काठमाडौँ । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनको मतगणना बुधबार सकिएको छ ।
जितका लागि ल्याउनुपर्ने २७० इलेक्टोरल मत कटाएपछि ट्रम्प निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचित भएको औपचारिक घोषणा हुन भने केही दिन लाग्ने बताइएको छ ।
ट्रम्पले विस्कन्सनपछि अलास्का राज्यमा समेत जित हात पारेसँगै उनको पक्षमा २७९ इलेक्टोरल कलेज मत पुगेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसले हार स्वीकार गरिसकेकी छन्, जसको पक्षमा इलेक्टोरल कलेज मत अहिले २२३ पुगेको देखिएको छ । अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ ।
ट्रम्पको जित सुनिश्चित भएसँगै विश्वभरका नेताहरुले उनलाई बधाई दिने क्रम जारी छ । ७८ वर्षीय ट्रम्प अघिल्लो निर्वाचनको पराजयपछि यसपटक शानदार रुपमा ह्वाइट हाउस फर्कने भएका छन् । ट्रम्पले बुधबार समर्थकहरूलाइ सम्बाेधन गर्दै अमेरिकी जनताकाे शानदार जित भएकाे बताए । उनले अमेरिका अब स्वर्ण युगमा अघि बढेकाे दाबी गरेका छन् ।