काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानको सम्बन्धमा सत्तापक्षमाथि प्रतिपक्षी दलहरुले पक्षपात गरेको आरोप लगाउने गरेका छन् । सरकारले आफ्नालाई संरक्षण गरेर विपक्षी दलका नेताहरुलाई मात्रै पक्राउ र अनुसन्धान गरिरहेको प्रतिपक्षको आरोप छ । तर यस्तोमा गृहमन्त्री रमेश लेखकले भने कसैको अनुहार हेरेर अनुसन्धान गर्ने वा नगर्ने भन्ने पक्षमा सरकार नरहेको दावी गरिरहेका छन् । उनी सहकारी ठगी प्रकरणमा जुनसुकै दल र संगठनमा रहेकाहरुलाई पनि कारवाहीको दायरामा ल्याइने जिकिर गर्छन् ।
तर यस्तोमा एमालेकै सांसदहरुसहित काँग्रेस उपसभापति एवं सांसद धनराज गुरुङको सम्बन्धमा अनुसन्धान नभएको भन्दै प्रश्न उठिरहेको छ । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन सम्बन्धमा धनराज गुरुङको पनि नाम जोडिने गरेको छ ।
उक्त सहकारीका संचालक ज्योति गुरुङ उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । ज्योतिविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिसकेको छ । तर धनराजले सहकारीको रकम अपचलनको प्रकरणमा बच्न श्रीमतीसँग सम्बन्ध विच्छेद गराएको कतिपयको शंका र दावी छ । यद्यपि धनराजले भने सम्बन्ध विच्छेद भइसकेको श्रीमतिले गरेको कुकर्मको जिम्मा आफूले नलिने बताउँदै आएका छन् ।
उपसभापति धनराजले सो दावी गरेपनि प्रतिपक्षले उनीमाथि अनुसन्धान गर्नुपर्ने मागलाई थाति राखेको छैन । यही प्रकरणमा काँग्रेसकै नेताहरुले पनि धनराजमाथि अनुसन्धान गरिनुपर्ने बताइरहेका छन् ।
प्रतिपक्षी दलहरु र काँग्रेसकै केही नेताहरुको माग अनुसार धनराजसामु अनुसन्धान नपुगेपनि उनकी पूर्वपत्नी ज्योतिलाई पक्राउ गर्न सीआईबीले इन्टरपोलमा रेड नोटिस जारी गरिसकेको छ । ज्योति गुरुङबाट सहकारीको ३ करोड ४४ लाख रकम अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यो आधारमा प्रहरीले थप अनुसन्धान गरे सहकारीको रकम अपचलनको अनुसन्धान धनराजसम्म पनि नपुग्ला भन्ने अवस्था छैन । यद्यपि धनराज र ज्योतिले ०७६ फागुन २९ मै जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्चेद गरेको बताइन्छ । तर यो सम्बन्ध विच्छेद धनराजले नै दावी गरेजस्तो पारिवारिक समस्याकै कारण हो ? वा सहकारीको रकम अपचलन सम्बन्धको प्रकरणबाट बच्न हो ? यसको खास खुलासा भने हुन सकेको छैन । यस विषयमा प्रहरीले धनराज र उनकी पूर्वपत्नीमाथि गहन अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ ।