काठमाडौँ । अमेरिकाको राष्ट्रपति चुनावको मत गणना अन्तिमतिर पुग्दै गर्दा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित्ने सम्भावना बलियो बन्दै गएको छ ।
हालसम्म ट्रम्पले २४७ इलेक्ट्रोल भोट जितेका छन् । उनकी प्रतिस्पर्धी कमला ह्यारिसले भने २१४ इलेक्ट्रोल भोट जितेकी छन् । राष्ट्रपतिमा चयन हुनका लागि २७० इलेक्ट्रोल भोट जित्नुपर्छ । ट्रम्पले १९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा पिन आफूतिर पार्दै गएका छन् । पेन्सलभेनिया जितेमा ट्रम्पको इलेक्ट्रोरल भोट २६६ हुनेछ र उनी जितको अझै नजिक पुग्नेछन् ।
अमेरिकी राष्ट्रपति चुनावमा निर्णायक मानिने सात स्वीङ स्टेटमा पनि ट्रम्प नै अगाडि देखिएपछि उनका समर्थकहरुमा खुसियाली छाएको छ । अमेरिकाका विभिन्न भागमा ट्रम्पका समर्थकले खुसी मनाइरहेको देखिन्छ । सन् २०२० को भन्दा राम्रो नतिजा ल्याएपछि ट्रम्पका समर्थक खुसी देखिएका हुन् । यससँगै ट्रम्पले बुधबार नै समर्थकहरुका लागि सम्बोधन गर्ने तयारी गरेका छन् ।
उता कमला ह्यारिस हार्ने निश्चितप्रायः देखिएपछि उनले आफ्नो सम्बोधन कार्यक्रम नै रद्द गरेकी छन् ।