News 24 Television
उपचुनावको जोडघटाउः एक्लै लड्दा कसलाई कति घाटा ? 

काठमाडौं ।   आगामी मंसिर १६ गते हुने लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि राजनीतिक दलहरुको दौडधुप जारी छ । 

यसअघि नेपाली कांग्रेसले जितेको १ नगरपालिका प्रमुख, २ गाउँपालिका अध्यक्ष र ३ उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्रले जितेको २ गाउँपालिका उपाध्यक्ष पदका साथै अन्य ३४ वडा अध्यक्ष पदमा निर्वाचन हुँदैछ । विभिन्न कारणले रिक्त भएका यी पदहरुमा ७९ सालको नतिजा कस्तो थियो त ?

आगामी मंसिर १६ गते हुने तय भएको स्थानीय तहको रिक्त पदको उपचुनावका लागि मंसिर २ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम छ । उम्मेदवार मनोनयन दर्ताका लागि राजनीतिक दलहरुले उम्मेदवार छनोटको प्रक्रिया जारी राखेका छन् । 

७९ सालको स्थानीय तहको निर्वाचनमा पनि विभिन्न दलहरुसँग गठबन्धन कायम गरेका दलहरु यो उपचुनावमा भने एक्लाएक्लै लड्ने परिस्थिति बनेको छ । यद्यपी सत्तारुढ प्रमुख २ दलले भने केही ठाउँमा गठबन्धनको प्रयास गरि नै राखेका छन् । स्थानीय तहको उपचुनावका सदन्र्भमा दलहरु आन्तरिक बैठकहरु तीब्र बनाएका छन् । 

दुई जिल्ला समन्य समिति प्रमुख, २ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, एक नगरपालिका प्रमुख र एक नगरपालिका उपप्रमुख र अन्य ३४ वडाअध्यक्ष पदका उपनिर्वाचन हुन लागेको हो । 

त्यसमध्ये कांग्रेसले यसअघि जितेको १ नगरपालिका प्रमुख, २ गाउँपालिका अध्यक्ष, ३ उपाध्यक्ष तथा माओवादी केन्द्रले जितेको २ गाउँपालिका उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । 

कस्तो थियो अघिल्लो निर्वाचनको मत परिणाम ? 

काठमाडौंका कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मतले विजयी भएका थिए । 

दोस्रोमा एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत पाएका थिए भने माओवादीका शिवशरण महर्जन ४ हजार ९० र माधव नेपाल नेतृत्वको नेकपा एसका बटुकृष्ण थापाले १ हजार १ सय ५३ मत पाएका ल्याएका थिए । 

नेकपा एसको जिल्ला उपाध्यक्ष रहेका बटुकृष्ण, सचिव ध्रुवराज न्यौपाने लगायत ठूलो पंक्ति एमालेमै फर्किसकेको छ । यो मत परिणाम अनुसार एकीकृत समाजवादी र विप्लव माओवादीसमेतको गठबन्धन बने पनि माओवादीलाई जितका लागि ठूलो चुनौति देखिने छ । 

एमालेले कीर्तिपुर मेयरमा डा.सुरेन्द्र मानन्धर र माओवादी केन्द्रले प्रा.डा. शिवशंकर महर्जनलाई उम्मेदवार बनाउँदैछ । कांग्रेसको भने टुंगो लागिसकेको छैन ।   

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकश गच्छददार थारुले ७ हजार ६ सय ५ मत ल्याएर जितेका थिए । 

दोस्रोमा एमालेका शिव नारायण माझी थारुले ६ हजार ९३ पाएका थिए भने माओवादी केन्द्रका उम्मेदवार विजय कुमार सरदारले २ हजार ७ सय २७ मत मात्रै ल्याएका थिए । यो पालिकाको उपाध्यक्षमा भने एमालेकी गुणावतीदेवी थारु ६ हजार १ सय २३ मतले विजयी भएकी थिइन् । 

दैलेखको महावु गाउँपालिका अध्यक्षमा पनि कांग्रेसकै लछुमन गुरुङ २ हजार ९ सय ७९ मत ल्याएर विजयी भएका थिए । एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५ सय १९ मत ल्याउँदा नेकपा एसका जंगबहादुर शाहीले २ हजार २ सय ६८ मत पाएका थिए । झण्डै एमालेको मतकै हाराहारीमा समाजवादीले भोट काटेकै कारण एमालेले अध्यक्ष पद गुमाएको थियो ।    

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा कांग्रेसका श्याम सुन्दर तामाङ ४ हजार ७ सय ४१ मतले निर्वाचित भएका थिए । एमालेकी मुना शिमाकोटी तामाङले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन् । माओवादी र कांग्रेस मिलेर उठेको यो पालिकाको अध्यक्षमा माओवादीका विश्वास कार्की निर्वाचित भएका थिए । 

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका चन्द्रसिंह कार्की ३ हजार २ सय ६९ मतले विजयी भएका थिए ।

एमालेकी जुनकुमारी फडेराले भने १ हजार ६४ मत मात्रै पाएकी थिइन् । यो पालिकामा माओवादीको उपस्थिति बलियो देखिन्छ । यद्यपि आगामी उम्मेदवारले पनि चुनावलाई प्रभाव पार्नेछ । 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी मैना जोशी १ हजार ८ सय १० मत ल्याएर निर्वाचित भएकी थिइन् ।

एमालेकी सुलोचना कुमारी भण्डारी बुढाले १ हजार ६ सय ३७ मत तथा माओवादीका सुरेशबहादुर बोहराले १ हजार २ सय १३ मत ल्याएका थिए । 

रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीकी भुपेन्द्रा बुढा ४ हजार ५९ मतले विजयी भएकी थिइन् । 

त्यतिबेला कांग्रेसकी कमलाकुमारी मल्लले २०१० मत पाउँदा एमालेका धर्म घर्तीबुढाले १ हजार ८ सय १२ मत पाएका थिए । सत्तारुढ दुई दल कांग्रेस र एमाले दल मिलेर लडेमा भने माओवादी केन्द्रले यो ठाउँ गुमाउने खतरा उत्तिकै रहन्छ । 

जाजरकोटको नलगाडकी गाउँपालिकामा कांग्रेसकी सरिता सिंह ५ हजार ४०६ मत पाएर विजयी भएकी थिइन्  । 

उनको निकटतम् प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् । कांग्रेसकी सिंहले उपाध्यक्ष जित्दा अध्यक्षमा भने माओवादीका डम्बर बहादुर रावल ५ हजार ५ सय ९९ मतले निर्वाचित भएका थिए । 

अध्यक्षमा कांग्रेसका छबि पन्तले ६ सय ५२ मत मात्रै ल्याएका थिए । उक्त परिणाम अनुसार यो पालिकामा अन्य दलहरुको उपस्थिस्थिति कमजोर रहेको छ । 

यी पदमा आगामी मंसिर १६ गते हुने उपचुनावमा रास्वपासहित विभिन्न २५ दलले भाग लिँदैछन् । ०७९ को संघको निर्वाचनमा अप्रत्याशित नतिजा ल्याएको नयाँ दल रास्वपाले स्थानीय तहको नतिजा भने हेर्न बाँकी नै छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update