काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई ५ वर्ष कैद सजाय सुनाएसँगै उनी प्रहरीको खोजी सूचीमा थिए । मोबाइल बन्द गरेर फरार रहेको र प्रहरीले पक्राउका लागि खोजी गरिरहेको बताएका बेला मनाङेले भने विज्ञप्ती नै जारी गरेका छन् ।
गण्डकीका पूर्वमन्त्री समेत रहेका मनाङेले फैसलाको पूर्णपाठ आएपछि आफै अदालतमा उपस्थित हुने भन्दै विज्ञप्ती जारी गरेका छन् । शुक्रबार जारी विज्ञप्तिमा उनले आफ्ना कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएको तर अदालतबाट फैसलाको पूर्ण पाठ तयार नभइसकेको जानकारी पाएको बताएका छन् ।
आफू फरार नरहेको व्यहोरा दर्शाउँदै उनले पूर्णपाठ आएपछि बाँकी कैद भुक्तानका लागि आफै अदालतसामु हाजिर हुने बताएका हुन् । मोबाइल बन्द गर्नुको कारण भने सञ्चार माध्यमहरुबाट आइरहेका फोन कल छल्नु रहेको उनले खुलाएका छन् ।
ज्यान मार्ने उद्योग मुद्दामा यसअघि पाटन उच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो, सर्वोच्चले सोही फैसलालाई सदर गरेको हो । उनले विगतमा सोही मुद्दामा २ वर्ष ८ महिना कैद सजाय काटिसकेकाले अब बाँकी २ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेछ ।