News 24 Television
छठको रौनक देशैभरी, तालतलैया र नदि किनार दुलहीझै टलक्क 

काठमाडौं । तराई तथा मधेश क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्व मंगलवारदेखि सुरु भइसकेको छ । छठको रौनक चढ्दै जाँदा यसको मुख्य दिनको पूजा विधिका लागि राजधानी काठमाडौंदेखि तराई मधेशका जिल्लाहरूमा तीव्र तयारी चलिरहेको छ । 

पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यकासहित  पहाडी क्षेत्रहरूमा समेत छठ पर्व उल्लासका साथ मनाउन थालिएको छ । त्यसैले छठी माताको पूजाका लागि गौरीघाटलगायत उपत्यकाका विभिन्न स्थानहरुमा सरसफाइ एवम् सजावट जोडतोडका साथ हुँदैछ भने तराई मधेशका नदी किनार र तालतलैया झकिझकाउ बनाइदैछन् ।  

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावट सहित तयारीका काम शुरु भएको छ । काठमाडौँका विभिन्न स्थानहरूमा छठ पर्वका लागि विशेष झाँकी र सजावट भइरहेको छ । स्थानीय टोल र समितिहरूले नदी किनारमा पूजा स्थलको व्यवस्था गर्नका लागि सक्रियता देखाएका छन् । 

काठमाडौंको गौरीघाटमा छठ पर्वका लागि पाल, बत्ती जडान गरिएको छ । गौरीघाट छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहोर सफा गर्ने, मण्डप बनाउनका लागि बाँस गाड्ने, घाट सजावट लगायत काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । छठ पूजाको सम्पूर्ण तयारी बुधवारसम्म सकिने समितिको भनाई छ । 

गौरिघाटदेखि गुह्येश्वरीसम्म ५ सय ३० घाट निर्माण गरिएको छ । त्यसमध्ये २० वटा घाट निःशुल्क हुनेछन् भने बाँकी सबै घाट व्रतालुले लिइसकेका छन् । सूर्यको पूजा अर्चना गर्दै मनाइने छठ कुनै समय तराईमा मात्रै सिमित थियो । तर अहिले यो पर्व पहाडी भूभागमा बस्नेहरुको पनि विशेष पर्व बनिसकेको छ । 

काठमाडौकै कमलपोखरीमा पनि टेन्ट राख्ने काम सकिएको छ । कमलपोखरीमा हरेक वर्ष जस्तै यसवर्ष पनि निःशुल्क घाट व्यवस्थापन गरिएको छ । कमलपोखरीमा २ सय ६० वटा बस्ने टेन्टहरु निर्माण गरिएकोमा करिब ४ सय जनाले बुक गरिसकेका छन् । कमलपोखरीमा साढे तीन सयको संख्यामा घाट राख्न सकिने कमलपोखरी छठ पूजा समाजले जनाएको छ । 

उता, तराई मधेशका जिल्लाहरुमा पनि छठको रौनक र उल्लास उत्कर्षमा पुगिसकेको छ । अहिले  पौराणिक महत्व बोकेका वीरगंजका घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी सहित श्रीपुर, रानीघाट लगायतका स्थानमा रहेको पोखरीहरुलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाई तथा सजाउने काम गरिरहेका छन् ।

छठ पर्वलाई मध्यनजर गर्दै घडिअर्वा पोखरी स्थलभित्रदेखि बाहिर भीडभाड हुने करिब २० ठाउँमा सिसि क्यामेरा जडान गरिएका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका २ सय जना भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिने भएको छ । 

चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । 

शुद्ध, सात्विक र पवित्र भई गरिने सूर्य पूजाको उपासना छठको व्रत गर्नाले आफ्ना मनोकामना पूरा हुने र सुख–शान्ति आउने धार्मिक विश्वास रहेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update