News 24 Television
महत्वकांक्षी परियोजनामा धक्काः पोखरामा किन हुन सकेन अन्तराष्ट्रिय उडान ?

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्न सरकारले विमान कम्पनीलाई छुटका अनेक प्याकेज ल्याउको छ । तर अझै पोखराबाट नियमित अन्तराष्ट्रिय उडान अनिश्चित छ । 

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान गर्न तयार हुदाँ पोखरामा भने अन्तराष्ट्रिय उडानको छनक नै मिलेको छैन ।  

अन्तराष्ट्रिय उडान अवतरणको पर्खाईमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सको चार्टर उडानले खुशी थपिदिएको छ । यसअघि केहि चार्टर उडान भएपनि कुनै नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन् । 

उसोतः बिहीबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अहिलेसम्म नदेखेको विमान अवतरण गर्यो । चार्टर उडान भएपनि पोखरेलीले भने नियमित नै उडान भए जसरी यात्रुको भव्य स्वागत गरे । पोखरामा हुने क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँहरु चार्टर विमान लियर पोखरा आएका हुन् । 

सरकारले गौतमवुद्द र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि छुट्टै कार्यविधि बनाएर विमान कम्पनीलाई छुटका प्याकेज घोषणा गरेको छ । तर भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर एसियाले उडान नै शुरु गरेपनि जजिराले पुनः उडानको तयारी गरिरहेको छ भने फ्लाई दुबईले पनि उडान भर्ने भएको छ ।

नेपाल एयरलाइन्सले उडान तालिका नै सार्वजनिक गरिसकेको छ भने दुबईमा सीधा उडान गर्ने भएको छ । यता जजिरा र फ्लाई दुबईले २४ कात्तिकबाट उडान गर्ने जानकारी सूचना जारी गरिसकेका छन् । तर सगै निर्माण र उद्घाटन भएका पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भने उडान अवतरणको कुनै टुंगो छैन् ।

२ जेठ ०७९ मा गौतम बुद्ध र १७ पुस ०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका थिए । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान यस पहिले पनि भएको थियो । तर पछि स्थगित हुन पुग्यो । 

पोखरा विमानस्थलले भने एउटा पनि नियमित अन्तराट्रिय उडानको अवसर नै पाएको छैन । अरबौ रुपैया लगानी गरेर निर्माण गरिएको विमानस्थल सञ्चालनमा नआउदा पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायी र जनताको मन खल्लो बनेको छ ।  

२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर समानान्तर ट्याक्सी वे, एप्रोनलगायत विस्तारको काम गर्न लागेको क्यानले विन्टर सिजनदेखि ४० प्रतिशत उडान भैरहवा वा पोखरा सार्न वायुसेवा कम्पनीलाई आग्रह गरेको थियो । तर, वायुसेवा कम्पनीहरू पोखरा आउन तयार देखिएका छैनन् ।

सरकारले त्रिभुवन विमानस्थलमा कटौती हुने उडान भैरहवा र पोखराबाट गराउन विशेष सहुलियतसमेत उपलब्ध गराएको छ । तर, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरणको कुनै चाजोपाजो मिलिसकेको भने देखिन्न ।

सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयान आकर्षित गर्नका लागि बनाएको कार्ययोजनामा भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा दिइँदै आएको छुटलाई निरन्तरता दिने उल्लेख छ । 

हवाई इन्धनमा सहुलियत, यात्रु सेवा शुल्क र टिकटमा भ्याट छुट, अध्यागमन पूर्ण क्षमतामा सञ्चालन गर्ने, श्रम डेस्क स्थापना गर्ने, विभिन्न देशको भिसा सेन्टर स्थापना गर्नेलगायत पनि कार्ययोजनामा उल्लेख छ । तर, अन्तराष्ट्रिय उडानको सुनिश्चितता नहुदाँ यी सबै प्रयासले सार्थकता पाउन सकेका छैनन् । सन् २०२३ मा पोखराका लागि जम्मा सातवटा अन्तर्राष्ट्रिय चाटर उडान भएका थिए ।

झन्डै २२ अर्ब रुपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको दुइ वर्ष पुरा हुन लागेको छ । 

आन्तरीक उडानबाट हुने आम्दानी बढेको भएपनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा ऋण कसरी तिर्ने भन्ने प्रश्न जटिल बन्दै गएको छ  । यद्यपी, चिनियाँ ऋण अनुदानमा निर्माण भएको पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भन्दै चिनियाँ पक्षले गरिरहेको दाबी र यसमा भएको भूराजनीतिले कतै पोखरा अन्तराष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सिमित हुने त होइन भन्ने चिन्ता समेत बढाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update