काठमाडौं । अन्तर्राष्ट्रिय उडानहरूको ‘सेड्युल’ अस्तव्यस्त बनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारबाट दैनिक १० घण्टा बन्द भएको छ ।
विमानस्थल बन्द गर्दा प्राधिकरणको २ अर्ब आम्दानी नोक्सान हुने देखिन्छ । ट्याक्सी वे निर्माणकै लागि विमानस्थल बन्द गर्नुपर्ने अवस्था नरहेको जानकारहरू बताउँछन् । नियोजित रुपमा आफ्ना कमजोरी लुकाउन खोजेको आशंका कतिपयको छ । अझ, डर लाग्दो पक्ष त भाडामा कालोबजारी र ब्रह्मलुट शुरु भएको छ ।
पर्यटन सिजनमा मुलुकको पूर्णक्षमतामा सञ्चालन भइरहेको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएपछि सरकारको आलोचना शुरु भएको छ । त्यसमा पनि यात्रुहरू भाडादरमा ठगिएको विषयमा पनि चर्चा शुरु भएको छ ।
यता, नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले मनोमानी गर्दै मनलाग्दी निर्णय गरेको आरोप लागेको छ । तर, यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मौन बस्नुले पनि आशंका बढाएको छ ।
उडानको चाप पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गराएर दुई विमानस्थल ठिकठाक छन् भन्ने देखाउन सरकारले गलत नियत राखेको भन्दै सांसदहरूले विरोध जनाएका छन् ।
दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न एकाधबाहेक विमान कम्पनीहरु तयार नहुनुका पछाडि प्राविधिक कमजोरी छन् । तर, त्यसलाई वेवास्ता गर्दै नागरिक उड्डयन प्राधिकरण नेतृत्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियोजित रुपमै १० घण्टा बन्द गराएर आफ्ना कमजोरी लुकाउन खोजेको आशंका कायमै छ ।
यता महानिर्देशक अधिकारी भने विमानस्थल मर्मत गर्ने बहाना भन्दा पनि बाध्यता रहेको दाबी गर्छन् ।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेसँगै विश्वमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्व बढ्ने उनको तर्क छ ।
विमानस्थल पार्किङ, ट्याक्सी वे, ह्याङ्गरजस्ता संरचना निर्माण गर्न भन्दै अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गर्नु जानकारहरूले स्वभाविक मान्न सकिरहेका छैनन् । किनकि यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रन–वे निर्माण गर्दा रातिको समयमा ५ देखि ७ घण्टा मात्रै बन्द गरिएको थियो । विमानस्थल बन्द गर्दा प्राधिकरण २ अर्ब आम्दानी नोक्सानमा जान्छ ।
प्राधिकरणले भने ट्याक्सीवे निर्माण गर्दैमा विमानस्थल बन्द गर्नुपर्ने अवस्था नरहे पनि प्राविधिक पक्षहरू जोडिएको बताइरहेको छ । नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्न टिकट मूल्य दोब्बर÷तेब्बरसम्म पुगेको छ भने नेपाल आउने पर्यटकहरू धमाधम टिकट रद्द गरिरहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
श्रमका लागि अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्ने श्रमिकहरूले निकै महँगो दरमा टिकट लिनुपर्ने बाध्यता छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्ने सरकारको निर्णयले देशको अन्तर्राष्ट्रिय छवि र पर्यटन व्यवसायमै ठूलो असर पार्ने निश्चित छ । अझ, अन्तर्राष्ट्रिय उडान निकै महङ्गो बन्ने भएकाले नेपाल आउने र विदेशिने सबै यात्रुलाई पर्ने असरप्रती गम्भीर बन्दै प्राधिकरणको हचुवा निर्णय सच्याउन सरकार अग्रसर हुन जरुरी छ ।