काठमाडौं । नेपालमा क्रिकेटप्रतिको क्रेज दिनदिनै बढिरहेको छ, र यसलाई अझै व्यापक बनाउने मुख्य कारण नेपाल प्रिमियर लिग (एनपीएल) पनि बनिरहेको छ ।
नेपालीको क्रिकेटप्रतिको आकर्षण र समर्थनले क्रिकेटलाई उत्सव बनाएको छ । आगामी १५ मङ्सिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को तयारी धमाधम चलिरहेको छ ।
प्रतियोगितामा सहभागी हुने आठवटै फ्रेन्चाइज आफ्नो टिम बलियो बनाउन विदेशी खेलाडीलाई भित्र्याइरहेका छन् । एनपीएलका फ्रेन्चाइज ८ टोलीले अहिलेसम्म समग्रमा २४ खेलाडी अनुबन्ध गरेका छन ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा यस वर्ष विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई नयाँ उचाइमा पुर्याएको छ । फ्रेन्चाइज टोलीहरूले विभिन्न मुलुकका चर्चित खेलाडीहरूलाई अनुबन्ध गर्दै लिगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले अगाडि बढेका छन् ।
विदेशी खेलाडीहरूको आगमनले नेपाली खेलाडीहरूलाई अनुभव साटासाट गर्न र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट शैली नजिकबाट सिक्ने मौका दिएको छ भने नेपाली टिमको प्रदर्शनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
क्रिकेटप्रेमीहरूको ठूलो ध्यान आकर्षित गर्दै, एनपीएलमा भारत, पाकिस्तान, श्रीलंका, र वेस्टइन्डिज लगायतका मुलुकका अनुभवी खेलाडीहरूले सहभागीता जनाइरहेका छन् ।
विदेशी खेलाडीहरूको उपस्थितिले खेलको प्रतिस्पर्धात्मकता मात्र होइन, दर्शकहरूमा पनि रोमाञ्चकता बढाएको छ । यी खेलाडीहरूको अनुभवी खेल र शैलीले नेपाली खेलाडीहरूलाई मात्र होइन, नेपाली दर्शकहरूलाई पनि विश्व क्रिकेटको झल्को दिएको छ ।
एनपीएलका फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडीहरूलाई टोलीमा समावेश गर्दा रणनीतिक रूपमा बलियो योजना तयार गरेका छन् ।
विदेशी खेलाडीहरूको अनुभवले टिमलाई सन्तुलन प्रदान गर्दै नयाँ रणनीति र खेलकौशलको प्रयोगमा सहयोग पुर्याउनेछ । प्रशिक्षकहरूले पनि विदेशी खेलाडीहरूसँगको सहकार्यले नेपाली खेलाडीहरूलाई मानसिक रूपले बलियो बनाउँदै खेलको स्तरमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छन् ।
विदेशी खेलाडीहरूको प्रदर्शनले नेपाली मैदानमा विश्व स्तरको क्रिकेटको अनुभव दिलाउने भएकाले पनि दर्शकहरूको उत्साह विदेशी खेलाडीहरूप्रति उच्च छ । एनपीएलको यो सत्र नेपाली क्रिकेटको इतिहासमा एउटा महत्वपूर्ण मोड बन्ने अपेक्षा दर्शक र खेलाडीहरूको छ ।
यसकासाथै एनपीएलले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पनि पार्ने देखिन्छ । जसले खेलकुद पर्यटनमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ । विदेशी खेलाडी र समर्थकहरूको आगमनले नेपालमा क्रिकेटको लोकप्रियता मात्र बढाएको छैन, तर यो लिगले देशको सांस्कृतिक र खेलकुद पर्यटनमा नयाँ आयाम थपेको छ ।
एनपीएलले नेपाली क्रिकेटलाई दीर्घकालीन विकास, आर्थिक प्रगति, र खेलप्रतिको जनचासोको दृष्टिले नयाँ उचाइमा पुर्याइरहेको छ ।