News 24 Television
रास्वपाको एकोहोरो हठले आफैलाई क्षति, पुरानै शैली अपनाउँदा नागरिक सशंकित !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै प्रदर्शन गरिरहेको छ । अदालतको आदेशबाट प्रहरीले अनुसन्धान गरिरहेको बेला सुशासन र भ्रष्टाचारको विरोध गर्दै जन्मिएको पार्टीले कस्तो थिति बसाल्ने प्रयास गर्दैछ ? रास्वपामाथि नै प्रश्न उठ्न थालेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासत पुगेपछि रन्थनिएको छ । नेताहरु विभाजित  भएका छन् । पार्टीमा दुई गुटहरु सक्रिय बनेका छन् । यसरी रविको पक्षमा कसले कति कुर्लिने भन्ने होड नै चलिरहेको छ ।

यस्तो स्थितिमा पोखरा अशान्त मात्रै बनेको छैन्, रास्वपाले गरिरहेको आन्दोलन र प्रदर्शनको उद्देश्यप्रति प्रश्नहरु मडारिन थालेका छन् । भ्रष्टाचार देख्नै नचाहने र सुशासनको पक्षमा दह्रो उभिने जिकिर गर्दै उदाएको रास्वपा अहिले बिखलन्दमा परेको छ । पार्टी सभापति लामिछाने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा पुगेपछि रास्वपा घाइते बन्न पुगेको छ । 

सभापति लामिछानेले आफ्नो पक्षमा नभई देशको पक्षमा सडकमा आउन आह्वान गर्छन् । तर, त्यसको पछाडीको कारण हो, आफ्नो पक्राउ । सरकारले प्रतिशोध साँधेको भाष्य निर्माणमा रविले हिरासत पुगेपछि समेत क्यामेरा फेस गर्न पाए । जिल्ला अदालतमा बयानका लागि लगिदै गर्दा रविले सरकार र प्रधानमन्त्री केपी ओलीमाथि चर्को आक्रोश पोखे । र्

सुशासनको पक्षमा लड्ने जिकिर गरिरहेको रास्वपा अदालतले दिएको अनुमति र प्रहरीले गरिरहेको अनुसन्धानलाई कसरी राजनीतिक प्रतिशोधको लेप लगाउन तल्लिन छ ? 

यो बडो रोचन विषय बन्न पुगेको छ । कास्कीमा रविलाई अदालत लगेर म्याद थप गर्ने क्रममा प्रतिनिधिसभा सदस्य समेत रहेकी रास्वपा नेतृ सोविता गौतमले चर्को स्वरमा गृहप्रशासन विरुद्ध मुर्दावादको नारा लगाइन् । 

सोविताले नारा मात्रै लगाइनन्, प्रदर्शनकारीहरुले सादा पोशाकमा खटिएका प्रहरीमा मुक्का समेत प्रहार गरे । प्रदर्शन उग्र बनिरहेपछि प्रहरीले बल प्रयोग गर्दै स्थिति सामान्य बनाउने कोसिस ग¥यो । तर, रास्वपाले देखाइरहेको शैलीले मतदाता भने विच्किन थालेका छन् । 

रास्वपा पुराना दलहरु र तिनको शैलीलाई घोर विरोध गर्दै उदाएको पार्टी हो । तर अहिले उसैले पुराना पार्टीकै शैली पछ्याउँदै राज्यले निषेधित क्षेत्र तोकेका स्थानहरुमा जबरजस्ती मात्रै गरिरहेको छैन, प्रहरीमाथि नै जाइलाग्न पनि थालेको छ । 

रविको नाममा रास्वपाको झमेला

सभापति सहकारी ठगी लगायतका आरोपमा प्रहरी अनुसन्धानमा रहेको बेला रास्वपाले लय बिराएको छ । 

सभापतिमाथि राजनीतिक प्रतिशोध साँधेको विषय स्थापित गर्न कांग्रेस–एमालेसहितका अन्य दलका सहकारी ठगीमा आरोपित नेताहरुको प्रमाणसहित सरकारलाई पक्राउ गर्न दबाब दिनुको साटो रविको रिहाईतर्फ सोझिदा रास्वपाले लय मात्रै विराएन, सुशासनको पक्षमा लगाएका नारा समेत फिक्का बन्न थाले । 

रवि लामिछाने पक्राउ पर्नु अघि नै झण्डै ६ सय जना सहकारी प्रकरणमै पक्राउ परिसकेका छन् । उनीहरुमाथि अनुसन्धान जारी छ, जुन अहिले रविमाथि पनि हुँदैछ । तर यही कुरामा रास्वपाले कोलाहल मच्चाउँदै विधिको शासनलाई चुनौति दिदै भीडबाट नतिजा यताउता पार्ने प्रयत्न गरिरहेको छ, जुन उसका लागि एकदमै नसुहाउने कुरा हो ।

सुशासनको पक्षमा लड्ने प्रण गर्ने जुनसुकै दलले अदालतले अनुमति दिइ अनुसन्धानका लागि गएको विषयमा आन्दोलन प्रदर्शन गर्नुको खास कारण नै हुँदैन् । दलमाथि जनताले प्रत्यक्ष अप्रत्यक्ष निगरानी गरिरहन्छन् । 

पछिल्लो समय जनतामा आएको चेतनाको वृद्धि र पब्लिक अडिटिङकै कारण रास्वपाले दल खोलेको छोटो समयमै अप्रत्यासित शक्ति आर्जन गरेको थियो । 

यो कुरालाई भूल्दै सभापतिको रिहाईको एकमात्र सर्त राखेर गरिएको रुवाबासीले अन्ततः रास्वपालाई नै हानी पु¥याउने हो । यी र यस्तै कारण तनहुँ र चितवनको उपचुनावमा देखिएको रास्वपाको क्रेज इलाम र बाजुरामा भएको उपचुनावमा नराम्ररी ओरालो लाग्यो । 

उसोतः बाजुराको प्रदेशसभामा रास्वपाले उम्मेदवार नउठाएपनि इलाममा कन्तबिजोग नै भयो । यसको कारण थियो, रवि लामिछाने गृहमन्त्रीको रुपमा जान मरिहत्ते गर्नु । 

ठगी जस्तो गम्भीर आरोप लागेको बेला गृह ताक्दा जनताले सांकेतिक रुपमा घण्टी बजाइदिएका थिए । तर, त्यो विषयलाई रास्वपाले खास अर्थमा लिन चाहेन । जनताले महशुष गर्नेगरि रवि लगायतका रास्वपाबाट मन्त्री बनेकाहरुले केही गर्न सकेनन् । 

त्यसैले पनि कमजोर धरालतलाई उजागर गर्दै गएको रास्वपाले रविको पक्राउपछि गरिरहेको आन्दोलनले थप क्षति पुग्ने स्थिति बन्दै गएको छ भने उसले सोचेजस्तो जनसमर्थन पनि जुटाउन सकिरहेको छैन ।  

रविको पक्राउ र गुट

रवि पक्राउ परेपछि रास्वपामा प्रष्ट गुटको प्रभाव देखिन थालेको छ । रास्वपामा उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेबीच कडा टक्कर चलिरहेको छ । डीपी पोखरा पुग्नेदेखि राजनीतिक सम्वादको क्रमलाई जोड दिएका छन भने स्वर्णिमले पाएको जिम्मेवारीमा समेत डीपी हस्तक्षेपकारी भूमिकामा छन् ।

यसरी रविको पक्राउपछि मौलाएको गुटको प्रभाव विस्तारै पार्टीमा पर्दैजाने देखिन्छ । स्वर्णिम पक्ष पनि रविबाहेकलाई नेता मान्न तयार छैन् । 

यता, डीपी पक्ष रविपछि स्वर्णिमलाई नेता मान्न तयार देखिन्न । विचार र संगठनले परिपक्व बन्न नपाउँदै यस्तो स्थिति बनेपछि अब रास्वपामा भाँडभैलो मच्चिने निश्चितप्राय छ ।

राजनीतिक शैलीको प्रश्न

रास्वपा सभापति रवि लामिछानेमाथि लागेका आरोप प्रमाणित भएको वा अदालतले दोषी करार गरिसकेको विषय होइन । प्रारम्भीक रुपमा अनुसन्धान चलिरहेको बेला रास्वपाले गरिरहेको आन्दोलन र प्रदर्शन गलत बाटोतर्फ मोडिएपछि यसको उद्देश्यमाथिका प्रश्न पेचिला बन्न थालेका छन् । 

राजनीतिक विकल्प भनिएको रास्वपाले अदालतले अनुमति दिएपछि चलिरहेको अनुसन्धानलाई राजनीतिक प्रतिशोधको भाष्य निर्माण गर्दै सामाजिक अराजकता फैलाउनुको सट्टा अनुसन्धानलाई सहयोग गर्दै निष्पक्ष अनुसन्धानको माग गर्नु हितकर हुने देखिन्छ । तर, अदालतको अनुमतिमा चलिरहेको अनुसन्धानलाई रास्वपाले गरिरहेको प्रश्न र प्रदर्शनले दण्डहीनताको विकासका साथै मुलुकलाई राजनीतिक अराजकतातर्फ लैजाने खतरा हुन्छ । 

यस्तोमा रास्वपाले आफ्नो राजनीतिक शैलीमाथि नै पुनर्विचार गर्दै भएका प्रदर्शन र आन्दोलनबाट रविको प्रतिष्ठा थप ड्यामेज हुनबाट जोगाउने उपाय खोज्न आवश्यक देखिएको विश्लेषण हुन थालेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update