भैरहवा । लामो समयको प्रतिक्षापछि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । शनिबार मात्रै तीन अन्तर्राष्ट्रिय उडान भएको छ ।
थाई एयरले शुक्रबार, जजिरा एयरलाइन्सले शनिबार बिहान, फ्लाई दुबईले दिउँसो उडान भरेका छन् भने नेपाल एयरलाइन्सले राति उडान भर्नेछ ।
दैनिक १० घण्टा सेवा रोकेर काठमाडौंको त्रिभुवन अन्तर्राष्टिय विमानस्थल स्तरोन्नतिको काम भइरहँदा गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले उत्साहित बनाएको छ । यहिबीचमा एक्कासी बढाइएको भाडादर नियन्त्रणका लागि पनि शनिवारमै सहमति जुटेको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिनबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको कुवेतको जजिरा एयरलाइन्सले केही समय उडान गरेपछि स्थगित गर्यो । त्यसको १० महिनापछि शनिबारबाट पुनः उडान सुरु गरेको छ ।
२०७९ जेठ २ मा विमानस्थल उद्घाटन हुँदा र जजिराले उडान सुरु गर्दा हर्षित यस क्षेत्रका बासिन्दा विमानस्थल विजनेशबिहीन हुँदा निरास बन्न पुगेका थिए । शनिबार बिहान ७ः४० बजे कुबेतबाट १ सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले फर्कंदा १ सय यात्रु ६८ लिएर कुवेत उड्यो ।
शनिबारै दिउँसो संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पनि यहि विमानस्थलबाट उडान सुरु गरेको छ ।
शनिवार दिउँसो २ः३५ बजे १५९ यात्रुसहित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईमा आएका १५९ मध्ये १० जना भैरहवा ओर्लिएको र पुनः बाँकी १४९ यात्रुसहित उक्त विमान भैरहवाबाट काठमाडौं प्रस्थान ग¥यो । दुबै विमानलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो । भैरहवा ओर्लिएका र यहाँबाट कुवेत लगायतका देशका जान लागेका यात्रु घर छेउबाट यात्रा गर्न पाउँदा हर्षित देखिए ।
फ्लाई दुबईको उडान आइतबारको भएतापनि एकदिन अघि शनिवार नै उडान गर्दा विमानले भैरहवाबाट यात्रु नपाएको बताइएको छ । एकै दिन नेपाल एयरलाइन्सले पनि यो विमानस्थलबाट उडान भर्दैछ । नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमाडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका छ ।
फ्लाई दुबईले शनिवारदेखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने तालिका छ । शुक्रबार गौतमबुद्ध विमानस्थलमा उडान भरेको थाई एयर एशियाले साताको सोमबार र बिहीवार एक उडान र जजिरा एयरवेजले साताको तीन दिन मंगलबार, बिहीवार र शनिवार उडान गर्नेछन् ।
हाल विमानस्थलबाट चार वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । यसले यस क्षेत्रमा चहलपहल बढेको छ भने सिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा छ । तर, यसले निरन्तरता पाउनेमा यहाँका पर्यटन ब्यवसायीहरु विश्वस्त हुन सकेका छैनन् ।
हवाई भाडा नियन्त्रणमा सहमति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १० घण्टा उडान बन्द भएको अवस्थामा हवाई टिकटमा मनोमानी गरिएको गुनासो भइरहँदा शनिवार नै सर्वपक्षीय छलफल भई हवाई भाडा नियन्त्रणमा ५ बुँदे सहमति जुटेको छ ।
मन्त्रालयका प्रतिनिधि, विमानस्थलका पदाधिकारी, अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरु प्रतिनिधिहरुबीचको छलफलमा भाडा नियन्त्रणबारे सहमति जुटेको हो ।
वायुसेवा सञ्चालकहरुले उडान वृत्त बमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने, ट्राभल एजेन्सीहरुसँग टिकट विक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्रै विक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर सेवा शुल्क मात्र लिने गरी ब्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने जनाइएको छ । साथै टिकट विक्रीमा टीबीए प्रणाली खारेज गरिएको छ ।