काठमाडौं । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त ४४ पदको निर्वाचनका लागि राजनीतिक दलहरुले तयारी तीब्र पारेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन हुन लागेको सबै ठाउँमा दलहरु उम्मेदवार टुंग्याउने अन्तिम कसरतमा छन् ।
आगामी मंसिर १६ गते हुने तय भएको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले राजनीतिक दलहरु आ–आफ्नो पार्टीका उम्मेदवार टुंग्याउने अन्तिम कसरतमा छन् ।
दुई जिल्ला समन्वय समिति प्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, एक नगरपालिका प्रमुख र २ उपप्रमुख र ३४ वडाअध्यक्ष पदमा उपनिर्वाचत हुँदैछ । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले धेरैजसो स्थानको उम्मेदवार तय गरिसकेका छन् । ती दलहरुले पालिका स्तरीय समितिबाट जिल्ला र जिल्लाबाट प्रदेशमा सिफारिस भई उम्मेदवार छनोट गरिरहेका छन् ।
ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुख, मोरङ्को ग्रामथान, दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड, बाजुराको स्वामी कार्तिक खापर र रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको पदमा उपनिर्वाचन हुँदैछ । यस्तै, काठमाडौं जिल्लामा कीर्तिपुर नगरपालिका प्रमुख र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि कांग्रेसको तयारी
सत्तारुढ नेपाली कांग्रेस उपनिर्वाचन हुन लागेको सबै स्थानको उम्मेदवार छनोटको अन्तिम कसरतमा छ । केही ठाउँमा उम्मेदवार तय गरिसकेको कांग्रेसले बाँकी स्थानमा पनि उम्मेदवार छनोटको लागि केन्द्रदेखि नै छलफल जारी राखेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको उपनिर्वाचन संयोजन समितिले प्रदेशगत रुपमा छलफल गरिरहेको जनाएको छ ।
कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बलराम सरदार, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा झलकबहादुर भण्डारी, दोलखाकोे गौरीशंकर गाउँपालिका उपाध्यक्षमा पासाडिकी तामाङ र जाजरकोट नलगाडको उमप्रमुख पदमा इन्द्रा चन्द सिंहलाई उम्मेदवार तय गरेको छ ।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा भने नगरसमितिले कृष्णमान डंगोलसहित ११ जनाको नाम सिफारिस गरेको हुँदा अन्तिम टुंगो लागेको छैन ।
नेकपा एमालेको उपनिर्वाचन तयारी
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि उपनिर्वाचन तयारी तीब्र पारेको छ । उपनिर्वाचन प्रयोजनकै लागि शनिवार पार्टी सचिवालय बैठक बोलाइएको छ । एमालेले कीर्तिपुरको मेयर पदमा डा. सुरेन्द्र मानन्धर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा शेर्पा र पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
नेकपा माओवादी केन्द्रको उपनिर्वाचन तयारी
नेकपा माओवादी केन्द्रले पनि उपनिर्वाचनको उम्मेदवार छनोट प्रक्रियालाई तीब्र पारेको छ । माओवादी केन्द्रले आफूले यसअघि जितेको पद सुरक्षित गर्दै अन्य स्थानमा पनि जित हासिल गर्ने गरी नेकपा विप्लव, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुसँगको छलफल जारी राखेको छ ।
रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष यसअघि माओवादीले जितेको थियो । कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रा.डा.शिवशंकर महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा निमलेकी शेर्पा डोल्मा र मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने तयारी माओवादीको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपनिर्वाचन तयारी
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकाले सडक आन्दोलनमै रहेको रास्वपाले उपनिर्वाचन तयारीका लागि भन्दै शनिवार केन्द्रीय समितिको बैठक बोलाएको छ ।
उसले उपनिर्वाचन र सडक संघर्षको कार्यक्रम सँगसँगै लैजाने गरी योजना बनाउँदैछ । रास्वपाले अहिलेसम्म कुनै पनि ठाउँमा उम्मेदवार तय गर्न सकेको छैन । पहिलो पटक स्थानीय तहमा भाग लिन लागेकोले रास्वपालाई चुनौति छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले पनि स्थानीय तहको उपनिर्वाचनका लािग उम्मेदवारको नाम कात्तिक समान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
दैलेखको महाबु र दोलखाको गौरीशंकर गाउँपालिकामा ७९ को स्थानीय तह निर्वाचनमा पराजित भए पनि प्रतिष्पर्धी मत ल्याएको थियो । स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न साना ठूला २५ दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन् ।