
नयाँदिल्ली । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो डा.ल्हारक्याल लामाले भारतको नयाँ दिल्लीमा भएको प्रथम एसियाली बौद्ध शिखर सम्मेलन २०२४ लाई सम्बोधन गरेका छन् । भारत सरकारको संस्कृति मन्त्रालयले अन्तर्राष्ट्रिय बौद्ध महासंघ (आइबिसि) सँगको सहकार्यमा आयोजना गरेको २ दिने सम्मेलनमा उपाध्यक्ष लामाले बुधबार साँझ सम्बोधन गर्दै बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा जन्मेका भगवान् बुद्धको उपदेशले नै एसियालाई बलियो र एकताबद्ध बनाउने बताएको लुम्बिनी विकास कोष सल्लाहकार विनोद परिवारले जानकारी दिए।
उपाध्यक्ष डा. लामाले बुद्ध शिक्षा मार्फत एसियाले आफूलाई विश्वमा अगुवाइ गर्न सक्ने बताएका छन् । उनले बुद्ध धर्मको वास्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोड्न सकिने बताए । उनले एसियन बुद्धिस्ट समिट जस्ता कार्यक्रमहरूले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्पराहरूको बारेमा छलफल गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
एसियाली मुलुकहरूमा बुद्ध धर्म र बौद्ध शिक्षाको विभिन्न तरिकाले अनुसरण भइरहेको बताउँदै डा।लामाले एक चक्रवर्ती राजाले धम्म शिक्षाको माध्यमबाट संसाभर राज गरेको समेत स्मरण गरे । बौद्ध ग्रन्थहरूले ‘एसिया’ शब्दलाई पहिचान नगर्ने बताउँदै जम्बुद्वीप र मध्यदेशका चक्रवर्ती राजाले संसारलाई धम्म शासनमार्फत जोडेको उनले बताए ।
अन्तर्राष्ट्रिय बौद्ध महासंघका उपाध्यक्ष समेत रहेका डा लामाले बुद्धका उपदेशका बारेमा भारत सरकार र एसियाका अन्य देशहरूले समेत यस्ता विद्धानहरूको सम्मेलन आयोजना गर्नुपर्ने बताए । उनले आफू लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षका रूपमा सम्मेलनमा सहभागी धर्मगुरु, भिक्षु भिक्षुणी, लामाहरू सहित विभिन्न देशका विद्धानहरूलाई भगवान् बुद्धको जन्मस्थल जन्मस्थल लुम्बिनीका लागि निमन्त्रणा गरे ।