News 24 Television
छठमय बन्दै सर्लाही, सजिए खोला, नदी र पोखरी

सर्लाही । मिथिलाञ्चल लगायत तराई÷मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी शुरु भएको छ । यतिखेर सर्लाहीको ग्रामीण क्षेत्र लगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ । 

आस्था एवं निष्ठापूर्वक मनाइने छठ पर्वका लागि सर्लाहीका पोखरीहरुलाई सजाउने काम अन्तिम चरणमा पुगेको छ भने पोखरी नभएको ठाउँमा नदी, कुवा लगायतको पानीको स्रोत भएको स्थानलाई सफा गरी सजाइरहेका छन । 

अन्न कुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै तराईए मधेशमा पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको तयारी शुरु हुन्छ ।

छठ पर्वको लागि अहिले सर्लाहीका पोखरीहरूलाई सजाउने कार्य भइरहेको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ । आदिदेव सूर्य भगवानलाई अर्घ्य दिने नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले श्रृंगारिँदै छ । 

सर्लाहीमा छठ पर्वको तयारी व्यापक रूपमा भइरहेको छ । सर्लाही जिल्ला भरि ४७३ पोखरी, खोलानाला र अन्य जलाशय किनारमा छठ घाट निर्माण भइरहेको सर्लाही प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाहरूका अनुसार सर्लाही जिल्लाका २० वटै पालिकामा जलाशयका किनार सफाइ गरी बाँसका खट गाडी बत्ती जडानका साथ छठ घाट बनाउने काम भइरहेको छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ  । 

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा, भुसुवा, फलफुल र मिठाई जस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन्े परम्परा छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update