सिन्धुली । बागमती प्रदेश सरकारले २ करोडभन्दा बढि रकम खर्च गरेर सिन्धुलीमा बनाएको शिद्धबाबा भ्यूटावर बनाएको छ । तर भ्यूटावर निर्माणपछि एकपटक पनि प्रयोगमै नआई जीर्ण बनेको छ ।
निर्माण सम्पन्न भएपछि कसरी प्रयोगमा ल्याउने भन्ने योजनाविनै बनेको भ्यूटावर अहिले दुव्र्यसनीहरुका लागि अनैतिक क्रियाकलाप गर्ने अखडा बनेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ च्याउकोटमा साढे २ करोड रुपैयाँ खर्चिएर शिद्धबाबा भ्यूटावर निर्माण गरिएको हो ।
भ्यूटावर निर्माण सम्पन्न भएको २ वर्ष भइसक्यो । तर जे उद्देश्यले भ्यूटावर निर्माण गरिएको थियो त्यही अनुसार प्रयोगमा आउन सकेको छैन । कतिसम्म भने भ्यूटावर एकपटक पनि प्रयोगमै नआई जीर्ण बन्दै गइरहेको छ ।
प्रयोगमा नआएका कारण भ्यूटावर सुनसान रहने भएका कारण यो भ्यूटावर लागु पदार्थका दुव्र्यसनीहरुको अखडा बनेको छ ।
गोप्य ठाउँमा खुला क्षेत्र भएका कारण भ्यूटावरमा अनैतिक क्रियाकला हुने गरेको स्थानीयको गुनासो छ । दैनिकजसो एक दर्जन बढी युवायुवतीहरु भ्यूटावरमा पुगिरहेका हुन्छन् । उनीहरु भित्र पसेर लागुऔषधको सेवन र अनैतिक कृयाकलापमा लिप्त हुने गरेको स्थानीयको भनाइ छ ।
शिद्धबाबा भ्यूटावर संरक्षणमा कुनै पनि निकायले चासो देखाएको छैन । भ्यूटावरको संरक्षण नहुँदा संरचनामा क्षति पुग्न गई कुरुप देखिदै गएको छ । भवनको सिसा सबै फुटिसकेको छ भने विद्युतीय सामाग्रीहरु समेत तोडफोड र चोरी भइसकेका छन् ।
भ्यूटावर भित्र भइरहेका यस्ता अनैतिक गतिविधिको बारेमा बारम्बार स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउँदा समेत वेवास्ता गर्ने गरेको स्थानियको आरोप छ ।
प्रहरीलाई सूचना दिदाँ समेत प्रहरीले चासो नदेखाएको स्थानीयको गुनासो छ । तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक गोबिन्दराज काफ्ले भने यस क्षेत्रमा प्रहरीले निरन्तर गस्ती गरिरहेको दाबी गर्छन् ।
बागमती प्रदेशको कुल २ करोड ४८ लाख ६२ हजार लगानीमा भ्यूटावर निर्माण भएको हो । भ्यूटावर निर्माणका लागि काठमाडौँको ड्रयागन कन्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो ।
दुई वर्ष अघि नै बनिसकेको भ्यूटावर ७ मिटर उचाई र पाँच तल्लाको रहेको छ । भ्यूटावर कहिले र कसरी संचालन हुन्छ भनेर सोधपुछ गर्दा जनप्रतिनिधि केही बताउन चाहदैनन् ।