News 24 Television
जान्नेलाई छान्ने पार्टीको पनि पुरानै पारा, रवि जोगाउन रोइकराई

कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यता अदालतलतमा बहस चलिरहँदा रास्वपाले गरेको आन्दोलन र निषेधाज्ञा तोड्ने प्रयासपछि केहि समय स्थिति तनावग्रस्त बनेको थियो । 

कार्तिक २ गते प्रहरी हिरासतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि ल्याउने क्रममा रास्वपाले गरेको आन्दोलन र निषेधाज्ञा तोड्न गरेको प्रयासले केहि समय पोखरा अशान्त बन्यो । 

सोही क्रममा सुरक्षाकर्मीहरूले रास्वपाका ११ जना कार्यकर्ताहरूलाई पक्राउ गरेर वडा प्रहरी कार्यालय मैदान लगेका थिए भने रास्वपाका कार्यकर्ताले सादा पोशाकका प्रहरीमाथि मुक्का बर्साएका थिए । 

प्रहरीले निषेधाज्ञा तोड्न खोज्ने रास्वपाका कार्यकर्तालाई रोक्न अश्रुग्यास प्रहार गरेको थियो भने केहि समर्थकले प्रहरीमाथि मुक्का प्रहार गरेका थिए । प्रहरीले ११ जना रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाममा लगेको थियो । 

यसभन्दा अघि रास्वपाको हरेक आन्दोलनमा केन्द्रीय नेताहरू प्रायः सबै उपस्थित भएकोमा यो पटक भने सांसद सोबिता गौतम मात्रै पोखराको आन्दोलनमा उपस्थित थिइन् । तर विरोध प्रदर्शनको अन्त्यतिर रास्वपाका उपसभापति डिपी अर्याल पनि सहभागी भएका थिए । आन्दोलनको हरेक नारा ’सहकारी पीडितलाई न्याय दे’ भन्दै सांसद सोबिता गौतमले गृह मन्त्रालयविरुद्ध चर्को नाराबाजी गरेकी थिइन् । 

रास्वपाले गरिरहेको प्रदर्शन र पोखरा अशान्त बन्न खोजेपनि पीडितहरु पनि न्यायको माग गरिरहेका छन् । रवि लामिछानेको म्याद थप हुने भएदेखि सूर्यदर्शन सहकारीका पीडितहरू कास्की जिल्ला अदालत बाहिर निरन्तर खबरदारीका लागि उपस्थित भएका थिए । 

रास्वपाका कार्यकर्ताहरूले सहकारी पीडितको विपक्षमा आन्दोलन गरेको र कानुनी प्रक्रियालाई अवरुद्ध गर्न खोजिएको भन्दै आफूहरू निरन्तर खबरदारीमा रहेको सूर्यदर्शन सहकारी पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठ बताउँछन् । 

रास्वपाले गरिरहेको प्रदर्शन र पोखरा अशान्त बन्न खोजेपनि पीडितहरु पनि न्यायको माग गरिरहेका छन् । यस्तै रूपन्देही प्रहरीले रुपन्देही पठाउन आग्रह गरेपनि कास्कीकै अनुसन्धान नसकिएको भन्दै कास्की प्रहरीले लामिछानेलाई अहिलेसम्म रूपन्देही पठाएको छैन ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update