काठमाडौं । मंसिर १६ गते गर्ने भनिएको उपचुनाव नजिकिदैछ । उपचुनावलाई दलहरुले आफ्नो शक्ति परीक्षणको रुपमा लिएका छन् ।
राजनीतिक स्थिति नै अलमलमा रहेको बेला हुन लागेको यो उपचुनाव दलको हैसियत जाँच्ने माध्यम बनेको छ नै । यि सबै हलचलको परिवेशमा उपचुनावको माहोल कस्तो बन्ला त ?
आगामी मंसिर १६ गते उपचुनाव हुँदैछ । देशभर रिक्त रहेका स्थानीय तहमा हुन लागेको निर्वाचन दलहरुले शक्ति देखाउने माध्यमको रुपमा लिएका छन् ।
पुराना दलप्रति जनताको आक्रोश र नयाँ भनिएका दलहरुले देखाएका व्यवहारकाबीच जनताले कस्तो रुझान प्रदर्शन गर्छन् भन्ने विषय चासोमा छ ।
यस्तोमा देशभर रिक्त रहेका ४४ पद कुन दलले कति जित्ने भन्ने हिसाब शुरु भएको छ । मंसिर १६ मा २ जिल्ला समन्वय समिति प्रमुख, २ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, एक नगरपालिका प्रमुख, १ उपप्रमुख र ३४ वडाअध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।
यसमा उपचुनावको केन्द्रमा छ, कीर्तिपुर नगरपालिका । कीर्तिपुर नगरपालिकामा कांग्रेसले विरासत कायम गर्ने मुख्य चुनौति सामना गर्दैछ भने एमाले राजनीतिक शक्ति आफ्नो दलमा केन्द्रित भएको सन्देश दिन चाहन्छ ।
यता, माओवादी केन्द्र पनि प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचारविरोधी काम र सुशासनको पक्षमा चालेका कदमलाई देखाएर जित दर्ज गर्ने ध्याउन्नमा छ भने रास्वपा लगायतका दलहरु पनि चुनावी मैदानमा जाने तयारीमा छन् ।
चुनावी गठबन्धनको फिक्का नारा
उपचुनावको केन्द्रका कीर्तिपुर देखिएपनि माओवादी केन्द्रलाई एक्ल्याउन कांग्रेस एमालेले एक्लै चुनाव लड्ने प्रतिबद्धता रुकुम पुर्वमा तोड्ने तयारी गरिरहेका छन् ।
घोक्रो फुट्ने गरि एक्लै चुनाव लड्ने कांग्रेस एमालेको ध्यान रुकुम पूर्वमा माओवादीलाई बाहिर ल्याउनकै लागि भएपनि गठबन्धन गर्ने तयारीमा देखिन्छन् ।
केहि समय पहिले सवारी दूर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जसबहादुर सिर्पालीको पनि निधन भएको थियो । यो क्षेत्र माओवादीको पकड क्षेत्र पनि हो ।
यसकारण कांग्रेस एमाले गठबन्धन गरेर भएपनि माओवादीलाई बाहिर ल्याउने प्रयासमा जुटेका छन् । तर, अहिले नै निर्णय भने भइसकेको छैन् । यद्यपी, कांग्रेसले औपचारिक रुपमा निर्णय नै गरेर गठबन्धन नगर्ने भनेको त छ तर भित्रभित्रै तालमेलको माहोल मिलाइरहेको अवस्थामा चुनावी गठबन्धन नगर्ने पक्षमा उभिएका विश्वप्रकाश शर्मा नै उपचुनावको कमाण्डर छन् ।
कांग्रेसको तयारी के छ ?
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी पार्टी केन्द्रको तर्फबाट प्रभावकारी भुमिका निर्वाह हुनेगरी जिम्मेवारी बाँडफाँड लगायतको विषयमा छलफल गरेको छ भने उम्मेदवार जिताउन केन्द्रबाट जिम्मेवारी बाँडफाँटको निर्णय भएको कांग्रेसको भनाई छ ।
यता स्थानीय तहको निर्वाचनको संयोजकको जिम्मेवारी पाएका शर्मा भने पार्टीलाई एकताबद्ध भएर चुनावमा जान अपिल गरिरहेका छन् ।
माओवादी पनि उस्तै
आगामी चुनावमा एक्लै लड्ने भन्दै प्रतिबद्धतामाथि प्रतिबद्धता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्दै आएका छन् ।
पछिल्लो समय सरकारबाट बाहिरिएपछि एक्लै चुनावमा जाने गरि शक्ति आर्जन गर्ने जिकिर प्रचण्डले गरिरहेको देखिन्छ । तर, उपचुनाव नजिकिँदै गर्दा भने उनी मोर्चाबन्दीदेखि गठबन्धनको तयारीमा छन् ।
यता, साना दलहरु नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा पनि यहि मेसोमा छन् भने, विप्लव नेतृत्वको नेकपामा प्रवक्ता खड्ग बहादुर विश्वकर्मासँग त प्रचण्डले लामो समय छलफल नै गरिसकेका छन् । यस्तोमा माओवादी पनि गठबन्धन नगर्ने दाबीबाट चुनावसम्म आइपुग्दा भने विचलित बन्न खोजेको देखिन्छ ।
शक्ति परीक्षण
उपचुनावको नतिजाले दलहरुप्रति जनताको रुझान प्रष्ट हुने अपेक्षा गरिएको छ । सरकारको लोकप्रियता जाँच्ने वा अघिल्ला सरकारमा रहेकाहरुको दाबी परिक्षण गर्ने समय पनि उपचुनाव बनेको छ । यता, नयाँ भनिएका दलहरु पनि स्थानीय तहको उपचुनावबाट परीक्षणमा जानेछन् । तर, उनीहरु चुनावमा जाने नजाने विषयमै अलमलमा देखिन्छन् ।
यता, माधव नेपालनेतृत्वको नेकपा एसले एमाले कांग्रेसबाहेक प्रतिपक्षी दलसँग गठबन्धन गर्न खुला रहेको सन्देश दिइसकेको छ ।
अनेक लफडामा फसेका साना दलहरु उपचुनावमा जालान भन्ने प्रश्न नै मुख्य बनिरहेको बेला ठूला दलहरुले नै शक्ति परीक्षण र प्रदर्शनको मौका पाउने स्थिति बन्दै गएको छ ।