काठमाडौं । पृथ्वीको तापक्रम सन् १८५० देखि प्रति दशक औसत ० दशमलव ११ डिग्री फारेनहाइटले बढेको छ । यसरी कुल मिलाएर भन्नु पर्दा २ डिग्री फारेनहाइटले बढेको छ । साथै सन् १९८२ देखि तापक्रम दर तीन गुणा भन्दा बढिले बढ्दै गएको छ ।
विभिन्न अध्ययनहरुले गर्मीको प्रभाव थप भयावह हुने प्रक्षेपण गरिरहेका बेला जलवायु परिवर्तनले नेपाललाई कसरी प्रभावित बनाइरहेको छ त ? कतै नेपाल जलवायु परिवर्तनकै असरले प्रताडित हुने त होइन ? प्रभाव न्यूनीकरणका लागि सरकार र विश्व समुदायसँग प्रभावकारी योजना छन् त ?
पृथ्वीमा उत्सर्जन भइरहेको हरितगृह ग्यासको मात्रा बढेसंगै यसको प्रत्यक्ष असर विश्वव्यापी तापमान वृद्धिमा पर्न थालेको छ । पछिल्ला केहि वर्षयता विश्वभरको तापक्रममा भएको वृद्धिको असरका रुपमा धेरै पानी पर्ने वा पर्दै नपर्ने, हिमालमा हिउँ घट्ने, गर्मी बढ्ने जस्ता प्रत्यक्ष वा अपत्यक्ष असरहरु देखिन थालेका छन् ।
जलवायु परिर्वनको असर विश्वभरमा नै देखिदा नेपाल पनि यसबाट जोगिन सकेको छैन । नेपालमा पनि प्रत्यक्ष अनुभव गर्नेगरी नै जलवायु परिर्वनको असर देखिन थाली सकेको छ । तापक्रममा आएको वृद्धि, जाडो गर्मी महिना शुरु हुने र सकिने औसत समयावधि यताउता हुनु पनि जलवायू परिवर्तनका कारण नेपालमा देखिन थालेका समस्या हुन् ।
तापक्रममा आएको वृद्धिकै कारण अहिले नेपालका हिमालहरुमा हिँउ पग्लन थालेको छ । कतिपय स्थानमा हिमालहरु काला पत्थरमा समेत परिणत हुन थालिसकेका छन् ।
यसकै असरका कारण गत असोज ११ र १२ गते नेपालमा नसोचेको अविरल वर्षा हुँदा आएको बाढीपहिराले ठूलो जनधनको क्षति भयो । काठमाडँौँकै उद्धाहरण हेर्ने हो भने विगतका वर्षहरुमा यतिबेला महशुष हुनेगरी चिसो हुन्थ्यो । तर यसपटक पहिलेजस्तो चिसोको महशुष नभएको काठमाडौंवासी बताउँछन् ।
गत वर्ष नेपालमा औसत अधिकतम तापक्रम २७ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो । जुन वार्षिक अधिकतम तापक्रमभन्दा शुन्य दशमलव ६ सेल्सियसले बढी हो ।
त्यस्तै औसत न्यूनतम तापक्रम चाहिँ १५ दशमलव ६ सेल्सियस देखियो जुन वार्षिक सामान्य न्यूनतम तापक्रमभन्दा ० दशमलव ५ प्रतिशतले बढी थियो । नेपालमा मनसुन सकिएसंगै विस्तारै तापक्रममा कमी आउँने र जाडो बढ्दै जाने गर्दछ । तर यसपटक त्यस्तो भइरहेको छैन ।
तापक्रम वृद्धीको असरका कारण नेपालमा हिमाली क्षेत्रमा तीव्र रफ्तारमा हिमनदी पग्लिएको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसले नेपाल भ्रमणका क्रममा विश्वकै ध्यान आकृष्ट गरेका थिए । राष्ट्रसंघले नेपालमा पनि जलवायु परिवर्तनका घातक असरहरू देखिन थालेको भन्दै चिन्ता समेत व्यक्त गरेको थियो ।
जलवायु परिर्वनको कारकका रुपमा देखिएको हरितगृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी अंश चीनको देखिन्छ । नेपालमा पछिल्लो वर्षहरुमा हरितगृह ग्यास बढ्दै गएपनि खुद हरितगृह ग्यास उत्सर्जन भने घट्दै गएको छ ।
नेपाल हरित ग्यास उत्सर्जन कम गर्ने मुलकमा परेपनि भारत र चीनबाट उत्सर्जन हुने भारी मात्रामा हरित ग्यासको असरको चपेटाबाट नेपाल जोगिन सकिरहेको छैन ।
हालै पर्यावरण मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघको एजेन्सी यूएन–ह्याबिट्याटले सार्वजनिक गरेको प्रतिवेदनका अुनसार सन् २०४० सम्ममा विश्वभरको दुई अर्ब बढी शहरी जनसंख्याले कम्तिमा शुन्य दशमलव ५ डिग्री सेल्सियस अतिरिक्त गर्मी भोग्नु पर्ने प्रक्षेपण गरेको छ ।
यसैबीच कात्तिक २६ देखि मंसिर ७ गतेसम्म अजरवैजानको बाकुमा जलवायू परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीका पक्षधर राष्ट्रहरुको २९औँ सम्मेलन कोप–२९ हूँदैछ । जलवायु परिवर्तन गराउन नगन्य भूमिका खेलेको नेपाल लगायतका विकासोन्मख राष्ट्रहरूलाई जलवायु परिवर्तनका कार्यक्रम सञ्चालनका लागि आवश्यक लगानीका लागि धनी राष्ट्रहरूले जलवायु वित्तीय दायित्व बढाउनुपर्ने भन्दै विगतका कोपमा जस्तै नेपालले यसपकट पनि आवाज उठाउने तयारी गरेको छ । कोप २९ सम्मेलनमा राष्ट्रपति रामचन्दै पौडेलको नेत्तृत्वमा नेपाल सहभागि हुँदैछ ।