News 24 Television
तराई पहाड सबैतिर छठको उल्लास, काठमाडौँ र वीरगञ्जमा विशेष चहलपहल

काठमाडौं ।  कुनै समय तराई मधेसका हिन्दु धर्मावलम्बीले मनाउने छठ पछिल्लो समय पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ । 

बिहिवार छठको प्रमुख दिन राजधानी काठमाडौँदेखि तराई मधेशमा उल्लासपूर्वक छठ मनाइरहँदा फरकफरक समुदाय, जात र क्षेत्रका नागरिकबीच सद्भाव बढेको छ । 

कार्तिक शुक्लचतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ मंलबारदेखि सुरु भएको थियो । छठको मुख्यदिन विहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर मनाइएको छ । 

देशका विभिन्न भागमा भव्यरूपमा मनाइएको छठका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको गुह्येश्वरी र कमलपोखरी पुगी पूजा आराधना गरेका छन् । 

काठमाडौँ उपत्यकामा यसवर्ष छठका लागि विभिन्न स्थानमा थानमा घाटको व्यवस्था मिलाइएको थियो । कोशी प्रदेशमा विराटनगरको सिंघीया, केशलिया खोलाका घाटसहित नहर, तलाउ र अन्य खोलाका किनारहरुमा छठ पूजाका ला िघूइँचो लाग्यो । उता, रुपन्देहीका नदी, तलाउ, पोखरीमा हजारौं श्रद्धालुले अस्ताउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिए । 

मकवानपुरको हेटौंडामा निर्माण गरिएको छठ घाटमा पनि दर्शनार्थीको उल्लेख्य भीड थियो । पहाडी र मधेशी समुदायले हेटौडामा एकसाथ छठ मनाउँदा कतिपय भने मधेशी महिलासँग व्रत विधि सिकिरहेका थिए । 

बीरगंजस्थित घडिअर्वापोखरी, रानीघाट, मुर्ली पोखरी, नगवा पोखरी, श्रीपुर पोखरी, एसएसपी अफिसको पोखरी, माईदिया पोखरी लगायत सबै तालतलैया र जलाशयलाई पूजाका लागि दुलही जस्तै सिगारिएको थियो ।

त्यस्तै  रौतहटमा पनि विशेषगरी पहाडी समुदायका मानिसहरु बसोबास गरेका ठाउँहरुको छठ घाटहरुमा पहाडी र मधेसी समुदायका मानिसहरु एकसाथ मिलेर छठ मनाएका छन् । छठी माइ प्रति अगाध आस्था र विश्वास रहेकाले आफुहरुले पनि निष्ठापूर्वक छठ मनाउन थालेको ब्रतालुहरु बताउँछन् । छठलाई लक्षित गर्दै स्थानीय प्रशासनहरुले शान्ति सुरक्षाको ब्यवस्थालाई समेत कडा बनाएका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update