News 24 Television
आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोट :   नेपाल यूएईसँग पराजित

काठमाडौं । नेपाल आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोट खेलमा शनिवार यूएईसँग पराजित भएको छ । यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो खेलमा १३ रनले पराजित भएको हो । राउण्ड रोबिनमा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो पराजय हो । यसअघि नेपालले २ खेलमा लगातार जित हासिल गरेको थियो । नेपालले थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले पराजित गरेको थियो । युएई भने अपराजित रहेको छ । 

शनिवार अजमानको द सेभेन स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । 

युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो । नेपाली टिमकी कप्तान पूजाले उत्कृुष्ट प्रदर्शन गर्दै ४३ बल खेल्दा पाँच चौकासहित ४८ रन बनाइन् । ओपनर साना प्रभिन र उपकप्तान सोनी पाख्रिनले  समान १९ रन जोडे भने ज्योत्सिका मरासिनी ११ रनमा अविजित रहिन् । 

यअघि टस जितेर ब्याटिङ रोजेको युएईकी रिनिथाले ३३ बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४८ रन बनाएकी थिइन् । नेपालकी रिया शर्माले सर्वाधिक तीन विकेट लिएकी थिइन् भने पुजा महतो, करिष्मा गुरु र सीमा केसीले एक एक विकेट लिए । 

   अब नेपालले यही तीन टोलीसँग समान एकपल्ट खेल्नेछ । शीर्ष दुई टोली फाइनलमा भिड्ने छन् । विजेताले विश्वकपमा स्थान पक्का गर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update