News 24 Television
ओली–देउवाको राजनीतिक संयन्त्र, आलोपालो संयोजन गर्ने सहमति 

काठमाडौं । नेकपा एमाले र कांग्रेसले सत्ता सञ्चालन गर्न भन्दै राजनीतिक संयन्त्र बनाएका छन् । एकएक महिना संयन्त्रको नेतृत्व गर्ने गरी अघि बढेको कांग्रेस एमालेको राजनीतिक संयन्त्रले सत्तारुढ साना दललाई भने उपेक्षा गरेको छ । 

राजनीतिक संयन्त्रको अभ्यास र ठूला दलको व्यवहार किन हेपाह प्रवृत्तिको हुन्छ ?  कांग्रेस एमालेले सरकार सञ्चालनदेखि अन्य काम गर्न भन्दै राजनीतिक संयन्त्र बनाएका छन् ।  

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेत्तृत्वमा बनेको राजनीतिक संयन्त्रले गठबन्धन सरकारलाई बाटो देखाउने काम गर्ने छ भने सरकारसँग समन्वय गर्दै राजनीतिक र सरकारी कामलाई प्रभावकारी बनाउने छ । 

यस्तो संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । 

त्यस्तै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य छन् । ८ सदस्यीय राजनीतिक संयन्त्रमा पहिलो महिना कांग्रेसले नेतृत्व गर्ने र त्यसपछि एमालेले गर्ने बताइएको छ । 

यस्तै कात्तिक २१ अर्थात् बुधवारदेखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गर्नेछन् । 

मिलाप देखाउने प्रयास

सत्ता गठबन्धन दलबीच खटपट चलिरहेको भन्दै चलेका हल्लालाई माथ दिन ओली देउवाले संयन्त्र निर्माण गरेका हुन् । संयन्त्रमा हर्ताकर्ताको रुपमा भने देउवा पत्नी आरजु राणा देउवा नै देखिन्छिन् । 

स्वभाविक रुपले उनको हस्तक्षेपकारी भूमिका देखिनु सामान्य भएपनि ओलीले सत्ता कठिनाईलाई छल्न आरजुलाई नै प्रमुख पात्रको रुपमा अघि सार्न थालेको कतिपयले विश्लेषण गर्न थालेका छन् । उसोतः ओलीको चीन भ्रमणको संयोजन पनि परराष्ट्रमन्त्री समेत रहेकी आरजुले नै गर्नेछिन् । 

ओली–देउवाको निर्देशनमा आरजुले चीन भ्रमणको संयोजन गर्ने बताइएको छ । तर, संयन्त्रको नेतृत्व भने उपसभापति खड्काले गर्दैछन् । 

संयन्त्र र ओली

राजनीतिक संयन्त्रमा खास विश्वास नगर्ने राजनीतिक नेता हुन, केपी ओली । तत्कालीन नेकपामा प्रचण्डले सरकार सञ्चालन गर्न राजनीतिक संयन्त्र निर्माण गर्ने भन्दै तयारी गरेपछि ओली विच्किएका थिए । 

राजनीतिक संयन्त्र बनाएर सरकारलाई नियन्त्रण गर्न खोजेको आरोप नै लगाएका थिए । यस्तो स्थिति बनेपछि नेकपामा विवाद नै भएको थियो । 

राजनीतिक संयन्त्र सरकारलाई निर्देशन दिने वा काममा हस्तक्षेप गर्ने गरि बन्ने ठान्ने गरेका ओलीले त्यसपछिका सरकारमा एमाले सहभागी हुँदा समेत राजनीतिक संयन्त्रको विरोध गर्ने गरेका थिए । 

उसोतः बाध्यता र सत्ता दाउपेच चर्किदा भने उनले संयन्त्रमा थोरै स्पेस दिने गरेको देखिन्छ । तर, अहिले देखिएको सत्ता संकट टार्न ओली राजनीतिक संयन्त्र बनाएर सरकारलाई नियमन गर्ने मामलामा तयार देखिएका छन् । 

अस्थित्व रक्षामा साना दल

उपेन्द्र यादव नेतृत्वको जसपा, अशोक राई नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत, महन्थ ठाकुर नेतृत्वको लोसपा र रञ्जिता चौधरी नेतृत्वको नाउपा केपी ओली नेतृत्वको सरकारमा सहभागी साना दलहरु हुन् । 

यीमध्ये उपेन्द्र यादवबाहेकका दलले मन्त्री नै पठाएका छन् । तर, ओली देउवाले राजनीतिक संयन्त्रमा साना ददललाई किन समेट्न चाहेनन ? यो रोचक विषय बनेको छ । 

दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री ओलीले एमाले कांग्रेसको मिलापमै बहुमत प्रष्ट हुने भएकाले पनि साना दलको किचकिच सुन्न नचाहेको बताइन्छ । 

उसोतः साना दलहरु पनि स्वार्थ बोकेर अनेक बार्गेनिङ गर्ने र मौका पाउँदा जता फाइदा उतै ढल्किने भएकाले पनि अहिले उनीहरु उपेक्षामा परेका हन् । तर, राजनीतिक संयन्त्र ८ सदस्यीय बन्दा नेतृत्व गर्न नपाएपनि उनीहरुको धारणा मात्रै सुन्न सदस्य समेत नदिने ओली–देउवाले चालेको राजनीतिक कदमबाट साना दलले के गर्लान ? यो चासोको विषय हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update