कास्की । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपनि पर्यटकीय सिजनमा अपेक्षा अनुसारको पर्यटक नआएपछि भरिभराउ हुनुपर्ने पोखराका होटेलहरू रित्ता–रित्ता छन् ।
खासगरी पोखरा आउने प्रमुख राजमार्ग पृथ्वीराजमार्ग निर्माणको चरणमा रहेकाले सडक मार्ग भएर पोखरा आउने पर्यटकहरूको सङ्ख्या घट्दो छ । पर्यटकीय सिजनमा पनि पोखरामा उल्लेख्य पर्यटकहरू आउन नसकेपछि व्यवसायी चिन्तित छन् ।
यो मौसमलाई पर्यटकीय मौसमका रुपमा समेत लिइन्छ । यो मौसममा देखिने हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने गर्छ । त्यसैले पनि यस समय घुमघाममा निस्किनेहरुको संख्या अन्य समयको तुलनामा बढी नै हुन्छ । तर पर्यटकीय राजधानी पोखरामा पर्यटकीय सिजन सुरु भएपनि पर्यटकको चाप बढ्न सकेको छैन ।
कोभिड पछाडि सिजनमा पनि पर्यटक उल्लेख्य मात्रामा नआउँदा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । सामान्यतया अक्टोबर र नोभेम्बर महिनालाई पर्यटकीय सिजन मानिन्छ । विगत वर्षहरूमा ९० देखि ९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ५० देखि ६० प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको छ ।
पोखराको पर्यटनलाई पुरानै लयमा ल्याउन विभिन्न प्याकेजहरूको घोषणा, छुटको व्यवस्था तथा पर्यटक आकर्षणका कार्यक्रम गरिरहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।
पोखरामा अहिले साना ठूला गरी ५०० भन्दा बढी होटल, लज र रेस्टुराँ छन् । यिनमा करिव ८० अर्बभन्दा बढी लगानी भएको छ । यी होटलमा लाखौँले रोजगारी समेत पाएका छन् ।
कोभिड अगाडि सिजनमा पोखराका होटेलहरू प्राय भरिभराउ हुन्थ्यो । कोभिड पछाडि बाटोघाटो र अन्य कारणले गर्दा पर्यटकको संख्यामा निकै कमी आएको छ । सिजनको समयमा समेत पर्यटकहरू न्यून आउँदा होटल सञ्चालनमा समेत गाह्रो भएको ल्यान्डमार्क होटलकी सञ्चालक पार्वती पाण्डे बताउँछन् ।
पोखरा आउने राजमार्गको पुननिर्माणको कार्य अझै सम्पन्न हुन सकेको छैन भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर्ड फ्लाइट बाहेक अन्य फ्लाईट हुन सकेको छैन । जसका कारण अन्तर्राष्ट्रिय पाहुना आउन सकेका छैनन् ।
डेङ्गी, राजनीतिक आन्दोलन तथा बिग्रँदो राजमार्गका कारण पोखरामा सिजनमा पनि पर्यटक न्यून देखिएका पर्यटन व्यवसायीको बुझाइ छ ।
डेङ्गि सचेतनाको कमी र राजमार्ग निर्माणमा ढिलाइका कारणले पर्यटकमा कमी आएको छ, यसमा स्थानीय निकाय देखि केन्द्र सरकारले उचित कदम चाल्नुपर्ने पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल बताउँछन् ।
पोखराको पर्यटन क्षेत्र र होटलमा ठूलो लगानी छ । यदि राज्यले यस विषयमा बेलैमा नसोच्ने हो भने पोखराको पर्यटन क्षेत्रको अरबौंको लगानी डुब्ने निश्चित छ ।