रुपन्देही । मूल्य अभिबृद्धि र आयकर छलीको आशंकामा आन्तरिक राजस्व कार्यालय, भैरहवाले रुपन्देही र पश्चिम नवलपरासीका ७ दर्जन बढी वस्तु तथा सेवाको कारोबार गर्ने फर्ममाथि अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा बिक्रि बिल मात्रै काट्ने तर खरिद बिल पेस नगर्ने फर्म धेरै भेटिएका छन् ।
बस्तु तथा सेवा उपलब्ध गराउने तर फर्म दर्ता गरेर कमिसनमा विलबिजक जारी गर्ने र राजस्वमा झुट्टा विवरण बुझाई कर छली गरेको आशंकामा रुपन्देही र पश्चिम नवलपरासीका ८९ फर्ममाथि अनुसन्धान सुरु भएको छ ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने नवलपरासी र रुपन्देहीका शंकास्पद फर्महरुमाथि अनुसन्धान सुरु गरेको हो । यस्ता फर्ममाथि करिब तीनमहिना यता अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेको छ ।
अनुसन्धानको दायरामा आएका फर्महरुको खरिद बिल भए विक्री विल नहुने र विक्री बिल भए खरिद बिल नहुने गरेको भेटिएको छ । कयौं फर्मले खरिदविक्री नै नभएपनि राजस्वमा विल जारी भएको विवरण पेस गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस्ता फर्मले मूल्यअभिबृद्धि कर (भ्याट) र आयकर छल्न राजस्व कार्यालयमा भने नक्कली बिल मिलाएर कागजात पेस गर्ने गरेका छन् । कारोबार र बिल विजक शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरिएको राजस्व कार्यालयले जनाएको छ ।
राजस्वले शंकास्पद फर्मको नाम गोप्य राखेर बैंक स्टेटमेन्ट, कारोबार विवरण, विल भौचर, राजस्वमा पेस गरिएको विवरण जम्मा गरेर अनुसन्धान गरिरहेको छ । खासगरी खरिदविक्री बिल शंकास्पद देखिनेमा कवाड व्यवसायी बढी छन् ।
अनुसन्धानका क्रममा केही फर्महरुले कागजात पेस गरे पनि कतिपय राजस्वको सम्पर्कमै छैनन् । सम्पर्कमा नआएकाहरुको खोजीगर्ने क्रममा फर्मसम्म पुग्दा बन्द अवस्थामा भेटिने गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
गत आर्थिक वर्षमा राजस्वले २९ वटा करदाताको ४३ वटा फर्मको अनुसन्धान गरेको थियो । यसबाट कर छली गरेको पाइएपछि ३ करोड ८० लाख मूल्य अभिबृद्धि कर र ३ करोड ५७ लाख आयकर निर्धारण गरिएको थियो ।
चालु आर्थिक वर्षमा पनि कयौं करदाताको शंकास्पद कारोबार देखिएपछि अनुसन्धानलाई तिव्रता दिइएको हो । रुपन्देही र पश्चिम नवलपरासी भारतसँग सीमा जोडिएका जिल्ला भएकाले सीमा क्षेत्रमा बसेर अवैध कारोबार गर्ने र कर छली गर्ने बढिरहेका छन् ।
कतिपय व्यापारीले कर छल्नकै लागि आर्थिक प्रलोभन देखाएर गाउँका सोझासाझा, गरिब तथा विपन्नको नाममा फर्म दर्ता गर्ने र कर तिर्ने बेला फरार हुने गरेको समेत पाइएको छ । कर छलिका मुख्य कारोबारी फरार हुँदा निम्नवर्गीय नागरिक समेत अनुसन्धानको फन्दामा पर्ने गरेका छन् ।