News 24 Television
कोशी प्रदेशका मन्त्रीलाई गम्भिर आरोप, जापान भ्रमणमा जे भयो ! 

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले मानव तस्करीको आरोप लागेपछि पदबाट राजीनामा दिएका छन् । 

मन्त्रीको हैसियतमा अनाधिकृत ढंगले जापान उडेका मन्त्री अधिकारीले पारिवारिक भन्दै गरेको भ्रमण मानव तस्करीसँग मात्रै जोडिएको छैन, केहि व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ । 

मुख्यमन्त्रीलाई कुनै जानकारी नदिई जापान भ्रमण सकेर फर्किएका कोशी प्रदेशका मुख्यमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । 

जापान भ्रमण विवादित बनेपछि कमजोरी भएको ठानेर नैतिकताको आधारमा राजीनामा दिएको उनको दाबी छ । सामान्य त्रुटी भएको दाबी गरेका मन्त्री अधिकारीले राजीनामाको दबाब नआएपनि नैतिकता देखाएको जिकिर गरेका छन् । तर, उनीसँगै केहि अनाधिकृत व्यक्तिहरु जापान गएको भन्दै उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ । 

जापानको टोकियो महानगरपालिकाको निमन्त्रणामा जापान जान लागेको भएपनि सन्दिग्ध व्यक्तिहरु समेत सो कार्यक्रममा जान लागेको थाहा पाएपछि आफु फर्किएको उनले दाबी गरिरहेका छन् । अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । 

उनलाई पठाइएको निम्तोमा अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म कार्यक्रमको तालिका थियो । जसमा अधिकारीसँगै जापान जानेमा केहि युवाहरु समेत थिए । यसको चाँजोपाँजो मोरङका एक एमाले कार्यकर्ताले मिलाएको बताइएको छ । 

जापानमा हुने कार्यक्रममा मन्त्रीको हैसियतमा उडेका अधिकारीले हङकङ ट्रान्जिटमा तीन जना युवालाई भेटेको र उनीहरुले परिचय गर्दै नफर्किने जवाफ दिएको भनिएको छ । 

भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई र दावा शेर्पा तथा रसुवाका कञ्चन देवकोटाले उनलाई भेटेका थिए । 

नक्कली कागजातसहित विदेश सयर

यसरी मन्त्री अधिकारीसँग जापान जाने तीन युवाहरुको साथमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहायक स्तरको नक्कली परिचयपत्र रहेको बताइन्छ । ती युवाहरुलाई आफूले हङकंङमा भेटेको मन्त्री अधिकारीको अपत्यारिलो दाबी छ ।

नेपालबाटै संगै गएका युवाहरु प्रहरीको फन्दामा परेपनि एमालेबाट कोशी प्रदेशसभा सदस्यसहित मन्त्री रहेका उनी भने पत्रकार सम्मेलनको आयोजना गर्दै आफू दलालको फन्दामा परेको जिकिर गरिरहेका छन् । जापानको विमानस्थलले नक्कली कागजातसहित शंकास्पद देखेपछि उनीहरुलाई डिपोर्ट गरेको बताइन्छ । 

सुटुक्क जापान यात्रामा मन्त्री अधिकारी

प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारी समेत नदिई कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते फर्किएका थिए । जापान जाने बेला पारिवारिक भ्रमण भनेका अधिकारीले मौखिक जानकारी गराएको बताइन्छ तर सरकारमा एमाले नै रहेकाले उनको पक्षमा थोरै पक्षपोषण गर्नुपर्ने स्थिति रहेकाले पनि अधिकारीको भ्रमणको मौखिक जानकारीको विषय बन्न पुगेको छ ।

डिपोर्टमा परे मन्त्री अधिकारी

मन्त्री अधिकारी जापान जान भन्दै गएपनि उनलाई विमानस्थलबाटै डिपोट गरिएको दाबी गरिएको छ । नक्कली कागजातसहितका युवाहरुको दलबल बोकेर पुगेका उनलाई जापान अध्यागमनले डिपोट गरिदिएपछि उनले नेपाल फर्किएर ती युवाहरुलाई प्रहरीको जिम्मा लगाएको देखिन्छ । 

जापान जान भन्दै अवैध ढंगले हुत्तिएका अधिकारीलाई विमानस्थलले डिपोट गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ । तर, पत्रकार सम्मेलनको आयोजना गर्दै उनले युवाबारेको प्रश्नमा तर्किदै आफ्नोबारे सोध्न अपिल गरिदिए । 

यसरी मन्त्री अधिकारीले मानव तस्करी गरेको आरोप छताछुल्ल हुनुअधि उनलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिन निर्देशन दिएपछि पदबाट राजीनामा दिदै चोखो बन्ने प्रयास गरेका छन् । 

के छ विदेश भ्रमणको व्यवस्था ?

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर, उनले यस्तो कुनै झन्झट गरेनन् । 

सामान्य मौखिक जानकारी गराएर पारिवारिक भ्रमणमा जापान जान लागेको भन्दै त्यसतर्फ उडे । जापान उडेपछि उनीसँगै पुगेका युवाहरु तस्करी गर्न खोजेको आरोप लागेको छ । यद्यपी उनले यस्तो आरोपलाई अस्वीकार गरिरहेका छन् । 

मन्त्री अधिकारी मोरङको क्षेत्र नंवर २ ख बाट निर्वाचित भएका प्रदेश सांसद हुन् । अघिल्लो पटक पनि प्रदेशसभामा निर्वाचित भएका अधिकारीले सांसद रहेकै बेला सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न प्रहरी अधिकारीको पक्षमा अदालतमा पक्षपोषण गरेको विषय विवादित बनेको थियो । उतिबेलै यो विषयमा उनलाई एमालेले स्पष्टिकरण लिएको थियो । त्यतिबेला माफी मागेर उन्मुक्ति पाएका अधिकारीलाई यो पछिल्लो गल्ती भने भारी पर्न गएको छ । 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update