काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपति निर्वचनमा पछि पर्दा कमला ह्यारिस ‘म्याडम प्रेसिडेन्ट’ बन्न सकिनन् । उग्रराष्ट्रवादको मुद्दाको नेतृत्व गरेका ट्रम्प ‘मिस्टर प्रेसिडेन्ट’ बन्दै चार वर्षपछि ‘ह्वाइट हाउस’मा पुनरागमनको औपचारिकतातर्फ छन् ।
पहिलो कार्यकाल विवादास्पद विताएका ट्रम्पले अब कस्तो आप्रवासन नीतिहरू लिन्छन् भन्ने विश्वव्यापी चासोमा छ । यता, कमला ह्यारिसको हार व्यावहारिक नीति निर्माण गर्न असफल भएकाले भएको विश्लेषण समेत पनि शुरु भएको छ ।
डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा निर्वाचित भएसँगै विश्वव्यापीरुपमा विभिन्न विश्लेषण एवम् टिप्पणी हुन थालेका छन् ।
औपचारिक रुपमै ह्वाइट हाउस प्रवेश गर्न लागेका ट्रम्पले अब आप्रवासीहरुप्रति अनुदार थप बढाउने आशंक व्याप्त भइरहेको छ ।
ट्रम्प अवैध आप्रवासनलाई रोक्ने, आप्रवासी संस्कृतिहरुलाई निरुत्साहित गर्ने र अर्थतन्त्रलाई उकास्ने तथा हिंसात्मक अपराधलाई कम गर्ने प्रतिबद्धताहरुका साथ अघि बढेका छन् ।
उनी राष्ट्रपति बनेसँगै आप्रवासीहरूले भोग्दै आएको लाञ्छना, हेपाहा थप खेप्नु पर्ने र अमेरिकामा थप घृणा, गाली गलौजको थप बहस हुने सम्भावना बलियो बनेको छ ।
‘अमेरिकालाई फेरी महान् बनाउने’ नारा दिएका उनले आप्रवासीहरुको भुमिका बिर्सन खोजेका छन् । ट्रम्प एक ब्यापारी भएकाले पनि अर्थतन्त्रको नशाबाटै विश्वमा राज गर्न सकिन्छ भन्ने धारणा राख्छन् । बहुसंख्यक अमेरिकीहरू अहिलेको प्रधान मुद्दाका रुपमा अर्थतन्त्रलाई लिन्छन् ।
कस्तो थियो ट्रम्पको पहिलो कार्यकाल ?
डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल अमेरिकी राजनीतिक इतिहासमा निकै विवादास्पद, परिवर्तनशील र ध्रुवीकरणकारी रह्यो । ट्रम्पको प्रशासनले मुख्यतया “अमेरिका फर्स्ट“ नीति अपनायो, जसले राष्ट्रियतावादी र संरक्षणवादी दृष्टिकोणलाई प्राथमिकता दियो ।
उनको कार्यकालमा अर्थतन्त्रमा केही सकारात्मक परिणामहरू देखिए । तर, ट्रम्पको व्यापार युद्धका कारण चीनसहितका अन्य देशहरूसँग तनावपूर्ण सम्बन्ध बनाए भने विश्वव्यापी व्यापार प्रभावित बन्यो ।
त्यस्तै उनको कार्यकालमा आप्रवासन नीतिहरू कठोर भए । दक्षिणी सीमामा पर्खाल निर्माण, विभिन्न मुस्लिम–बहुल देशहरूसँग यात्रा प्रतिबन्ध र बाल–बालिकालाई परिवारबाट अलग गर्ने नीतिले ट्रम्पप्रति मानव अधिकारवादीहरूको चर्को आलोचना निम्त्यायो ।
जलवायु परिवर्तनलाई लिएर उनले पेरिस सम्झौताबाट अमेरिका फिर्ता गराए, जसले पर्यावरणीय मुद्दामा उनको प्रतिबद्धताप्रति प्रश्न उठायो । ट्रम्पले मिडियालाई निरन्तर ‘फेक न्युज’ भन्दै आक्रमण गरे ।
त्यसैले उनको त्यो शैलीले प्रेस स्वतन्त्रता र सरकारमाथिको विश्वासमा असर प¥यो । कोभिड–१९ महामारीको व्यवस्थापनमा ट्रम्पले गरेको प्रतिक्रिया विवादास्पद रह्यो ।
उनको पहिलो कार्यकालमा उनका समर्थकहरूले उनलाई दृढ राष्ट्रवादी नेताको रूपमा हेरिरहे भने आलोचकहरूले उनको नीतिलाई विवादास्पद र विभाजनकारी ठाने ।
किन हारिन् कमला ह्यारिस ?
स्वास्थ्य सेवा, अदालतमा हुने नियुक्ति, गर्भपतन, जलवायु परिवर्तन र वर्ण एवम् जातीय आधारमा हुने विभेदको अन्त्यजस्ता मुद्दा कमला ह्यारिसले उठाउँदै आएकी थिइन् ।
उनको सबैभन्दा महत्वपूर्ण मुद्दा गर्भपतनको अधिकार सुनिश्चित गर्नु थियो । तर, अर्थतन्त्र र सामाजिक मुद्दाहरूजस्तै महँगी, बेरोजगारी, र आवास समस्या सुल्झाउनका लागि ठोस र व्यावहारिक नीति निर्माण गर्न असफल भएकाले ह्यारिसको हार भएको विश्लेषण शुरु भएको छ ।
उनीसँग राजनीतिक अनुभव थियो, तर उनको नीतिहरूले सर्वसाधारण जनताको आवश्यकतालाई सम्बोधन गर्न सकेन ।
त्यस्तै गरी, ह्यारिसमाथि परम्परागत र दलीय नीतिहरूसँग धेरै नजिक रहेको आरोप पनि लाग्यो, जसले गर्दा स्वतन्त्र र युवापुस्ताका मतदाताहरूलाई आकर्षित गर्न उनले संघर्ष गरिन् ।
प्रचार अभियानमा विभिन्न विवाद, विशेष गरी अफवाह र आलोचनाको शिकार बनेपछि उनका समर्थकहरूमा पनि असर प¥यो ।
केही विश्लेषकहरूले उनको राजनीतिक रणनीति अपरिपक्क र दृढतामा कमी भएको बताउँछन्, जसले उनको नेतृत्व क्षमताप्रति प्रश्नचिह्न लगायो ।
अमेरिकामा केही जटिल र दीर्घकालीन मुद्दाहरू नसमेटिएका कारण सामाजिक, आर्थिक, र राजनीतिक क्षेत्रमा चुनौती निम्त्याइरहेका छन् ।
उच्च स्वास्थ्य सेवा खर्च र पहुँचको समस्याका कारण धेरै अमेरिकीहरू सुलभ उपचारबाट बञ्चित हुनुका साथै आर्थिक असमानता पनि झन् गहिरो बनिरहेको छ । यस्तै, बन्दुक हिंसामा वृद्धि र यसको नियन्त्रणमा असफलताले जनताको सुरक्षा र सामाजिक स्थायित्वमा प्रभाव पारेको छ ।
अर्कोतर्फ, आप्रवासन नीतिहरू पनि विवादास्पद छन् । साथै, रंगभेद र सामाजिक न्यायका मुद्दाहरूले पनि गहिरो असर पारेका छन् ।
प्रहरीको बल प्रयोग, जातीय विभाजन, र प्रणालीगत रंगभेदको अन्त्य गर्ने सवालमा अझै उल्लेखनीय प्रगति हुन बाँकी छ ।