नेपालमा बहिरा समुदायका व्यक्तिहरुले दैनिक जीवनमा विभिन्न चुनौतीहरूको सामना गर्दै आएका छन् । सामाजिक तथा पारिवारिक विभेद, अपहेलना, गुणस्तरीय शिक्षा अभाव, सञ्चारमा अवरोध, बेरोजगारी, कार्यदक्षताको अवमूल्यन र न्यून ज्यालाजस्ता समस्याहरूले उनीहरूको जीवनलाई अझ कठिन बनाएको छ ।
बहिरा व्यक्तिहरु समाजमा पछि पर्नु र अपहेलनाको सिकार हुनु दुःखद कुरा हो । अझ बहिरा सन्तानहरु बढीजसो त आफ्नै आमाबाबु र परिवारका सदस्यबाटै थप विभेदमा पर्ने गरेका छन् । यो कुरा पढ्दा दुःखद लाग्छ तर हाम्रो समाजको तीतो यथार्थ हो । यसका पछाडि विभिन्न जटिल कारणहरू छन्, जसलाई निम्न यहाँ सामान्य चर्चा गरिएको छ ।
किन हुन्छ बहिरा सन्तानमाथि विभेद ?
अज्ञानता र भ्रम : धेरै मानिसहरू बहिरोपनबारे पर्याप्त जानकारी राख्दैनन् । उनीहरू कान कम सुन्ने तथा बहिरा व्यक्तिलाई अपाङ्गता, दैवी श्राप, अभाग्य वा यस्नै कुनै कमजोरीको रूपमा लिन्छन् । यसले गर्दा उनीहरू बहिरा सन्तानलाई सामान्य बालबालिकाजस्तै व्यवहार गर्न सक्दैनन् र विभेदजन्य व्यवहार गर्न पुग्छन् ।
सामाजिक दबाब : समाजमा बहिरालाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक छैन । परिवारका सदस्यहरु समाजमा कुरा काटिने, आफ्नो छवि गिर्ने र समाजको नजरमा पर्ने डरले बहिरा सन्तानलाई लुकाउने वा विभेद गर्ने गर्छन् ।
सञ्चारको कठिनाइ : बहिरा सन्तानसँग प्रभावकारी रूपमा सञ्चार गर्न नजान्दा आमाबाबुले नै उनीहरुको मनोविज्ञान र हृदयको पीडा बुझ्न सक्दैनन् । परिवारका अन्य सदस्यहरूले पनि उनीहरूलाई बुझ्ने कोसिस गर्दैनन् । बहिरा व्यक्तिको मनोभावना, इच्छा, आकांक्षा, रुचि र क्षमताबारे अनविज्ञ रहन्छन् वा बेवास्ता गर्छन् । यसले गर्दा बहिरा व्यक्तिले परिवारबाटै माया नपाएको महसुस गर्छन् र पारिवारिक सम्बन्धमा दूरी बढ्न सक्छ ।
आर्थिक बोझ : बहिरा सन्तानको शिक्षा, स्वास्थ्य र अन्य आवश्यकता पूरा गर्न थप खर्च लाग्न सक्छ । केही परिवारहरू यो आर्थिक बोझ थेग्न नसकेर बहिरा सन्तानलाई बेवास्ता गर्ने गर्छन् । उनीहरुलाई उचित शिक्षादीक्षा, तालिम र प्रशिक्षण दिएर सक्षम बनाउनुको सट्टा बोझको रुपमा व्यवहार गर्छन् । सामान्य जीवन बाँच्नका लागि आवश्यक सहयोग प्रदान गर्दैनन् ।
यसरी गरिने पारिवारिक विभेदले बहिरा सन्तानमा असुरक्षा, एक्लोपन, रिस र निराशा बढ्ने गर्छ । यसले मनोवैज्ञानिक समस्याहरू निम्त्याउन सक्छ र तनाव तथा डिप्रेसन गराउन सक्छ । परिवारको सहयोग नपाएका कारण बहिरा सन्तानले राम्रो शिक्षा पाउनबाट वञ्चित हुन सक्छन् । फलस्वरुप उनीहरुको समग्र जिन्दगी थप अन्धकार बन्न पुग्छ । परिवार र समाजबाट अलग भएका कारण बहिरा सन्तानको सामाजिक विकासमा बाधा पुग्न सक्छ । उनीहरु समाजका अन्य व्यक्तिसामु पछि पर्ने र हीनभावनाले ग्रस्त हुने हुँदा व्यक्तित्व विकासमा बाधा पुग्दछ । र, निरन्तर विभेदले गर्दा बहिरा सन्तानमा आत्मविश्वासको कमी हुने गर्छ । उनीहरु आफूले गर्न सक्ने कामका लागि पनि अघि सर्न हिचकिचाउने र गुम्सिएर बस्न बाध्य हुने गर्छन् ।
समाजिक बहिष्करणकाे पीडा
बहिरा सन्तानलाई आफ्नै परिवारबाट विभेद हुनु दुःखद कुरा हो । यो कुरा सबैजसो आमाबाबु, परिवारका अन्य सदस्य र समाजका सबै मानिसले बुझ्नुपर्छ । बहिरालाई समाजको अविभाज्य अंगको रूपमा स्वीकार गर्न सकेमा मात्र समाज समृद्ध बन्न सक्छ । उनीहरुभित्रको प्रतिभा, कार्यक्षमता पहिचान गर्दै उचित शिक्षादीक्षा तथा रोजगारीका अवसरसम्म पहुँच दिएर काम गरीखाने बनाउनु सबैको दायित्व हो ।
बहिरा व्यक्तिहरूलाई समाजले अक्सर अस्वाभाविक वा कमजोर मान्ने गर्छ । यसले गर्दा उनीहरूलाई सामाजिक कार्यक्रम, समूह गतिविधि र अन्य सामाजिक अन्तरक्रियामा सहभागी हुनबाट वञ्चित गरिन्छ । समाजका अन्य सदस्यले गर्ने फरक व्यवहार र विभेदका कारण बहिरा व्यक्तिहरुलाई समाजबाट एक्लै बस्न बनाउने वा बहिष्करणमा पार्दछ ।
यस्ता पूर्वाग्रह र फरक हेराइको समग्र असर बहिरा व्यक्तिहरूले विवाह र पारिवारिक जीवनमा पनि पर्दछ । उनीहरुले समाजमा विवाह गर्न र खुसीपूर्ण पारिवारिक जीवन बिताउनका लागि थप चुनौतीहरूको सामना गर्दै आएको पाइन्छ । सामाजिक पूर्वाग्रह र परिवारको दबाबले गर्दा उनीहरूले उपयुक्त जीवनसाथी समेत पाउन गाह्रो हुने गर्छ ।
बहिरा व्यक्ति रोजगारीमा किन अपहेलित छन् ?
बहिरा व्यक्तिहरूलाई रोजगारीका अवसरहरू सीमित हुन्छन् । धेरैजसो रोजगारदाताहरूले उनीहरूको कार्यदक्षतामा शङ्का गर्ने गर्छन् र उनीहरूलाई रोजगारी दिन हिचकिचाउँछन् । यदि रोजगारी दिइहाले पनि ज्यालामा विभेद गरिन्छ । जति नै राम्रो काम गरे पनि बहिरा व्यक्तिहरूले सामान्यतया अरूभन्दा कम ज्याला पाउने गर्छन् । उनीहरुलाई पदोन्नतिको अवसर कमै मिल्छ । बहिरा व्यक्तिहरूलाई अक्सर शोषणको सिकार बनाइन्छ । उनीहरूलाई कम ज्यालामा काम गर्न बाध्य पारिन्छ र उनीहरूका अधिकारको रक्षा हुँदैन । उनीहरुले दिनभर श्रम गरेर परिवार पाल्नै मुश्किल हुने गरेको छ । न्यून ज्यालाका कारण बहिरा व्यक्तिहरू आर्थिक रूपमा असुरक्षित छन् र आधारभूत आवश्यकता पूरा गर्न पनि कठिन भइरहेको छ । रोजगारीमा विभेद हुनुका केही कारण यी हुन् :
भाषिक अवरोध : बहिरा व्यक्तिहरूको मुख्य समस्या भनेको भाषिक समस्या हो । उनीहरुको सञ्चारको माध्यम सांकेतिक भाषा हो । तर धेरै रोजगारदाताहरू सांकेतिक भाषा नबुझ्ने भएकाले सञ्चारमा समस्या हुन्छ । यसले गर्दा काममा दिइएका निर्देशन बुझ्न र सहकर्मीहरूसँग प्रभावकारी रूपमा अन्तरक्रिया गर्न बहिरा व्यक्तिहरुलाई गाह्रो हुन्छ ।
दोभाषेको अभाव : धेरैजसो कार्यालय, सार्वजनिक स्थान, कार्यस्थल आदि ठाउँमा बहिरा व्यक्तिहरूका लागि दोभाषेको व्यवस्था गरिएको हुँदैन । यसले गर्दा उनीहरूलाई जानकारी पाउन र आफ्ना कुरा राख्न कठिन हुन्छ । यसका साथै बहिरा व्यक्तिहरूलाई सहयोग पुग्ने प्रविधिहरू जस्तैः क्याप्सनिङ, सांकेतिक भाषा अनुवाद सफ्टवेयरको समेत अभावले समस्या बढेको छ ।
पूर्वाग्रह र रूढिवादी सोच : धेरै मानिसहरूमा अपाङ्गता भएका व्यक्तिहरू कमजोर, असक्षम वा अल्छी हुन्छन् भन्ने गलत धारणा हुन्छ । यसले गर्दा बहिरा व्यक्तिहरूको क्षमतामाथि शङ्का गरिन्छ । समाजमा बहिरा व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक छैन । उनीहरूलाई सामान्य व्यक्ति जस्तो अवसर र सम्मान दिइँदैन । उनीहरुको समस्या बुझेर अन्तरक्रिया र सर–सहयोग गर्नुको साटो गिल्ला गरिन्छ ।
रोजगारदाताको असंवेदनशीलता : धेरै रोजगारदाताहरूसँग बहिरा व्यक्तिहरूसँग कसरी काम गर्ने भन्ने बारेमा पर्याप्त ज्ञान र सीप हुँदैन । उनीहरुलाई आवश्यक तालिम दिएर फरक खालको वातावरण तयार गरेर समन्वय गर्ने काममा उनीहरुले चासो दिँदैनन् । केही रोजगारदाताहरू बहिरा व्यक्तिहरूसँग काम गर्न डराउँछन् वा असहज महसुस गर्छन् ।
नाफामुखी सोच : प्रायः नेपालजस्तो देशमा उद्योगी व्यवसायीहरुमा चरम नाफामुखी सोच रहेको हुन्छ । सामाजिक कल्याण्का क्षेत्रमा उनीहरुको चासो र लगानी हुँदैन । जसरी भए पनि धेरैभन्दा धेरै नाफा कमाउने तर कामदारहरुलाई न्युन ज्याला दिने प्रवृत्ति देखिन्छ ।
नीतिगत कमजोरी : अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी कानून बनेका भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । हरेक सार्वजनिक कार्यालयमा समावेशी कोटा प्रणालीको प्रभावकारी कार्यान्वयन गरिएको पाइँदैन । निजी क्षेत्रका उद्योग तथा सेवामूलक संस्थाहरुले पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि तोकिएको कोटा पूरा गर्दैनन् ।
कसरी समाधान गर्ने ?
सर्वप्रथम त कुनै पनि व्यक्तिको जीवन रोजेर वा खोजेर पाइँदैन भन्ने बुझ्नपर्छ । अपांगता हुनु, बहिरोपन हुनु बाध्यताको कुरा हो । तर यति हुँदैमा त्यस्ता व्यक्तिको भावना, चाहना, विचार, कार्यक्षमता र प्रतिभा मरेको हुँदैन । उचित अवसर पाएमा उनीहरुले पनि सबैखालका काम गर्न सक्छन् । यही बुझेर सकारात्मक सोचको विकास र सहयोगी भावना बनाउनुपर्छ ।
– घर, परिवार तथा समाजमा सचेतना फैलाउनुपर्छ । यसका लागि स्थानीय सरकार, राज्य तथा सम्बन्धित संघ–संस्थाले काम गर्नुपर्छ ।
– बहिरा बालबालिकालाई नियमित विद्यालयमा समावेश गरी उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ ।
– बहिरा व्यक्तिहरूसँग प्रभावकारी रूपमा सञ्चार गर्न सिक्नुपर्छ । घरका अन्य सदस्यले सांकेतिक भाषा सिक्ने, हाउभाउमा कुरा गर्न झर्को नमान्ने, नबुझेको खण्डमा लेखेर समेत बुझाउने गर्नुपर्छ ।
– सरकारले बहिरा व्यक्तिहरूलाई रोजगारीका अवसर सृजना गर्नुपर्छ । बेरोजगारलाई बहिरा व्यक्तिहरुलाई आर्थिक सहयोग प्रदान गर्नुपर्छ ।
– समाजका सबै पक्षले बहिरा व्यक्तिहरूलाई सहयोग गर्नुपर्छ र उनीहरूलाई समाजको मुलधारमा ल्याउन पहल गर्नुपर्छ । उनीहरुमाथि विभेदजन्य व्यवहार गर्नु हुँदैन ।
– अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । अपांगता भएका व्यक्तिहरूका लागि तोकिएको कोटा प्रणाली सबै क्षेत्रका रोजगारदाताले पालना गर्नुपर्छ ।
– बहिरा व्यक्तिहरूको अधिकारको रक्षा गर्नका लागि आवश्यक कानूनहरू बनाउनुपर्छ । कानुनी पैरवी गर्नुपर्छ ।
नेपालमा बहिरा समुदायले भोग्नुपरेका यी चुनौतीहरूलाई समाधान गर्नका लागि सबै पक्षबाट प्रयास हुन आवश्यक छ । सरकार, गैरसरकारी संस्थाहरू, निजी क्षेत्र र आम नागरिकहरू सबैले मिलेर बहिरा समुदायलाई समाजको मुलधारमा ल्याउन र उनीहरुमाथि हुने गरेको शोषण तथा विभेद अन्त्य गर्नका लागि काम गर्नुपर्छ । हामी सबैले सम्झनुपर्छ कि हामी सबै जन्मका आधारमा समान छौँ र समाजमा पनि समान अवसर प्राप्त हुनुपर्छ ।
अन्त्यमा म भन्दछु :
के मान्छे हजार वर्ष बाँच्न सक्छ ? समाजविना के कोही एक्लै बाँच्न र विश्वविजेता बन्न सक्छ ? तब समाजमा फरक व्यक्तिको अस्तित्व स्वीकार्न किन नसकेकाे ? आफैलाई मात्र माथि पारेर स्वार्थ, अहंकार, घमण्ड प्रदर्शन गर्नु त मुर्खता हो । सबै मानिस मरणशील छौँ । एकदिन यो धरतीमा आएपछि एक दिन खरानी बनेर जानैपर्छ । समाजमा विविधता छ, त्यसैले समाज सुन्दर छ । हामी बहिरा व्यक्तिहरु पनि यही समाजका सुन्दर फूल हौँ । हाम्रो सुगन्ध र सुवास चिन्न सक्नुहोस् । हामीले पनि सही अवसर, मार्गदर्शन र सहयोग पाएमा समाज र राष्ट्रका लागि सुन्दर योगदान दिन सक्छौँ । तसर्थ, मेरो अनुरोध छ– घर, परिवारदेखि लिएर समाजमा र कार्यस्थलमा गरिने सबै विभेद अन्त्य गरौँ । शोषण र अपहेलना बन्द गरौँ । सबैले सम्मानपूर्वक र समान वातावरणमा खुसीका साथ जीवन जिउने अधिकार छ । अधिकारको सम्मान गरौँ ।।
(पौडेल बहिरा व्यक्ति हुन्)