News 24 Television
धमाधम उम्मेदवार छनोट गर्दै दलहरु

काठमाडौं । स्थानीय तहको रिक्त स्थानमा मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवारहरु टुंग्याउँदै लगेका छन् ।

पालिकाको प्रमुख उपप्रमुख तथा अध्यक्ष  उपाध्यक्षको पदमा विशेष केन्द्रित भएका ठूला दलहरुले रिक्त वडाअध्यक्षको उम्मेदवार पनि चयन थालेका छन् । उम्मेदवार मनोनयन दर्ताको समय नजिकिएकोले दलहरु उम्मेदवार छनोटमा कस्सिएका हुन् । 

आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त ४४ पदको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रिया थालेका छन् । मंसिर १६ मा २ जिल्ला समन्वय समिति प्रमुख, २ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, एक नगरपालिका प्रमुख, १ उपप्रमुख र ३४ वडाअध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । 

उपनिर्वाचन हुन लागेको रिक्त पदहरु  

    ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुख 

   कैलालीको जिल्ला समन्वय समिति प्रमुख 

   मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष 

   दैलेखको महावु गाउँपालिका अध्यक्ष 

   दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्ष 

   हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष 

   बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष 

  रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष

   काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख 

    जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख 

र, अन्य ३४ जना वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । 

माओवादी केन्द्रले बाग्मतीको सबै उम्मेदवार टुंगो लगायो 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, वडा नम्बर १ र ४ को वडाअध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको उम्मेदवार टुंग्याएको छ । 

माओवादीले कीर्तिपुर नगरपालिका प्रमुख पदमा प्रा.डा.शिवशंकर महर्जन, १ नम्बर वडामा अष्टमान महर्जन र ४ नम्बर वडामा नारायण विष्टलाई उम्मेदवार तय गरेको छ । काठमाडौं महानगरपालिका १६ को उम्मेदवार भने टुंगो लागेको छैन ।

यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा निमलेकी शेर्पा डोल्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ मा रविन प्रधान र नुवाकोटको ककनी गाउँपालिका २ मा मिलन घिमिरेलाई उम्मेदवार छनोट गरेको छ ।   

काठमाडौंमा एमालेले सबै उम्मेदवार टुंग्यायो

सत्तारुढ दल नेकपा एमालेले काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयरसहित काठमाडौंको चार वटै सिटमा उम्मेदवार टुंग्याएको छ । 

कीर्तिपुर नगरकमिटीको सिफारिस अनुसार, महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको जिल्ला समिति बैठकले उम्मेदवार सबै उम्मेदवार टुंग्याएका हो । एमालेले मेयरमा डा. सुरेन्द्र मानन्धरलाई अघि सारेको छ भने वडा नम्बर १ मा हर्ष महर्जन, वडा नम्बर बद्री बुढाथोकी र काठमाडौं महानगरपालिका १६ लक्ष्मीरत्न तुलाधरलाई वडाअध्यक्ष उम्मेदवार सिफारिस गरेको हो । 

यस्तै, एमालेले दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने रौतहटको राजपुर नगरपालिका वडा ६, ईशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष उम्मेदवार पनि टुंगो लगाएको छ । 

कांग्रेसलाई उम्मेदवार छनोट गर्न सकस 

सत्तारुढ दल नेपाली कांग्रेसलाई भने विभिन्न ठाउँको उम्मेदवार छनोट गर्न सकस भएको छ । आकांक्षी बढी भएपछि उम्मेदवार छनोट गर्न सकस परेको हो । निर्वाचित राजकुमार नकर्मीको निधन भएकाले उपनिर्वाचन हुन कीर्तिपुर नगरपालिकाको मेयर पदमा नगरकमिटीले कृष्णमान डंगोलसहित ११ जनाको नाम सिफारिस गरेको छ । 

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा कांग्रेस जिल्ला समितिले पासाडिकी तामाङको नाम केन्द्रमा सिफारिस गरेको छ । कांग्रेसबाट निर्वाचित श्याम सुन्दर तामाङको निधन भएपछि उनको पत्नी पासाडिकीलाई अघि सारिएको हो । 

मंसिर २ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएकाले राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न कस्सिएका हुन् । अघिल्लो पटक जितेको सिट सुरक्षित गर्नका लागि पनि दलहरुले भित्रभित्रै गठबन्धनको तयारी पनि गरिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update