News 24 Television
सीआईवीको नियन्त्रणमा रवि लगायत आवद्ध २२ कम्पनीका फाइल 

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने माथि संगठित अपराध, सहकारी ठगी र सम्पति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट ३ पटक म्याद थप गरिसकेको छ । तेस्रोपटक थपिएको १० दिनको म्याद शनिबार सकिएपछि आइतबार पुनः लामिछानेलाई अदालतमा लगेर म्याद थप्ने प्रहरीको तयारी छ । प्रहरीले अनुसन्धान गरेका यी तीन मुद्दामा लामिछाने दोषी करार भए उनलाई कति सजाय हुन्छ ? 

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने माथि प्रहरीले अहिले सहकारी ठगी, संगठित अपराध र सम्पति सुद्धिकरणमा अनुसन्धान गरिरहेको छ । 

प्रहरीले यी तीन मुद्दामा सहकारी ठगी २४ दिन, संगठित अपराध ६० दिन र सम्पत्ति सुद्धिकरणको मुद्धामा ९० दिनसम्म आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

प्रहरीले तीनवटै मुद्दामा अनुसन्धान गरिरहेकाले उनलाई काँस्की अदालतको अनुमतिमा अधिकतम ९० दिनसम्म अनुसन्धानका लागि थुनामा राख्न सक्ने देखिन्छ ।  

दोषी ठहरिए के हुन्छ ? 

सरकारले प्रतिसोध साँधेर पार्टी सभापति पक्राउ गरेको भन्दै रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकले सरकारको आलोचना सहित सडकसंघर्ष गरिरहेका छन् । तर उनीहरुको आन्दोलन र प्रदर्शनलाई वेवास्ता गर्दै सरकारले अनुसन्धानलाई निरन्तरता दिइरहेको छ । 

सहकारी ठगी मुद्दा प्रमाणित भए लामिछानेलाई एक बर्ष कैद र एक लाख रुपैयाँ जरिबानादेखि बढीमा १० वर्षसम्म कैद हुन सक्छ । यसमा सहकारी ठगीसँगै संगठित  अपराधमा पनि लामिछाने दोषी देखिए उनले पाउने सजाय अझै बढ्छ । 

संगठित अपराध प्रमाणित भए प्रमाणित कसुरमा ५० प्रतिशतदेखि डेढ गुणासम्म थप सजाय हुन सक्ने कानुनी व्यवस्था छ । यसमा उनी सम्पत्ति शुद्धिकरणको मुद्दामा समेत दोषी ठहरिए सजाय थप बढ्नेछ । 
 
२२ कम्पनीका फाइल सीआईबीको नियन्त्रणमा 

अनुसन्धानलाई तीव्रता दिने क्रममा सिआईबीले बिहिवार जिबी राई, रवि लामिछाने र छवि जोशी लगायतका व्यक्ति संलग्न २२ कम्पनीका सबै फाइलहरु नियन्त्रणमा लिएको छ । 

यी कम्पनीहरुका फाइलको अनुसन्धानबाट समेत थप तथ्यहरु पाउन सकिने सीआईबीको विश्वास छ । त्यसैले रविमाथिको संकट झनझन बढेर जाने देखिएको छ । आइतवार काँस्की प्रहरीबाट छुटकारा पाएपनि रविको हिरासत बसाई सकिन्न । 

यदि आइतवार अदालतबाट म्याद थपिए सोही थपिएको समय अवधिभित्रै उनलाई रुपन्देही पठाउने तयारी प्रहरीको छ । तर म्याद थप भएन भने अदालत परिसरबाटै लामिछानेलाई पक्राउ गरी  जिल्ला प्रहरी कार्यालय रुपन्देही लैजाने प्रहरीको तयारी छ  । 

कार्तिक ८ गते बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा पुगेको बचत अपचलनमा पनि लामिछाने संलग्न भएको भन्दै रुपन्देही जिल्ला अदालतले उनी माथि पनि पक्राउको अनुमति दिएको छ । 

यो बाहेक काठमाडौं स्वर्णलक्ष्मी, चितवन साहारा र वीरगन्जको सानो पाइला सहकारीमा बचत अपचलन भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसैले लामिछाने तत्काल प्रहरी हिरासतबाट मुक्त हुने सम्भावना कमै देखिन्छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update