काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर प्रसारण लाइन बुधबार साँझ चार्ज गरेर सञ्चालनमा ल्याइएको हो ।
यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ ।
उक्त सबस्टेसनमा २२०\१३२ केभी, १६० एमभीएका दुईवटा गरी ३२० एमभीए र १३२\३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहेका छन् ।
आयोजनाअन्तर्गत त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो । त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । यसले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।
प्रशारण लाइनको अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ छ । आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू)को अनुदान छ । युरोपेली लगानी बैँक (इआइबी)को सहुलियतपूर्ण ऋण रहेको छ ।
प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जुनसुकै बेला केन्द्रीय प्रशारणमा जोड्न सकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । ३३ वटा टावर पहुँच सडक नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी सडक निर्माण समेत गरिएको छ ।
चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार सर्किट लाइन निर्माण गरिएको छ ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीसँग २०७४ कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।
विद्युत् चीन निर्यात गर्न सहज हुने
त्रिशूली–चिलिमे प्रसारण लाइनको निर्माण सम्पन्न भएसँगै नेपालले आफ्ना जलविद्युत् स्रोतहरूलाई भरपुर उपयोग गरी छिमेकी मुलुक चीनमा विद्युत् निर्यात गर्ने सम्भावना बढेको छ । नेपाल विद्युत उत्पादनमा प्रचुर सम्भावना भएको देश हो ।
सामान्य अनुसन्धानकै आधारमा पनि नेपालमा ८० हजार मेगावाटभन्दा बढि विद्युत उत्पादन गर्न सकिने अनुमान गरिएको छ । त्यसैले पनि यहाँ उत्पादित विद्युत अन्य देशमा निर्यात गर्न समेत यस्ता प्रशारण लाइनहरु निकै महत्वपूर्ण हुन्छन् ।
देशभित्रै पनि सबैतिर प्रशारण लाइनको अवस्था सन्तोषजनक छैन । यस्तो अवस्थामा चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आउनुलाई निकै सकरात्मकक मान्न सकिन्छ । त्यसमाथि त्रिशूली–चिलिमे प्रसारण लाइनले नेपालमा उत्पादिन विद्युतलाई तिब्बत हुँदै चीनसम्म पनि निर्यात गर्न सकिने सम्भावनाको नयाँ ढोका खोलिदिएको छ ।
यसका साथै त्रिशूली–चिलिमे प्रसारण लाइनको सञ्चालनले नेपाललाई ऊर्जा व्यापारको क्षेत्रमा स्थापित गराउँदै विदेशी मुद्रा आर्जनको महत्वपूाणर््ा आधारको रुपमा पनि काम गर्न सक्नेछ ।
विशेषगरी, चीनजस्तो विशाल बजारमा निर्यात गर्दा देशको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पर्नेछ छ भने भारतले नेपाली विद्युतमाथि गर्दै आएको सिण्डिकेटलई चिर्न समेत यस्ता प्रशारण लाइनहरु उपलव्धिमूलक हुन सक्छ भने देशभित्रै पनि विद्युत खपत बढाउन सके नेपाल ऊर्जामा आत्मनिर्भर बन्दै आयातित पेट्रोलियम पदार्थको निर्भरता घटाउँदै देशको व्यापार घाटा पनि कम गराउन सकिनेछ ।