काठमाडौँ । चौबीसै घण्टा व्यस्त रहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल यही कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलमा ट्याक्सी–वे बनाउनका लागि रन–वे दैनिक १० घण्टा बन्द गर्न लागिएको हो ।
विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रन–वेसँग समानान्तर हुनेगरी ट्याक्सी–वे निर्माण कार्य गर्नुपरेकोले विमानस्थल दैनिक १० घण्टा बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यससँगै अन्तर्राष्ट्रिय एवं आन्तरिक उडान कटौती गर्ने बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता बढाउन दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना लाग्ने प्राधिकरणको भनाइ छ । यस आधारमा करिब ५ महिनासम्म विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने छैन । हिउँदमा उडानहरु कम हुने र मौसमले पनि साथ दिने भएकाले कार्तिकदेखि नै निर्माण कार्य सुरु गर्न लागेको प्राधिकरणले स्पष्ट पारेको छ । गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्रै उपयुक्त भएको प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताए ।
महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताउनु भयो । महानिर्देशक अधिकारीले सो कामको योजना करिव ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो । उहाँले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताउनु भयो । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ ।
महानिर्देशक अधिकारीले यसरी ५ महिनासम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिँदा चालु आर्थिक वर्षको अनुमानित आयमा करिव २ अर्ब नोक्सान व्यहोर्नुपर्ने देखिएको छ । तर पनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम गर्नुपरेको उनको दाबी छ । समानान्तर ट्याक्सी–वे निर्माण भएपछि अहिलेजस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने र विमानस्थलको कार्यक्षमता पनि २५ प्रतिशतले बढ्ने उनको भनाइ छ । यस क्रममा बाह्य तथा आन्तरिक उडान करिब ३० प्रतिशत कटौती हुने उनले बताए ।
सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि त्यसको टिकट दर सस्तो गराउने निर्णय गरिसकेको छ । त्रिभुवन विमानस्थलको मर्मत–सम्भार कार्य अघि बढ्दै गर्दा त्यसको विकल्प बनेको छ, भैरहवा विमानस्थल । हाल भैरहवामा थाई एयर एसियाको विमानले बैंकक–भैरहवा–बैंकक रुटमा हप्ताको २ दिन नियमित उडान सुरु गरिसकेको छ । यसका साथै कुवेतको जजिरा एयरले पनि कार्तिक २४ देखि कुवेत–भैरहवा–कुवेत उडान साताको तीन दिन गर्नेगरी अनुमति लिइसकेको छ ।
युएईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले पनि कात्तिक २५ गतेदेखि हप्ताको सातै दिन दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको छ । २०७९ जेठदेखि सञ्चालनमा आएको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो जजिरा एयरले २०८१ वैशाखसम्म उडान गरेर सेवा स्थगित गरेको थियो । सरकारले उक्त विमानस्थलमा नियमित उडानका लागि पहल गरेपछि अहिले तीन अन्तर्राष्ट्रिय एयरलाइनले अनुमति लिएका छन् । यससँगै पोखराको क्षेत्रीय विमानस्थल पनि अन्तर्राष्ट्रिय उडानको पर्खाइमा छ ।