काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीसमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् । संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले न्यायाधीसद्वयको नााम अनुमोदन गरेको हो । निरौला र पाण्डेको कार्ययोजना र अवधारणा सुनिसकेपछि समितिले नाम अनुमोदन गरेको हो ।
संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीसमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको हो । समितिको सुुनुवाईका क्रममा प्रस्तावित न्यायाधीसद्वयले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।
नेपालको संविधान बमोजिम स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका अवधारणा तथा मूल्य,मान्यतालाई आत्मासात गर्दै छिटो, छरितो एवं गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा आफू प्रतिवद्ध रहेको निरौलले बताए । न्याय प्रशासनसँग सम्बन्धित कार्ययोजना नेपालको न्यायपालिकाको पञ्च वर्षीय रणनीतिक योजना तथा संसदीय सुनुवाईको क्रममा प्रधानन्यायाधीशले पेश गरेको कार्य योजना भन्दा भिन्न नभएको उनले स्पष्ट गरे ।
सर्वोेच्चका प्रस्तावित न्यायाधीस पाण्डेले पनि स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको प्रत्याभुति सुनिश्चित गरी न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने कार्यमा समर्पित रहने संकल्प गरेका छन् ।
स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व भएको भन्दै उनले गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
निरौला र पाण्डेले न्यायाधीस भएपछि गर्ने आफ्नो कार्ययोजना समितिसमक्ष पेश गरेपछि समितिले उनीहरुको नाम अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए ।
संसदीय सुनुवाई समितिबाट अनुमोदन भएका निरौला र पाण्डेलाई अब राष्ट्रपति रामचन्द्र पौडेलले न्यायाधीस नियुक्त गर्नेछन् । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।