काठमाडौं । स्थानीय तहको रिक्त पदहरुका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । जसका लागि दलहरु उम्मेदवार टुंगो लगाउने अन्तिम तयारीमा छन् । नेकपा एमाले र माओवादीले काठमाडौंका स्थानीय तहमा हुने उपनिर्वाचनमा लागि उम्मेदवार टुंगो लगाइसक्दा नेपाली काँग्रेसमा भने कस्लाई टिकट दिने भन्ने अन्योलता अझै देखिन्छ ।
त्यस्तै अन्य दलहरुले पनि उपनिर्वाचन हुने सबै स्थानीय तहको लागि उम्मेदावर टुंगो लगाइसकेका भने छैनन । यद्यपि मुख्य दलहरु आफ्नो पक्षमा माहोल बनाउने र निर्वाचनमा जित हासिल गर्ने उदेश्यका साथ अघि बढीरहेका छन् ।
मुख्यतः यो उपनिर्वाचनमा रिक्त ४४ पदका लागि निर्वाचन हुँदैछ । जसमा २ जिल्ला समन्वय समिति प्रमुख, २ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, एक नगरपालिका प्रमुख, एक उपप्रमुख र ३४ वडाअध्यक्ष पदका लागि निर्वाचन हुनेछ । यो निर्वाचन स्थानीय तहका लागि हुने भएपनि दलहरु केन्द्रीयस्तरमै निर्णय गरेर पार्टीलाई परिचालन गरि नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् ।
खासगरी मुख्य दलहरु नेपाली काँग्रेस नेकपा एमाले र माओवादी केन्द्र उपनिर्वाचन लक्षित गतिविधिहरु बढाइरहेका छन् । तर संसदको चौँथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा भने उपनिर्वाचनको चाम खासै देखिँदैन ।
रास्वपा सभापति रवि लामिछाने हिरासतमा रहेका कारण पनि उपनिर्वाचनको माहोल रास्वपामा नदेखिएको हो । यद्यपि रास्वपाले उपनिर्वाचनमा सहभागिता भने जनाउनेछ ।
उता संसदकै प्रमुख तीन ठूला दलहरु पनि एक्ला एक्लै निर्वाचनमा होमिने र नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमै देखिन्छन् । यस्तोमा सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमाले पनि एक्ला–एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र पनि एक्लै निर्वाचनमा होमिने मनस्थितिमा छ । यो उपनिर्वाचनमा माओवादीले आफू नेतृत्वको सरकार रहँदा भ्रष्टाचारविरुद्ध कदम चालेको विषयलाई पहिलो हतियार बनाउने पनि लगभग निश्चित छ ।
माओवादी केन्द्रले यसअघि नै उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्धको अभियानकै निरन्तरताको रुपमा लिएको जनाइसकेको छ । यसकारण पनि माओवादी काँग्रेस एमालेविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै उपनिर्वाचनको सामना गर्ने तयारीमा लागेको हो । तर यसको नतिजाबारे भने अहिले नै केही भन्न सकिने अवस्था छैन ।
गठबन्धनमा समस्या हुने त्रास
अहिले दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित गठबन्धन सरकार छ । जसको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । तर उपनिर्वाचनमा एक्ला–एक्लै लड्दा गठबन्धनमै समस्या त नहोला ? भन्ने त्रास पनि एमाले–काँग्रेसमा देखिन्छ ।
जसको निराकरणका लागि एमाले–काँग्रेसले सत्ता सहकार्यलाई सहज बनाउन संयन्त्र समेत बनाइरहेका छन् ।
अहिले सरकारको नेतृत्व ओलीले गरिरहेपनि महत्वपूर्ण निर्णय गर्दा देउवासँग परामर्श गर्ने गरेका छन् । त्यस्तै देउवाले पनि आफ्नै विश्वास पात्रहरुलाई सरकारमा पठाएपनि काँग्रेस संस्थापन इतर पक्षले खुलेरै सरकारको विरोध गरिरहेको छ ।
त्यस्तै काँग्रेस र एमाले दुई प्रतिस्पर्धी दलहरु पनि हुन् । जसका कारण पनि यी दुई दलहरुबीच धेरै मत भिन्नताहरु छन् । यो अवस्थामा उपनिर्वाचनसँगै गठबन्धनमै समस्याको विजारोपण होलाकी भन्ने चिन्ता ओली र देउवामा पनि देखिन्छ ।