News 24 Television
एमालेले अब सडक तताउने, आतंक मच्चाउने डिजाइनमा पुराना–नयाँ !

काठमाडौं । सत्तामा हुने दल हुन् वा विपक्षमा, केही गर्नु प¥यो भने आन्दोलन नै उनीहरुका लागि प्रमुख विषय बन्ने गरेको छ । नेपालको राजनीतिमा सडकमा जाने र अनेक आरोपका फेहरिस्त पोख्ने चलन जस्तै बन्न पुगेको छ । तर, के दलहरुले गर्ने सडक आन्दोलन जनताका मुद्दामा निहित छन् त ? जनसवालमा सडक तताउछौं भन्दै कुर्लिने दलहरुले साँच्चै न्यायोचित कदमहरु चालेका छन् त ? प्रश्न पेचिलोमात्रै होइन गम्भीर पनि छ  । 

विभिन्न दलहरुले अनेक नाममा आन्दोलनका कार्यक्रम गरिरहन्छन् । सत्तामा हुँदा होस वा प्रतिपक्षमा उनीहरुले किन सडक रोज्छन् ? यो रोचक विषय बनिरहेको छ । 

राजनीतिक दलले आफ्नो सिद्धान्त र मान्यताअनुसार संसदमा  यस्ता मुद्दा लैजान सक्दैनन् र ? जनताको सार्वभौम थलो संसदको प्रयोगभन्दा सडक किन प्यारो ? यसमा अनेक भाष्य निर्माण दल र नेताहरुले गरिरहेका छन् । यस्तोमा दलहरुले गर्ने आन्दोलन र ती आन्दोलनका उद्देश्यमाथि भने विवेचना शुरु गर्नुपर्ने बेला भएको छ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले मंसिर ७ गते जागरण सभाको आयोजना गर्ने भनेको छ । 

काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त आयोजनमा गर्ने भनिएको जागरण सभा किन र के का लागि ? यसको प्रष्ट जवाफ नदिई सडकमा उत्रिने कदमबारे एमालेले विचेचना गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ । एमालेले गर्ने भनेको जागरण सभामा प्रमुख वक्ता वा सरकार सञ्चालन गरिरहेको नेतृत्वले कस्तो जागरण गर्ने हो ? 

त्यो जागरण सरकारको कामबाटै गर्न सकिन्न ? यस्ता तमाम प्रश्नहरु अनुत्तरित छन् । तर, दल र नेताहरु यसतर्फ आकर्षित देखिन्छन् । यहि कारण हुनसक्छ, एमालेले जागरण सभालाई भव्य बनाउन निर्देशन दिइसकेको छ । 

एमालेले जागरण सभा गर्दै गरेको स्थितिमा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले केहि समय पहिले खबरदारी सभाको आयोजना ग¥यो । 

संसदमा कमजोर अंकगणितसहित रहेको माओवादी केन्द्रले यस्तो आयोजना गर्नुलाई अन्यथा लिन सकिने स्थिति थिएन्, किनकी संसद बोलाउन समावेदन हाल्न विपक्षी सबै मिल्दा पनि आवश्यक संख्या नहुनु र आफ्नो आवाजलाई पु¥याउन सडकको प्रयोग सामान्य ठानियो । तर, माओवादीले ७५३ वटै पालिकामा फेरि खबरदारीसभाको आयोजना गर्ने भनि शनिबार नै प्रचण्डले उद्घोष गरिसकेका छन् । प्रचण्डले सबै पालिकामा खबरदारीसभाको आयोजना गर्ने र यस्तो सभाबाट सरकार आत्तिने बताइरहेका छन् । 

प्रचण्डले यस्तो जिकिर गरिरहँदा उनीहरुले सरकारका कामकारबाही र प्रत्यक्ष निर्वाचित कार्यकारीको माग राख्ने बताइरहेका छन् । तर, सडकमा यसरी आन्दोलनमाथि आन्दोलन र प्रदर्शन चल्न थालेपछि नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले अराजकता निम्तिने चिन्ता व्यक्त गरेका छन् । भ्रष्टाचार र घुस खाने प्रतवृत्तिले यस्ता संकट आउने उनको दाबी छ । 

अन्य दल पनि आन्दोलनमै

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पार्टी सभापतिविरुद्ध प्रतिशोध साँधिएको भन्दै सडकमा प्रदर्शन गरिरहेको छ । रास्वपाको आन्दोलनको औचित्यमाथि अनेक प्रश्न उठेपनि उनीहरुले आन्दोलन छाडेका छैनन् । तर, आन्दोलनप्रति सबै नेताहरु एकमत भने देखिन्नन । तर, बाध्यताको आन्दोलनमा नेताहरु सहभागी भने भइरहेका छन् । 

अझं रास्वपामा गज्जबको दृश्य देखिन थालेको छ । आन्दोलनको पक्षमा माहोल बन्न नसकेपछि पार्टी कार्यालयमा आन्दोलनको माग गर्दै अर्को आन्दोलन चलाइएको छ । 

प्लेकार्डसहित बसेका प्रदर्शनकारीहरुले रविको पक्षमा कडा आन्दोलनको माग गरेका छन् । जुन विषय रास्वपामा देखिएको दुईधारको एकधार त्यसतर्फ लागेर पार्टीलाई अर्को बाटोमा लैजाने तयारीमा जुटेको आरोप छ । यस्तै रास्वपाजस्तै अन्य दलहरुले समेत सडक आन्दोलन गरिरहेका छन। राप्रपा लगायतका दलहरुले गर्ने सडक आन्दोलनले माग्ने एजेण्डा र मुद्दा विभिन्न प्रकृतिका छन् । तर, के यी सबै आन्दोलन जायज र आवश्यकताका आधारमा गरिएका हुन् ? प्रश्न र जनतामा आक्रोश भने देखिन्छ । 

कुनै समय बन्द हड्ताल र आन्दोलनले थिलोथिलो बनेको मुलुक विस्तारै आन्दोलनबाट पछि हटेको अनुभूति हुन थालेको बेला दल र नेताहरुले पुरानै शैली पछ्याउन थालेपछि फेरि मुलुक बन्द हड्तालतर्फ हेलिने त होइन भन्ने चिन्ता समेत बढ्न थालेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update