News 24 Television
गणेशमानले भोगेका पीडा र कांग्रेस त्यागको त्यो क्षण...

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका कमाण्डर गणेशमान सिंहको ११० औं जन्मजयन्ति मनाइएको छ । सिंहका राजनीतिक आदर्श र प्रजातन्त्रमाथिको दृढताको विवेचनाको विषय बनिरहेको छ । 

प्रजातन्त्रप्रति दृढ विश्वास राख्ने गणेशमान पार्टीभित्रैका विद्रोहीदेखि कसरी आफूलाई स्थापित गराउन सफल भए भन्ने विषय पनि भावी पुस्ताका लागि रोचक विषय हो । 

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनको सर्वोच्च कमाण्डर थिए, गणेशमान सिंह । उनै गणेशमान कांग्रेसको लामो राजनीतिक विरासतमा विभिन्न उतारचढाव व्यहोर्न बाध्य बने । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगका विमतिदेखि धेरै विषयमा प्रष्ट अडान राख्ने गणेशमान सिंहको शनिवार ११० औं जन्मजयन्ति मनाइएको छ । जन्मजयन्ती कार्यक्रममा गणेशमान सिंहलाई स्मरण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको भविष्य नेपालमै छ भन्ने वातावरण बनाउन केन्द्रित हुन अपिल गरेका छन् । 

नेपालमा विदेशको लहर चलिरहेको र देशप्रतिको माया र इमान्दारिताको आवश्यकता औन्याउदै नेताहरुले गणेशमानको योगदानलाई स्मरण गरेका छन् । यस्तै, पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि नेपालको संविधानमा रहेका कमजोरी हटाउदै मुलुकलाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । 

सिटौलाले संविधान बनेको लामो समयपछि देखिएका जटिलतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने जिकिर गरेका छन् । 

गणेशमानको त्यो त्याग

गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको नेतृत्व गर्दै मुलुकमा प्रजातन्त्र पुनर्वहालीमा ठूलो योगदान दिइसकेका थिए । सादगी र स्वच्छ छवीका उनले प्रधानमन्त्रीको अवसर समेत त्याग गरेको बताइन्छ । 

गणेशमान सिंहले आफूले पाएको प्रधानमन्त्री पदमा कृष्णप्रसाद भट्टराईलाई दिएको र उनी राजनीतिक जीवनमा अपमान सहेरै प्राण त्याग गरेको बताइन्छ । सिंहले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेको विषयलाई सर्वोच्चले सदर गरिदिएपछि कांग्रेस छाडेको र प्राण त्याग गर्दा उनी कांग्रेसी नै नभएको इतिहास छ । 

गणेशमानले २०५१ असोज १ गतेबाट औपचारिक रूपमा कांग्रेस छाडेका थिए भने त्यसको तीन बर्षपछि २०५४ असोज २ गते उनको निधन भएको थियो । कांग्रेसका संस्थापकमध्येका सिंहले पार्टी छाडेपछि अपमान सहनुपरेको सिंहकी छोरी डा. मीता सिंहले आफ्नो पुस्तक ‘गणेशमान सिंहको संघर्ष’ मा उल्लेख गरेको पाइन्छ । उसोतः सिंहको परिवार अहिले पनि कांग्रेसमै सक्रिय देखिन्छ । 

गणेशमानका छोरा प्रकाशमान सिंह अहिले सरकारको उपप्रधान एवम् सहरी विकासमन्त्रीको रुपमा कांग्रेसबाट सत्ताको नेतृत्व गरिरहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update