News 24 Television
ट्रम्प राष्ट्रपति बन्दा नेपाली कसरी प्रभावित ? विश्वभर कस्तो प्रतिक्रिया ? 

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि विश्व राजनीति तरङ्गित बनेको छ । ट्रम्पसँग राष्ट्रपतिमा प्रतिष्पर्धा गरेकी कमला ह्यारिसले पराजय स्वीकार गर्दै सत्ता हस्तान्तरणको शान्तिपूर्ण वातावरणको कामना समेत गरेकी छन् । तर, ट्रम्पको राष्ट्रपतिय यात्राले विश्वले के पाउला ? यो सर्वाधिक चासोको विषय बनेको छ । 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी बनेपछि विश्वमा ठूला तरङ्ग पैदा हुन थालेका छन् । निर्णय गर्दा जस्तो पनि गर्न सक्ने भनिएका ट्रम्पले अमेरिकामा गर्ने निर्णयले विश्वलाई नै प्रभावित पार्ने गर्छ । 

यसर्थ, ट्रम्प राष्ट्रपति निर्वाचित भएको सन्देश प्रवाह भएसँगै क्रिप्टोकरेन्सीको मूल्यमा भारी बढोत्तरी देखिएको छ भने सुनको भाउ सस्तो बन्न थालेको छ । रेकर्ड ब्रेक गरिरहेको सुनको भाउ सस्तिनु, डलरको भाउ बढ्दै जानु र विश्वका राजनीतिक नेताहरुले दर्शाइरहेको अभिव्यक्तिले पनि उथलपुथल हुने संकेत देखा परिरहेको छ । ट्रम्पको बिजयलाई विपक्षी दलले समेत स्वीकार गरिसकेको छ भने राष्ट्रपतिमा प्रतिष्पर्धा गरेकी कमला ह्यारिसले ट्रम्पलाई बधाई दिदै पराजय स्वीकार गरेकी छन । 

ट्रम्पको विजयलाई धेरै अर्थमा मानिसहरुले व्याख्या गरिरहेका छन भने विश्लेषकहरुले ट्रम्पबाट अमेरिका र विश्वलाई नै खतरा रहेको समेत दाबी गरिरहेका छन् । यसको पछाडी ट्रम्पले अघि सारेका कदमहरुलाई लिने गरिन्छ भने पहिलो कार्यकालमा ट्रम्प ह्वाइटहाउस पुग्दा खुशी भएको रुसमाथि तीनै ट्रम्पले सबैभन्दा कडा प्रतिवन्ध लगाए । 

त्यसैले दोस्रो कार्यकालका लागि ह्वाइटहाउस जाँदै गरेका ट्रम्पमाथि रुसले आँखा चिम्लेर विस्वास गर्न सकिरहेको छैन । तर ट्रम्पले रुस युक्रेन युद्ध अन्त्य गराउछु भन्ने गरेकाले यसप्रति भने पौने ३ वर्षदेखि जारी युद्धका कारण भित्रभित्रै थकित बनिरहेको रुस धेरै आशावादी देखिएको छ ।

ट्रम्पले मेक्सिकोसँगको सीमा पर्खाल लगाउने, अवैध आप्रवासीलाई देश निकाला गर्ने, आप्रवासनलाई निरुत्साहित गर्ने, कर घटाउने, बीमाको दायरा फराकिलो बनाउने, अमेरिकालाई पुन सर्वशक्तिमान बनाउने लगायतका मुद्दा अघि सार्दै निर्वाचन जितेका हुन् । 

अहिले चलिरहेका युद्ध र ती युद्धमा अमेरिकाको सहभागीताबारे समेत भारी कटौतिको बाँचा उनले गरेका छन् । तर, मेक अमेरिका ग्रेट अगेन भन्दै अघि बढेका ट्रम्पले विश्व राजनीतिमा कस्तो प्रभाव पार्लान् ? यसको प्रभाव नेपालमा कस्तो पर्ला ? विविध विषयमा विवेचना शुरु भएको छ ।

विश्वमा पार्न सक्ने प्रभाव

ट्रम्पको विजयबाट धेरै राष्ट्रहरु विभाजित भएका छन् । ट्रम्पको विजयलाई रुसले प्रतिक्रिया दिन अस्वीकार गरेको बताइएको छ भने अमेरिकामा रुसले ट्रम्पलाई जिताउन भुमिका खेलेको आरोप अघिल्लोपटक जस्तै लागिसकेको छ । 

यता, युक्रेन, इजरायलले भने ट्रम्पलाई हतारमा बधाई दिदै सहकार्यको हात अघि सारेका छन् । भारत, चीन लगायतका मुलुकहरुले समानताको आधारमा सम्बन्ध विस्तार गर्ने र परस्पर हितको रक्षा गर्ने गरि अघि बढ्न तयार रहेको सन्देश प्रवाह गरेका छन् । 

प्यालेस्टाइन, लेबनान जस्ता मुलुकले ट्रम्पको विजयले युद्ध रोकिन सक्ने अपेक्षा गरेका छन भने हमास समूहले पनि राहत महशुस गरिरहेको बताइन्छ । तर इरानले भने ह्वाइटहाउसमा जो पुगेपनि त्यसले इरानलाई कुनै मतलव नहुने किशिमको प्रतिक्रिया दिएको छ । 

अमेरिकी सैन्य सहयोगकै भरमा रुससँग भिडिरहेको युक्रेन पर्ख र हेरको स्थितिमा देखिन्छ । यता, ट्रम्पले युद्ध अन्त्यलाई पनि मुद्दा बनाएकाले के गर्छन् भन्ने अहिले नै भन्न सकिने स्थिति छैन, जसकारण विश्व विभाजित बनिरहेको छ । 

अमेरिकाको लगानी भारतमा भित्रिने अपेक्षामा भारत खुशी बनेको छ । भारत र ट्रम्पबीचको सम्बन्ध खास भएकाले पनि यस्तो स्थिति बनेको बताइन्छ । 

चीन भने सशंकित देखिन्छ । पहिलो कार्यकालमा चीनप्रति कडा कर नीति लागू गर्दै व्यापार युद्धको थालनी गरेका ट्रम्पले अहिले के गर्छन् भन्ने नखुलुन्जेल यो रहस्यको विषय बन्नेछ ।

नेपालमा कस्तो प्रभाव पर्न सक्छ ?

ट्रम्पको बिजयले नेपालमा पर्ने प्रभाव भनेको आप्रवासन र छिमेक सम्बन्ध नै हो । ठूलो सामरिक महत्व नभएपनि चीनलाई खुम्चाउने अमेरिकी प्रयासका कारण नेपालले चीनसँग बढाउन खोजेको बीआरआई सम्झौता लगायतका विषय विथोलिन सक्छ । 

अमेरिका–चीन सम्बन्ध कसिलो र राम्रो बन्न नसके नेपालसँग चीनको सम्बन्धमा समेत प्रभाव पर्नेछ भने अमेरिकामा रहेका नेपाली आप्रवासीहरु समेत प्रभावित बन्नेछन् । 

आप्रवासनबारे कडा सुनिने ट्रम्पले देशनिकालाको पक्षमा वकालत गर्दै आएकाले पनि नेपाली पक्ष यसको मारमा पर्ने चिन्ता बढ्दै गएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update