरलाइन्सलाई कारबाही गर्न सके मनोमानी बन्द हुने थियो ।