काठमाडौं । मंसिर १६ गते हुने कीर्तिपुर नगरपालिकाको निर्वाचनमा मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले तयारीलाई तीव्र पारेका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका नगरप्रमुख राजकुमार नकर्मी र वडा नंवर एकका वडाअध्यक्ष हिरालाल महर्जन सहित स्वतन्त्रबाट चार नम्बर वडाअध्यक्षमा विजयी बनेका श्याकुमार अधिकारीको मृत्यु भएपछि ति पदहरुमा उपनिर्वाचन हुन लागेको हो ।
यो उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको बिषय बनाउँदै परिणाम आफ्नो पक्षमा पार्न अहिले देखि नै कसरत शुरु गरिसकेका छन् ।
काठमाडौं जिल्लास्थित कीर्तिपुर नगरपालिकाको नगरप्रमुख सहित वडा नम्बर एक र ४ को वडा अध्यक्षका लागि मंसिर १६ गते हुने उप निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् ।
नेपाली कांग्रेस उम्मेद्वार छनोटको चरणमा छ भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले भने उम्मेद्वार टुंङ्गो लगाइसकेका छन् । कांग्रेसबाट नगरप्रमुखको उम्मेद्वार बन्नका लागि ११ जनाको नाम सिफारीस भएको छ ।
यहि ११ जना बाटै पार्टीले उम्मेद्वार बनाउने भएकाले कांग्रेसले जित्ने गरी तयारीमा जुटि सकेको कीर्तिपुर नगरपालिकाका नगर सभापति कृष्णमान डंगोल बताउँछन् ।
गएको निर्वाचनमा कांग्रेसले ३ हजार ५ सय भन्दा बढी मतान्तरले नगरप्रमुखमा जितेको र अहिलेपनि सजिलै कांग्रेसले नै निर्वाचन जित्ने दाबी कांग्रेस नेताहरुको छ । तर नेकपा एमालेका नेताहरु भने अहिले देखि नै निर्वाचनको तयारीमा लागेको बताउँदै आफुहरुले लोकप्रिय उम्मेद्वारलाई अगाडि सारेकाले निर्वाचन एमाले नै जित्ने ठोकुवा गर्छन् ।
एमालेबाट मेयर पदका लागि टिकट पाई सकेका डा. सुरेन्द्र मानन्धरले आफ्नो चाहाना भन्दापनि नगरबासीको चाहनाले उम्मेद्वार बनेको बताए । एमालेको संगठन मजवुत भएकाले आफुले सहजै जित्ने उनी दाबी गर्छन् ।
गत निर्वाचनमा तेस्रो बनेका माओवादी केन्द्रका उम्मेदवार डा. शिवशरण महर्जन पनि आफ्नो जित हुनेमा ढुक्क देखिएका छन् । उनले पनि निर्वाचनको आन्तरिक तयारीलाई तिव्रता दिइरहेका छन् ।
कीर्तिपुर नगरपालिकामा प्रमुख तिन दल मात्रै होइन संघीय संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनको तयारी जोडतोडले गरिरहेको छ । राप्रपाले इन्जिनियर ध्रुवबहादुर महर्जनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । आफुसँग अरुभन्दा फरक र नगरलाई समुन्नत बनाउने विशेष योजना रहेकाले आफ्नो जित सुनिश्चित भएको महर्जनको दाबी छ ।
अन्य दलहरुले निर्वाचनको तयारी गरी प्रचारप्रसारमै जुट्नै लाग्दा सक्दा पनि संघिय संसदको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने अझै उम्मेद्वार चयनको शुरुवाती चरणमै छ भने केही स्वतन्त्र व्यत्तिहरुले पनि मेयर पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।
गत निर्वाचनमा ३० हजार ३ सय २८ मतदाता रहेको कीर्तिपुर नगरपालिकामा २४ हजार ३२ मत खस्दा ९ हजार ४३ मत ल्याई कांग्रेसका उम्मेद्वार नकर्मी विजयी बनेका थिए । तर दलहरुप्रीत छाएको वितृष्णाका कारण यो निर्वाचनमा कस्तो नतिजा आउँछ, सहजै भन्न सकिने अवस्था छैन ।
केहि स्वतन्त्र उम्मेद्वार र रास्वपा सहित पुराना दलहरु निर्वाचनमा होमिने भएकाले अव हुने उपनिर्वाचनमा जसले ९ हजारको हाराहारीमा मत परिणाम ल्याउँछ त्यहि उम्मेद्वारले नै नतिजा आफ्नो पक्षमा पार्ने देखिन्छ ।