काठमाडाैँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रश्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो ।
योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए । उनले भने, ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाई गर्दा योग्यता, क्षमता र अनुभवसमेतको आधारमा सोही नियमावली नियम २६ को उपनियम ५ बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तीको लागि अनुमोदन गर्ने भनि आजको बैठकले निर्णय गरेको व्यहोरो जानकारी गराउँदछु ।’
संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । सुनुवाई क्रममा प्रस्तावित न्यायाधीश निरौलाले आफूले संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताएका थिए । उनले न्यायका लागि काम गर्दा कुनै आग्रह वा पूर्वाग्रह नराख्ने र न्याय सम्पादन गर्दा अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग नछोड्ने बताए ।
प्रस्तावित अर्का न्यायाधीश पाण्डेले न्यायको अनुभुति हुनेगरी न्याय सम्पादन गराउनका लागि न्यायिक सदविवेकको प्रयोग गर्ने बताए । स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व भएको भन्दै उनले त्यसका लागि इमान्दारी, निष्ठा र लगनशीलता साथ न्याय सम्पादन गर्ने बताए । पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्न आफूले सक्दो पहल गर्ने पनि बताए ।