काठमाडौं । सञ्चालनमा आएको अढाइ वर्षसम्म नियमित व्यावसायिक उडानले निरन्तरता पाउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ ।
निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भरेका हुन् । काठमाडौंबाट हुँदै आएका अन्तर्राष्ट्रिय उडानहरुले विकल्प छनोट गर्नैपर्ने बाध्यता भैरहवाले बिजनेस पाउने बाटो बनेको छ ।
जजिरा एयरवेजले केही समय उडान गरेर सेवा बन्द गरेको यो विमानस्थलमा अहिले पाँच वटा वायुसेवा प्रदायक कम्पनीले नियमित व्यावसायिक उडान गर्ने पक्का भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी–वे विस्तारका लागि दिनमा १४ घण्टा मात्रै सञ्चालन हुने भएपछि वायुसेवा कम्पनीहरु एकपछि अर्को गरी भैरहवा जान थालेका हुन् । थाइ एयर एसियाले कात्तिक १८ गतेबाट भैरहवा–बैंकक उडान थालिसकेको छ, भने जजिरा एयरवेज र नेपाल वायुसेवा निगम शनिबारदेखि भैरहवाबाट सेवा दिएका छन् ।
फ्लाइ दुबइले आइतबारदेखि उडान गर्दैछ । यस्तै कतार एयरवेज पनि भैरहवाबाट उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति लिने प्रक्रियाको अन्तिम चरणमा छ ।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ । अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेकाले सोही बमोजिम आवश्यक प्राविधिक जनशक्तिदेखि सबैखाले तयारी गरिएको छ ।
प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ ।
प्राविधिक पक्ष व्यवस्थापन गरिएको छ । विमानस्थलमा २१ यात्रुसेवा काउन्टर छन् । उपकरण जडान भई अटोमेसनको काम भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चलायमानसँगै हवाई यातायातको पहुँच र सम्भावनामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्सको आगमनले लुम्बिनी क्षेत्रको पर्यटन क्षेत्रलाई थप प्रवर्द्धन गर्नेछ ।
त्यसका साथै, अन्तर्राष्ट्रिय उडानको सुरुवातले विदेशमा रहेका नेपाली कामदारहरूको लागि पनि ठूलो राहत मिल्नेछ । यस विमानस्थलमार्फत नेपालमा अन्तर्राष्ट्रिय व्यापार र लगानी बढ्न सक्ने आंकलन गरिएको छ ।
अन्तर्राष्ट्रिय व्यापार र निर्यात–आयातका लागि आवश्यक ढुवानी सुविधाहरू उपलब्ध गराएर, यसले व्यापारिक अवसरहरूलाई विस्तार गर्न सहयोग पु¥याउँछ ।
यस विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सुरु गर्नुले नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई विस्तार गर्ने र विश्वव्यापीकरणको प्रक्रियालाई अगाडि बढाउने संकेत गर्दछ ।