News 24 Television
स्थानीय तहको उपचुनावको दौडमा राजनीतिक दलहरु  

काठमाडौं । स्थानीय तहको रिक्त पदहरुमा आगामी मंसिर १६ गते हुन लागेको उपचुनाव नजिकिएको छ । काठमाडौंको कीतिपुर नगरपालिकाको मेयरसहित रिक्तरहेको विभिन्न ४४ पदका लागि उपचुनाव हुन लागेको हो । 

मंसिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले राजनीति दलहरुले चुनावी दौड तीब्र पारेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित स्थानीय तहका ४४ रिक्त पदमा आगामी मंसिर १६ गते हुन लागेको उपचुनावका लागि राजनीतिक दलहरुको दौड तीब्र छ । 

एक नगरपालिका र दुई गाउँपालिका प्रमुखसहित जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपाालिका उपाध्यक्ष र पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र बाँकी वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । 
 
खासगरी नगरपालिकाको मेयर र उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उपचुनावमा राजनीतिक दलहरुले बढी ध्यान दिएका छन् ।

निर्वाचन कार्यक्रम तय गरिसकेपछि पनि निर्वाचन प्रयोजनका लागि अन्तिम नामावली प्रकाशन नगरेसम्म कुनै पद रिक्त भएमा सोही मितिमै उपनिर्वाचन गर्न सकिने भएकाले अहिलेसम्मको वितरणअनुसार ४४ पदका लागि उपनिर्वाचन हुँनेछ । 

उपचुनावका लागि दलहरुको तयारी

मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ दल दर्ता छन् । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले निर्वाचन तयारी तीब्र पारेका छन् । 

नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर तोकेको छ भने एमालेले उम्मेदवार तय गर्न प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म सबै पदमा उम्मेदवार टुंग्याउने जनाएको छ । 

उपचुनावमा रास्वपाको अलमल 

मंसिर १६ को उपचुनावमा भाग लिने यसअघि नै निर्णय गरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने अलमलमा रहेको छ । 

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेकाले उपचुनावको तयारीका लागि अलमल देखिएको हो । यद्यपि पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीको मुख्य जिम्मेवारी सम्हाल्दै आएका छन् ।

कार्यबाहक सभापतिको जिम्मेवारी भने अहिलेसम्म कसैलाई पनि दिइएको छैन । उपचुनाव नजिकिँदासमेत लामिछाने प्रहरी हिरासतमै रहेकाले रास्वपा सडक आन्दोलनमै छ ।  

कीर्तिपुरमा सबैको ध्यान 

नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएकाले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उपचुनाव हुन लागेको हो । जसपा नेपालसहित केही दलको साथ लिएर चुनाव जितेको कांग्रेसलाई कीर्तिपुर नगरपालिका प्रमुख पद सुरक्षित राख्न चुनौति छ । 

मेयर पदका लागि दर्जनौं आकांक्षी देखिएपछि ११ जनाको नाम कांग्रेस कीर्तिपुर नगर समितिले सिफारिस गरेको छ । कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरिएको छ । 

नेकपा एमालेले भने सुरेन्द्र मानन्धरलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार सिफारिस गरेको छ । एमालेको नगर कमिटीले जिल्लालाई, जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई सिफारिस गर्ने भएकाले उम्मेदवारको अन्तिम टुंगो लाग्न भने बाँकी छ । 

मानन्धर २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट उम्मेदवार बनेका थिए । 
यस्तै, नेकपा माओवादी केन्द्र कीर्तिपुर नगरकमिटीले पनि उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवार सिफारिस गरिएका महर्जन त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षा शास्त्र विभागका पूर्व प्रमुख तथा विश्वविद्यालय अनुदान आयोगको सदस्यको जिम्मेवारी सम्हालिसकेका ब्यक्ति हुन् । दशैंतिहार लगायत महत्वपूर्ण चाडबाडले अलमलमा परेका राजनीतिक दलहरुले तिहार सकिए लगत्तै चुनावी तयारी तीब्र पारेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update